बराहका सञ्चालकको आग्रह ‘समस्या समाधानको पहल भइरहेकोले हल्लाको पछि नलाग्नुस’
एक्सन खबर
सुनसरी । बराह बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ग्राहक, शेयरधनी तथा बचतकर्ताहरुलाई हल्लाको पछाडी नलाग्न र धैर्यधारण गर्न आब्हान गरेको छ । विश्वव्यापी कोभिड–१९ को महामारीसँगै संस्थामा वित्तीय संकटको सामना गरिरहेको सहकारीले समस्या समाधानका लागि प्रयास गरिरहेको जनाउँदै शेयर सदय, बचतकर्ता, शुभचिन्तक तथा ग्राहकवर्गहरुमा हल्ला र अफवाहको पछि नलाग्न आग्रह गरेको हो ।
संस्थाले आइतबार विज्ञप्ति प्रकाशित गरी बराह सहकारीले सेवा प्रवाह गर्न नसकेको अवस्थाबाट प्रभावित भई विभिन्न समिति एवम् समुह बनाई विभिन्न निकायमा गई संस्था सञ्चालन एवम् बचत बचत रकम फिर्ता पाउनको लागि विभिन्न गतिविधिहरु गरिरहेको प्रति संस्थाको ध्यानाकर्षण भएको जनाएको छ ।
सहकारीमा देखिएको समस्याहरुको समाधानको निम्ति संस्थाका सञ्चालक एवम् जिम्मेवार व्यक्तिहरु संस्थाको काममा व्यस्त रहेको जनाउँदै सकारात्मक परिणामहरु आएपनि सेवा सुचारु गराउने भनिएको छ । ‘बराह एउटा व्यवसायिक एवं आर्थिक उन्नतिको अभियान भएकाले यसलाई जिवन्त राख्नको लागि यहाँहरुको साथ सहयोग र सहकार्य अपरिहार्य छ ।’ बराह सहकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘तसर्थ शेयर सदस्य एवम् बचतकर्ता शुभचिन्तक महानुभावहरुमा अफवाह र हल्लाको पछि नलाग्न अनुरोध गर्दछौं । साथै, नकारात्मक प्रभाव पर्ने किसिमको कृयाकलापहरुमा सामेल नहुन हार्दिक अनुरोध गर्दछौं ।’
त्यस्तै सहकारीका अध्यक्ष तथा सञ्चालकहरुले शेयर सदस्यहरुको लगानी र बचत र विस्वासलाई टुटन नदिने सम्पर्क र जिम्मेवारीबाट टाढा नहुने प्रतिबद्धता जनाएका छन् ।
बराह सहकारीमा देखिएको वित्तीय समस्या तत्काल समाधान गर्नुपर्ने भन्दै केही व्यक्तिहरुले संघर्ष समिति बनाएर शनिबार धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज साम्पाङलाई ज्ञापनपत्र बुझाएकोमा मेयर साम्पाङले नीति नियम र कानुनकै परिधिमा रहेर समस्या समाधान खोजिनु पर्ने बताएका छन् ।
0 प्रतिकृया