१० जनाको शव काठमाडौं ल्याइयो, ५ सदस्यीय आयोग गठन
एक्सन खबर
काठमाडौं, १६ जेठ । मुस्ताङमा तारा एयर विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ । दुर्घटनाग्रस्त स्थानबाट कोबाङ ल्याइएको शव नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा हुँदै काठमाडौं ल्याइएको हो ।
काठमाडौं ल्याएका शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने र त्यसपछि आफन्तको जिम्मा लगाउने तयारी छ । शव ल्याइने भएसँगै मृतकका आफन्त त्रिभुवन विमानस्थल पुगेका थिए । बाँकी शव भने भोलि मात्र ल्याउने तयारी गरिएको छ । एउटा शव भने अझै फेला पर्न नसकेको तारा एयरले जनाएको छ ।
आइतबार पोखराबाट मुस्ताङको जोमसोमका लागि विहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरको ट्विनअटर जहाज उडेको केही समयमा नै सम्पर्कविहीन भएको थियो।
आइतबार दिनभर खोजी गरिएपनि फेला नपरेको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२, सानुसरेको पहाडमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन
सरकारले आइतबार तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय जाँच आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन दुर्घटना तथा जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो ।
आयोगको सदस्यहरूमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने छन् ।
यो समितिलाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश दिइएको छ ।
मन्त्रिस्तरिय निर्णयअनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको एनेक्स १३ तथा गैर सैनिक हवाई (दुर्घटना जाँच) नियमावली, २०७१ वमोजिम घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना नदोहोरियोस् भन्ने उद्देश्यले गैर सैनिक हवाई (दुर्घटना जाँच) नियमावली, २०७१ को नियम ११ वमोजिम आयोग गठन गरिएको हो ।
0 प्रतिकृया