Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


जीतमा लगाएको अबिर नपखालिँदै खानेपानी समस्या हल गर्न फिल्डमा उत्रिए धरानका मेयर

एक्सन खबर
जेठ, ११, २०७९


जीतमा लगाएको अबिर नपखालिँदै खानेपानी समस्या हल गर्न फिल्डमा उत्रिए धरानका मेयर

सुनसरी । धरानको खानेपानी समस्या समाधानकै लागि आफु मेयर बनेको बताउँदै आएका धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज साम्पाङ आफ्नो प्रमुख उद्देश्य प्राप्त गर्न फिल्डमा उत्रिएका छन् । जीतको खुसीयाली समेत राम्ररी साट्न नपाउँदै धरानका मेयर साम्पाङ खानेपानी समस्या हल गर्न फिल्डमा उत्रिएका हुन् ।

आज धरानको खानेपानी मुहानको स्थलगत निरीक्षण गर्दै मुहानमा रहेका संरचनाहरुको कमजोरी सच्याउन साम्पाङले निर्देशन दिए । ‘खानेपानीको मूहान अवलोकन गरी कम्जोरी सच्याउने र फोहोर गर्न नदिने निर्देशन दिइयो ! जय धरान !’ सामाजिक सञ्जालमा मेयर साम्पाङले लेखेका छन् ।

स्थानीय तहको निर्वाचनमा अत्याधिक मतका साथ निर्वाचित भएसँगै विजय र्यालीमा लगाएको अबिरको रंगपनि सुक्न नपाउँदै खानेपानी समस्या समाधनार्थ फिल्डमा उत्रिएकोमा साम्पाङको प्रशंसा भइरहेको छ ।

स्वतन्त्र उम्मेदवार बनेर नगर प्रमुखको जिम्मेवारी पाएका साम्पाङलाई दलीय राजनीतिक दाउपेचले काम गर्न सहज छैन । नगरप्रमुखको पदवहाली हुँदै गर्दा साम्पाङले सबै राजनीतिक दलहरुको साथ र सहयोग लिएर अगाडी बढ्ने बताएता पनि राजनीतिक दलबाट निर्वाचित भएर आएका वडाध्यक्ष र उपप्रमुखले सकाररात्मक सहयोग गर्लान् भन्नेमा शंका छ ।

यद्यपि, मेयर साम्पाङले धरानका राजनीतिक दल, नागरिक समाज तथा सरोकारवालाहरुसँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् ।

मेयर साम्पाङले आफ्नो ५ वर्षे कार्यकालमा धरानबासीलाई सहजरुपमा खानेपानी खुवाएरै छाड्ने नसके धरान नै छाड्ने घोषणा गरेका छन् ।













0 प्रतिकृया