नेपाल मेडिकल कलेजबाट एमविविएस उत्तीर्णलाई इन्टर्नसिपको अभिमुखीकरण
एक्सन खबर
काठमाडौं । नेपाल मेडिकल कलेजले एमविविएस उत्तीर्णहरुलाई विषयगत अभिमुखीकरण तालिम दिएको छ । कलेजमा आयोजित कार्यक्रममा कलेजका म्यानेजिङ डाइरेक्टर बसरुद्धिन अन्सारीले एमविविएस उत्तीर्णहरुलाई एक वर्षको इन्टर्न कसरी सफल रुपमा पुरा गर्ने ? बिरामीहरुको उपचारमा कस्तो ब्यवहार देखाउने ? लगायतका विषयमा अवगत गराए ।
एमविविएस उत्तीर्ण गरेसँगै चिकित्सक बन्ने बाटो खुलेता पनि एउटा राम्रो दक्ष चिकित्सक बन्न धेरैकुरा सिक्नुपर्ने अन्सारीले बताए । ‘एमविविएस गर्नु भयो यहाँहरुलाई बधाई छ । अब एक वर्षको इन्टर्नमा प्राप्त गरेको ज्ञान र अनुभवले तपाईहरुको भविष्य निर्धारण हुन्छ । यो समयलाई तपाईहरुले राम्ररी सदुपयोग गर्नुहोस् ।’ अन्सारीले भने ।
इन्टर्नमा चिकित्सकको बानी ब्यहोरा, व्यक्तिगत सरसफाईसँगै विरामीप्रति देखाएको ब्यवहारको मुल्याकन हुने गर्दछ । चिकित्सक जतिधेरै विरामीमैत्री भयो उत्ति नै उसभित्र ज्ञान र अनुभव बढ्ने छ ।
अभिमुखीकरणमा बोल्दै कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्रीले एमविविएस अध्ययन गर्दा विद्यार्थीले प्राप्त गरेको ज्ञानलाई विरामीको स्वास्थ्योपचारमा प्रयोग गर्न सुझाए । विरामीको सेवा गर्नु संवेदनशील विषय भएको जनाउँदै इन्टर्नमा हासिल गरेको ज्ञान र अनुभवले अगाडीको बाटो निर्धारण गर्ने बताए ।
अभिमुखीकरणमा कलेजकी भाइसप्रिन्सिपल डा. सृष्टि श्रेष्ठ, असपताल निर्देशक मोदनाथ मरहठ्ठाले एमविविएस उत्तीर्णलाई कसरी काम गर्ने जानकारी दिएका थिए ।
कार्यक्रममा मेडिकल डाइरेक्टर डा. राजेशकुमार श्रेष्ठ, डाइरेक्टर डा. सविया यास्मिन, प्रमुख प्रशासकीय अधिकृत ज्योती खड्का तथा हस्पिटल इन्चार्ज दिलिप साहको उपस्थिति समेत रहेको थियो ।
नेपाल मेडिकल कलेज मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रमा नेपालको अग्रणी संस्था रहेको छ । जोरपाटी अत्तरखेलमा रहेको कलेजमा स्नातक स्नातकोत्तर तह तथा नर्सिङका विषय पढाई हुने गरेको छ । स्वास्थ्य सेवा तर्फ चिकित्सा शिक्षाका आधुनिक प्रविधि र दक्ष जनशक्तिद्वारा उपचार हुने गरेको छ ।
0 प्रतिकृया