निजामती सेवाभित्र "सुब्वा" प्रवृत्ति
एक्सन खबर
कुमार दाहाल
सुव्वाकाे पद अहिले डिमाेसन भएको छ । मेरा बा, हजुरबाले टीका लगाएर आशिर्वाद दिन्थे, सुव्वा भएस । राणाकालमा सुब्बा ठूलो पद थियो । बडाहाकिम पछि ठूलो निर्णयात्मक पद । अहिले पनि गाउँघरमा भनिन्छ यो सुब्बाको नातिको छोरा । सुब्बा पदको चर्चा अहिले पनि गाउँघरमा सुनिन्छ । सुब्बासाबहरुले ठूलाठूला निर्णय गर्थे । न्याय दिन्थे । सुब्बासाबकाेमा पुगेपछि अरु तिर पुगी रहनु पर्दैन थियो । माथिदेखि तलसम्म राम्रो समन्वय गर्थे ।
पञ्चायत काल सम्म सुब्बाको पद राम्रै थियो । प्रजातन्त्र पछि यस पदमा राजनीति मिश्रण भयो । र राजनीति र यो पद छुट्याउन हम्मेहम्मे पर्न थाल्याे । प्रशासन र राजनीतिकाे उपल्लो पद सम्म राम्ररी नै पहुँच हुने कारण राजनीति र याे पद अन्तर्घुलन भएको छ । यो पदले माथिल्लो हैसियतलाई खासै महत्त्व दिँदैन । किनभने त्योभन्दा माथिल्लो पद सँग यसको प्रत्यक्ष सम्बन्ध रहन्छ । सहकार्य रहन्छ । रहेको देखिएको छ । उदाहरण थुप्रै छन् ।
ट्रेड युनियनले अनुकूल र राजनीति गन्ध मिलाएर माथिल्ला कर्मचारीको सरुवा गर्छन् । तर सचिव सहसचिव लगायतका पदहरु सरुवा गरेपनि बोल्दैनन् । अनि दोष राजनीतिलाई दिन्छन् । आफ्नो योग्यता लाइ नबुझ्दा यो समस्या राजनीतिको देखिएको छ । तर यथार्थमा राजनीतिले यसलाई खासै महत्त्व दिँदैन । तर सचिव र सहसचिवहरु बोल्दैनन् । किनकि सचिव र सहसचिवलाई अर्को सरुवा होला भन्ने डर छ । फेरि राम्रो ठाउँमा सरुवा हुँदैन भन्ने ठूलो चिन्ता छ । र सरुवा गर्नेहरुप्रति निरीह बनेका छन् । डर र स्वार्थका कारण माथिल्ला पदहरु निर्णय गर्न डराउँछन् । आफ्नो यथार्थ राय दिन पछि पर्छन् ।
राजनीतिक नेतृत्वसँग आँखामा आँखा मिलाएर भन्दा स्वरमा स्वर मिलाएर कुरा गर्न रुचाउँछन् माथिल्ला पदहरु । नीतिगत तहमा आफ्नो एकमुष्ट पकड छैन । र अर्को भन्दा आफु अब्बल हुने दौडमा सबै सधैं लागिरहन्छन् । तर दुखलाग्दो कुरा कहिलेकाहीँ अतिरिक्तमा पुग्छन् र सधैभरी आफ्ना गुनासा बोकेर बाँच्नु पर्ने बाध्यतामा रहन्छन् । कर्मचारीतन्त्रले स्वयं आफैले सृजना गरेको परिस्थिति हो याे । जबसम्म आफ्नो योग्यता माथि भरोसा गरिदैन । तबसम्म यो परिस्थिति उठिरहन्छ । र हामी निर्णय गर्न डराई रहन्छौं । तर सुब्बासाबहरु आफ्नो काम गर्न डराउँदैनन् । र भनिन्छ जति माथि हुँदै गयो त्यति खरिदार मुखिया हुँदै जान्छन् पदहरु । र अन्तिममा पदविहीन भएर अवकाश पाउँछन् । किन ? यसको दोष कहाँ छ ?
राजनीतिमा कि स्वयं कर्मचारीतन्त्रमा ?
