Follow us:


Follow us

२ वैशाख २०८३, बुधवार
२ वैशाख २०८३, बुधवार


केएमसीमा ६० वर्ष कटेका जेष्ठ नागरिकको उपचार गर्न छुट्टै विशेषज्ञ सेवा

एक्सन खबर
जेठ, ८, २०७९


केएमसीमा ६० वर्ष कटेका जेष्ठ नागरिकको उपचार गर्न छुट्टै विशेषज्ञ सेवा

काठमाडौं । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले जेष्ठ नागरिकहरूमा देखापर्ने विभिन्न प्रकारका रोगहरूको सहज उपचार गर्न विशेषज्ञ चिकित्सकको व्यवस्थापन सहित जेष्ठ नागरिक उपचार सेवा सुरु गरेको छ । केएमसीले विशेषज्ञसहितको सेवा सुचारु गरेसँगै जेष्ठ नागरिकहरूलाई सहज हुने भएको छ ।

जेष्ठ नागरिकको स्वास्थ्यप्रति संवेदनशील हुँदै निजी स्तरमा केएमसीमा जेष्ठ नागरिक उपचार सेवा सुरु गरिएको हो । भारतको नयाँदिल्ली स्थित एम्स बाट जेरियाट्रिक मेडिसिन (जेष्ठ नागरिक) मा एमडी गरेका डा. अनन्त अर्यालको नेतृत्वमा केएमसीले सेवा सञ्चालन गरेको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबिबिएस गरेका डा. अर्याल यसअघि एकवर्ष नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा जेष्ठ नागरिक रोग विशेषज्ञको रुपमा कार्यरत थिए ।

डा. अर्यालले केएमसीमा आएका ६० वर्ष भन्दा माथिका बिरामीलाई सेवा दिने केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । ‘विश्वका धेरै देशहरूका अस्पतालहरूमा जेष्ठ नागरिकका लागि छुट्टै विशेषज्ञ सेवाको व्यवस्था गरिएको हुन्छ । नेपालमा निजी क्षेत्रबाट पहिलो पटक हामीले जेष्ठ नागरिकहरूको उपचारका लागि विशेषज्ञ सेवा सञ्चालन गरेका हौं ।’ जेनेरल मेनेजर दाहालले भने ।

डा. अर्यालले अल्जाइमर्स/डिमेन्सिया, पार्किन्सन्स, होसमा गडबडीका, मधुमेह, उच्च रक्तचाप, डिप्रेसन, दम जस्ता वृद्धावस्थामा लाग्ने रोगहरूका बारेमा गम्भिर हुन जरुरी रहेको बताए । यी रोगहरू उमेर बढ्दै गएपछि लाग्ने भएकाले सामान्य स्वास्थ्य समस्या हुने बित्तिकै विशेषज्ञ कहाँ जानुपर्ने सुझाव उनको छ ।

‘जसरी हामी बालबालिकाहरूको स्वास्थ्यमा समस्या आउने बित्तिकै अस्पताल लैजान्छौवृद्धावस्थाका नागरिकको स्वास्थ्यमा पनि सचेत हुनुपर्छ ।’ उमेर बढेसँगै शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधी क्षमता कमजोर हुँदै जाने भएकाले वृद्धावस्थाका नागरिकको स्वास्थ्य सुरक्षामा गम्भिर हुनुपर्ने डा. अर्यालको भनाई छ ।

पछिल्लो समय शहरी व्यस्त जीवनमा जेष्ठ नागरिकको स्वास्थ्यमा परिवारबाट उल्लेख्य ध्यान दिन नसकेको पाइएको डा. अर्यालको अनुभव छ । खासगरी जेष्ठ नागरिकलाई सामान्य समस्याहरू देखिएपनि ‘बुढ्यौलीले छोयो’ भनेर वास्ता नगर्ने क्रम बढेको छ । तर, कुनैपनि समस्यालाई बेलैमा समाधान गरे त्यसले भविष्यमा जटिल रोग लाग्न रोक्ने डा. अर्यालको भनाई छ । ‘बुढेसकालमा चक्कर लाग्ने, लड्ने समस्याले कमजोर हड्डी भाँच्चिने समस्या हुन सक्छ र त्यसले थला परेर लामो समयसम्म ओछ्यानमा पर्दा वेड सोर (घाउ) हुँदा सर्किएर हुने निमोनिया, रगत जम्नेजस्ता जटिल समस्या उत्पन्न हुन सक्छ । त्यसकारण यस्ता जटिल समस्याहरू आउन नदिन बुढ्यौलीले छोएसँगै विशेषज्ञ चिकित्सकलाई समयसमयमा स्वास्थ्य जाँच गराउनु पर्छ ।’ डा. अर्याल भन्छन् ।

नेपालमा जेरियाट्रिसियन अर्थात (जेष्ठ नागरिक स्वास्थ्य विशेषज्ञ) चिकित्सकहरुको धेरै कमी रहेको छ । हालसम्म केएमसी, विपी प्रतिष्ठान धरान, वीर अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी ४ जना मात्रै जेरियाट्रिसियन रहेका छन् । केएमसीले तत्कालका लागि यो सेवा ओपीडीमा सुरु गरेको छ । केही समयभित्रै छुट्टै वार्ड बनाएर सञ्चालन गर्ने बताएको छ ।

जेष्ठ नागरिकको स्वास्थ्य संवेदनशीलता प्रति राज्यको दृष्टिकोण फराकिलो हुनु अपरिहार्य देखिएको छ । सरकारले जेष्ठ नागरिककै लागिभने छुट्टै अस्पताल निर्माण गर्न नसकेतापनि अहिलेका अस्पतालहरूमा पनि जेष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन गर्ने योजना बनाएर जान सक्छ ।

बिराटनगरको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माको प्रवेश गरेसँगै केएमसीको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आएको छ । केएमसीका कार्यकारी अध्यक्ष समेत रहेका डा. शर्माले नेपालमै सर्वसुलभ शुल्कमा अन्तराष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्न लागि परेको बताउँदै निकट भविष्यमै सुपरस्पेशियालिटी सेवाहरु थप गरिने बताएका छन् ।


 














0 प्रतिकृया