Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


भोलिबाट काठमाडौंको फोहर उठाउने सहमति (सहमति पत्र सहित)

एक्सन खबर
जेठ, २३, २०७९


भोलिबाट काठमाडौंको फोहर उठाउने सहमति (सहमति पत्र सहित)

काठमाडौं, २३ जेठ । काठमाडौं उपत्यकाको फोहोर भोलिबाट उठाइने भएको छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै भोलिदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो ।

सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबिच बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो ।

सहरी विकास मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रतिवद्धता जनाएसँगै आन्दोलनरत पक्षले फोहर बिसर्जन गर्न दिने भएको हो ।

सहमति अनुसार हरेक दिन बञ्चरे डम्पिङ साइटमा फोहोर खसालेपछि १५ सेन्टिमिटर उचाइको माटोले पुरिनेछ । दुर्गन्ध हटाउन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सिफारिसका आधारमा १० दिनभित्र रासायनिक वा जैविक उपचारको विधि पनि लागू गरिनेछ ।

असार मसान्तसम्म विगतमा जसरी फोहोर उठाइन्थ्यो, त्यसरी नै उठाइने र साउन १ देखि भने कुहिने र नकुहिने फोहोर स्रोतमै छुट्टयाएर नकुहिने खालका फोहोर मात्र डम्पिङ साइटमा लैजाने सहमति भएको छ । अब काठमाडौं महानगरपालिकाले हरेक घरमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्न मंगलबारबाट सूचना जारी गर्नेछ ।

काठमाडौं महानगरले कुहिने फोहोर जम्मा गर्न र त्यसलाई कम्पोष्ट मलमा परिणत गर्न ठाउँ खोज्ने भएकाे छ । सिसडोल बन्द गरी हरित क्षेत्रमा परिणत गर्ने र बञ्चरेडाँडा डम्पिङ साइटले असर गर्ने प्रभावित क्षेत्र निर्धारण गरेर अधिग्रहण प्रक्रिया थालनी गर्ने सहमति गरिएकाे छ । यसको निम्ति बञ्चरेडाँडाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधार ६ महिनाभित्र प्रभावित क्षेत्रको जग्गा अधिग्रहण प्रक्रिया सुरू गरिने छ ।

काठमाडौं महानगरपालिकाले नास्टको विज्ञ टोलीबाट बञ्चरेडाँडा डम्पिङ साइटले प्रभाव पार्ने क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन गराएकोमा उक्त प्रतिवेदन सार्वजनिक गर्ने सहमति भएको छ।

सिसडोलका हकमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा व्यवस्थापन योजना बनाएर ६ महिनाभित्र डम्पिङ साइट बन्द गर्न प्रक्रिया सुरू गरिने, सिसडोल तथा बञ्चरेमा फोहोर नगन्हाउने व्यवस्था मिलाउने र सिसडोलको फोहोरबाट निस्केको दूषित पानी तत्काल व्यवस्था गरिने उल्लेख छ ।

जेठ २४ गते मंगलबारबाट उपत्यकाको फोहोर बञ्चरेडाँडा डम्पिङ साइटमा विसर्जन गर्न ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाले सहयोग तथा सहजीकरण गर्ने उल्लेख छ । साथमा, स्थानीय बासिन्दाको शिक्षा, स्वास्थ्य, रोजगार, स्वास्थ्य बिमा लगायत विकास निर्माणको काममा सहकार्य गर्ने सहमति भएको छ।

यसैगरी, बञ्चरेडाँडा साइट प्रभावित क्षेत्रमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि पाँचवटा सडक निर्माण गर्न सहरी विकास मन्त्रालयले ४२ करोड ५० लाख रूपैयाँ विनियोजन गर्ने भनिएकाे छ । नदी नियन्त्रण, सामुदायिक भवन र मन्दिर निर्माण तथा वृक्षरोपणका लागि १ करोड ७० लाख रूपैयाँ विनियोजन गरिएको छ।

प्रभावित क्षेत्रका बासिन्दाका लागि १० शैयाको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरिने सहमति छ । सिसडोल र बञ्चरेडाँडा क्षेत्रका विद्यालयहरूको स्तरोन्नति गर्ने तथा रोजगारमा स्थानीय बासिन्दालाई प्राथमिकता दिने सहमति भएको छ।

फोहोरमैलाबाट पर्ने स्वास्थ्य समस्या सम्बोधन गर्न स्वास्थ्य बिमा गरिने,  प्रभावित क्षेत्रका वडाहरूको पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई महानगरले निरन्तरता दिने सहमति छ ।

वार्तामा सहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनीता डंगोल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, ललितपुर महानगरका उपमेयर मन्जली शाक्य, सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंह, बञ्चरेडाँडा आयोजना निर्देशक रवीन्द्र बोहोरा लगायत थिए ।














0 प्रतिकृया