आगामी चुनावमा विचार र मुद्दा मिल्नेसँग तालमेल गर्ने निर्णय
एक्सन खबर
काठमाडौं, २२ जेठ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विचार र मुद्दा मिल्ने राजनीतिक दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ ।
आज बसेको लोसपाको कार्यकारिणी समितिको बैठले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो । 'विचार र मुद्दा मिल्नेहरुसँग तालमेल गरेर अघि बढ्न पार्टी खुला भएको छ' कार्यकारिणी सदस्य केशव झाले भने ।
बैठकमा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटवार्ता बारे जानकारी गराएका थिए । आफूहरुको माग र मुद्दा सम्बोधन गर्नका लागि सरकारसँग सरकार तयार रहेको उनले जानकारी दिए ।
गठबन्धन सरकारसँग लोसपाले नागरिकता विधेयक लगायतका विषयमा आफ्ना मागहरु राख्दै आएको छ । यस्तै, लोसपाले स्थानीय तह चुनावमा राज्यशक्तिको व्यापक दुरुपयोग भएको निष्कर्ष निकालेको छ । त्यसका कारण आफ्नो दलले वैशाख ३० को चुनावमा कमजोर प्रदर्शन गरेको लोसपाको निष्कर्ष छ ।
बैठकले सत्ता गठबन्धनले स्थानय तह निर्वाचनमा व्यापक रुपमा राज्य शक्तिको दुरुपयोग गरेको निष्कर्ष निकालेको समिति सदस्य झाले जनाए। मधेश प्रदेशसहित देशका विभिन्ने बुथमा सत्ता गठबन्धनले राज्यशक्तिको दुरुपयोग गर्दै मत आफ्नो पारेको बैठकले निष्कर्ष निकालेको हो ।
नयाँ दलको रुपमा पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका कारण प्रचार प्रसारका लागि कम समय भएको कारण अपेक्षाकृत सफलता हात नपारेको उसको निष्कर्ष छ ।
0 प्रतिकृया