Follow us:


Follow us

२ वैशाख २०८३, बुधवार
२ वैशाख २०८३, बुधवार


सिद्धार्थनगरलाई धार्मिक पर्यटकीय हबका रुपमा विकास गर्ने मेयर खाँको सोच

एक्सन खबर
जेठ, २०, २०७९


सिद्धार्थनगरलाई धार्मिक पर्यटकीय हबका रुपमा विकास गर्ने मेयर खाँको सोच

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगरपालिकाका नवनिर्वाचित मेयर इश्तियाक अहमद खाँलाई नेपाल मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर बसरुद्धिन अन्सारीले बधाई तथा सफलताको शुभकामना दिएका छन् । बिहीबार जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा वेस्ट म्यानेजमेन्ट सम्बन्धी विषयमा आवश्यक सरसल्लाह तथा छलफल गर्न आइपुगेका मेयरलाई अन्सारीले सिद्धार्थनगर नगरपालिकालाई धार्मिक पर्यटकीय शहरका रुपमा विकास गर्न सुझाए ।

‘निर्वाचनमा लड्दै गर्दा तपाई कुनै एउटा पार्टीको उम्मेदवार हुनुहुन्थ्यो तर, अब निर्वाचित भएर आएपछि सबैको साझा हुनुभएको छ । यहाँको ५ वर्षे कार्यकालमा सिद्धार्थनगर मुलुककै नमूना शहरका रुपमा विकास होस भन्ने शुभकामना दिन चाहन्छु ।’ अन्सारीले भने ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएका मेयर इश्तियाक अहमदले सिद्धार्थ नगरपालिकालाई धार्मिक पर्यटकीय हबका रुपमा विकास गर्ने तथा नगरको फोहरमैला ब्यवस्थापन गर्न आफ्नो प्राथमिकतामा रहेको पनि बताए । तत्कालका लागि नगरको फोहरमैला ब्यवस्थापन कसरी गर्न सकिन्छ ? फोहरलाई मोहरको रुपमा कसरी रुपान्तरण गर्न सकिन्छ र सिद्धार्थ नगरलाई स्वच्छ सिटी, ग्रिन सिटीका रुपमा कसरी विकास गर्ने ? विषयमा आफुले सल्लाह र अवधारणा लिइरहेको मेयरले बताए । ‘सिद्धार्थ भगवान गौतम बुद्धको जन्मस्थल रहेकाले यो क्षेत्रलाई धार्मिक पर्यटकीय शहरका रुपमा परिभाषित गर्दै यहाँका धार्मिक, सास्कृतिक, पर्यटकीय क्षेत्रको विकासबाटै नगरको मुहार फेर्ने सोच बनाएको छु ।’ मेयर अहमद खाँले भने । नगरको बेलहिया पैदल पर्यटकको मुख्य नाका रहेकाले बर्षेनी बेलहियाबाट लाखौं पैदल पर्यटकको आवागमन हुने भएकोले सो क्षेत्रलाई पर्यटनमैत्री, वतावरणमैत्री ग्रिन सिटी बनाउने चर्चा गरे ।

त्यस्तै उनले नगरलाई व्यवस्थित शहरका रुपमा विकास गर्न टाउन प्लानिङसहित स्मार्ट सिटी बनाउने, नगरका सबै क्षेत्रमा सडक वत्ती पुर्याउने, व्यवस्थित सडक ढल निकासको ब्यवस्थापन गर्ने योजना सुनाए ।

नगरबासीको चाहना, आवश्यक्ता अनुसार अत्यावश्यक विकासका पूर्वाधारहरुलाई प्राथमिकता दिँदै काम गर्ने उनको सोच रहेको छ । भैरहवा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनार्थ केन्द्र सरकारसँग समन्वय र सहकार्य गर्ने, नगरमा बोटानिकल पार्क बनाउने, अब्यवस्थित पार्किङ समस्यालाई हल गर्ने र सिद्धार्थ नगरलाई फुलवारीको शहर बनाउने आफ्नो सपना रहेको जिकीर गरे । ‘स्थानीय तहसँग खासै ठूलो बजेट नभएतापनि जनताका समस्या र अपेक्षालाई प्राथमिकताका साथ संवोधन गर्दै सिद्धार्थनगरलाई फुलबारीको रुपमा सजाउने भिजन बनाउने छु ।’ मेयर खाँले दावी गरे ।

कुनैपनि नगरको विकास भनेको पूर्वाधार निर्माण हैन, त्यहाँका जनताको जिवनस्तर सुधार्नु पनि महत्वपूर्ण कुरा हो । मेयर खाँले नगरलाई व्यवस्थित र सुन्दर बनाएसँगै नगरका सबै जनतालाई प्रत्याभूत हुने गरी सामाजिक काम पनि अगाडी बढाउने योजना सुनाए । ‘विकास निर्माण सँगै सामाजिक सचेतना र सामाजिक सुरक्षाका कामहरु अगाडी बढ्नेछन् । गर्भवती तथा सुत्केरी महिलालाई भत्ता तथा पोषण कार्यक्रम हुनेछ । स्वास्थ्य बीमा कार्यक्रम ल्याउँछौं । छात्राहरुलाई उच्च शिक्षा हासिल गर्ने वातावरण बनाउन निःशुल्क शिक्षा, कक्षा १२ पास गरेकालाई निःशुल्क ल्यापटप तथा साइकल दिने, छोरीहरुको निःशुल्क बिमा योजनाहरु बनाएका छौं । बृद्धबृद्धाहरुको लागि सामाजिक सुरक्षा भत्तासँगै निःशुल्क स्वास्थ्य सेवा दिने सोच छ ।’ उनले भने ।

यस्तै युवाहरु लक्षित विशेष कार्यक्रम नगरले ल्याउने बताए । प्राविधिक शिक्षामा जोड दिँदै विभिन्न आयमुलक तथा स्वरोजगार मुलक तालिमहरु दिने, घरेलु तथा साना उद्योग व्यवसायहरुलाई प्रोत्साहन गर्ने लगायतका योजनाहरु रहेको चर्चा गरे । ‘सबै काम एकैपल्ट नहोला तर, मेरो कार्यकालमा कम्तिमा सिद्धार्थनगरको आर्थिक, सामाजिक, सास्कृतिक, पर्यटकीय र समाजको रुपान्तरण हुने गरी काम गर्नेछु ।’ मेयर खाँको दावी छ । पछिल्लो समय स्थानीय निकायमा सुशासनका सवालमा ठूलो समस्या देखिएको चर्चा गर्दै नगरमा पारदर्शीता, मितव्ययितता कायम गर्ने प्रतिबद्धता जनाए ।














0 प्रतिकृया