Follow us:


Follow us

१६ वैशाख २०८३, बुधवार
१६ वैशाख २०८३, बुधवार


स्थानीय सरकार छ भन्ने प्रत्याभूत हुने गरी काम गर्छुः मेयर राई

एक्सन खबर


स्थानीय सरकार छ भन्ने प्रत्याभूत हुने गरी काम गर्छुः मेयर राई

धरान, १० जेठ । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राईले जनतालाई सुशासनकाे प्रत्याभूति हुने गरी काम गर्ने बताएका छन् । उपमहानगरपालिकाकाे पदभार ग्रहण कार्यक्रम पछि बाेल्दै राईले जनतासँग कर मात्र असुल्ने नभै स्थानीय सरकार भएको प्रत्याभूति पनि गराउने बताएका हुन् ।

विगतमा स्थानीय सरकार छ भन्ने जनताले प्रत्याभूत गर्न नसकेपनि अब स्थानीय सरकार छ भनेर जनतालाई थाहा हुने गरि काम गर्ने बताए । ‘स्थानीय सरकार भएपनि कर मात्र उठाउछ भन्ने महशुस  नगराई सामाजिकरुपमा सुरक्षित छौं, शान्ति सुरक्षाको प्रत्याभूति भएको छ, सुशासनको प्रत्याभूति भएको छ भन्ने महशुस गराउने गरी काम गर्नेछु’ उनले भने ।  

विगतमा आफु प्रश्न गर्ने ठाउँमा रहेपनि अब उत्तरदिने ठाउँमा आएकाेले  आफ्नो जिम्मेवारी बढेको जनाउँदै उनले जनताको विश्वास पुरा गर्ने गरि काम गर्ने जिकीर गरे । उपमहागरपालिका तथा नगरमा अनेक चुनौतीहरु रहेकाे बताउँदै राईले धरानका राजनीतिक दल, संघसंस्था, नागरिक समाजसँग सहकार्य गरेर धरानलाई सुशासित र विकसित बनाउन काम गर्ने बताए । ‘सबैको सहकार्य र सहभमागिता विना हामीले मात्र नगरपालिका अघि बढाउन सक्दैनौ, म सबैसँग सहकार्य र हातेमालाे गर्दै अगाडी बढ्नेछु ।’  राईले भने ।

नगरपालिकालाई पारदर्शी बनाउन सुचना नपाउने, थुनिनुपर्ने स्थितिको अन्त्य गर्ने पनि मेयर राईको भनाई थियो । धरान उपमहानगरपालिकामा सबैकाे सूचनाकाे पहुँच पुर्याउने, जनप्रतिनिधि र कर्मचारीलाई जवाफदेही बनाउने, भ्रष्ट्राचार समाप्त पार्ने काम गर्ने बताए ।

धरानकाे खानेपानी समस्या हल गर्ने आफ्नाे प्रमुख उद्देश्य रहेकाे बताउँदै उनले खानेपानीको लागि व्यवस्थापन र उत्पादन बढाउन स्रोत थप गर्न ध्यान दिने बताए । खानेपानी आयोजना किन असफल भयो भनेर खोजी गर्ने, आयाेजनामा भएकाे अनियमितता छानविन गर्ने उनकाे प्रतिबद्धता छ ।

यस्तै धरानकाे वीपी प्रतिष्ठानको बेथिती अन्त्यको लागि पहिला सेवालाई चुस्त दुरुस्त बनाउन पहल गर्नेपनि मेयर राईले बताए । प्रतिष्ठान अघिल्तिर जारी सेभ घोपा क्याम्प आन्दोलनलाई तत्काल सम्बोधन गर्न प्रतिष्ठानका उपकुलपतिलाई पत्राचार गर्ने पनि बताए ।

पहिलाे निर्णयः कर सम्बन्धी कार्यदल गठन

मेयर राईले पदभार ग्रहण गरेसँगै वैज्ञानिक कर लागु गर्न अध्ययन गरि सुझाव पेश गर्न एक कार्यदल गठन गर्ने निर्णयमा पहिलो हस्ताक्षर समेत  गरेका छन् ।

कार्यदलको संयोजकमा उपमेयर अइन्द्रबिक्रम बेघालाई जिम्मेवारी दिइएको छ भने सदस्य सचिवमा राजश्व महाशाखा प्रमुख छन् । यस्तै, सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित एक जना अर्थशास्त्री र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष वा उनले तोकेको व्यक्ति सदस्य रहनेछन् ।

उक्त कार्यदलले धरानको कर वैज्ञानिक भए नभएको, आयस्रोतहरुको पहिचान गर्ने र दररेट निर्धारणको लागि अध्ययन गरि सुझाव दिने मेयर राईले जानकारी दिएका छन् ।













0 प्रतिकृया