बजेट, ठेक्कापट्टा, निर्माण, योजना थपघट, सरुवा, बढुवामा दख्खल राख्छन् सुब्बासाबहरु । किनकि उनीहरु डराउँदैनन् । तर उनीहरूको उपस्थितिमा माथिका पदहरु किन डराउँछन् । त्यसमा के स्वार्थ छ ? यसैमा समग्र कर्मचारीतन्त्र भित्रकाे प्रवृति झल्किन्छ । निर्णय नगर्ने, जी हजुरी गर्ने र यथार्थ नभन्ने प्रवृत्ति मौलाएको छ । र माथिल्ला पदहरु मुकदर्शक हुँदैछन् । बजेट निर्माण, विनियोजन, ठेक्कापट्टा, खरिदबिक्रीमा सुब्बासाबहरूको दख्खललाई किन स्वीकार गर्छन् नेतृत्वहरु । किन यो गलत हो भनेर भन्न सक्दैनन् । भित्रभित्रै आफ्नो स्वार्थ पुरा गर्न तल्लीन यो वर्गले आफ्नो स्पस्ट धारणा राख्छन् र प्रशासनको सुधार होला भन्ने विषय आकाशको फल जस्तै भएको छ । र त्यसैको विकृति आज कर्मचारीतन्त्रले जताततै भोग्नुपरेको छ । जताभावी पद सिर्जना भएका छन् । काम र पदको मेल छैन । स्पष्ट नीतिगत धारणा छैन । कर्मचारीतन्त्र निरुत्साहित हुँदै गएको छ । भ्रष्टाचार बढेर गएको छ । तर अझै पनि माथिल्ला पदहरु यो भन्दा खराब अवस्थाको प्रतिक्षामा छन् ।
यदि यो कुरा सत्य हो भने यो दोष कसको हाे ? बजेट बनाउने कर्मचारी नेतृत्व वर्गकाे वा बजेट संशोधन वा थपघट गर्ने सुब्बा सापको । यसको जवाफ राजनीतिले होइन स्वयं कर्मचारीतन्त्रले दिनुपर्छ ।
राजनीति नेतृत्वका असल सल्लाहकार माथिल्ला कर्मचारी हुन् । तर कसले असल सल्लाह दिन्छ भन्ने कुरा राजनीतिलाई राम्ररी थाहा छ । उनीहरु सुझाव चाहन्छन् तर सुझाव प्रतिकूल चाहँदैनन् । र कर्मचारीतन्त्रकाे नेतृत्व राजनीति नेतृत्वलाई यो गलत काम हो भनेर सुझाव दिन सक्तैनन् । दिएमा पनि अडान लिदैनन् । गलत कामको मुकदर्शक भएर बस्नुपर्ने स्थिति छ । जस्तै अहिलेको निजामती सेवाको अवस्था । अहिले निजामती सेवामा स्पष्ट नीति खाेइ ? यो अवस्था कसले बनायो ? राजनीति नेतृत्व वा कर्मचारीतन्त्रले ? जसले गर्दा माथिल्लो नेतृत्वमा सुब्बा प्रवृत्ति मौलाएको छ । निर्णय भन्दा बाहिर गएर रमाउने प्रवृत्ति भन्दा सुब्बासाबहरुकाे आँटलाई मान्नैपर्छ । कमसेकम आफ्नो जिम्मेबारी राम्ररी निर्वाह गरिरहेका त छन् ।
अहिलेको चर्चाको विषय बजेटमा सुब्बा सापको दख्खल । यो कुरा भरसक सत्य नहोस् । यदि यो कुरा सत्य हो भने यो दोष कसको हाे ? बजेट बनाउने कर्मचारी नेतृत्व वर्गकाे वा बजेट संशोधन वा थपघट गर्ने सुब्बा सापको । यसको जवाफ राजनीतिले होइन स्वयं कर्मचारीतन्त्रले दिनुपर्छ । यो उत्तर दिने साहस भएमात्र कर्मचारितन्त्र उत्प्रेरित, उच्च मनोबल युक्त र योग्यतामा आधारित हुन्छ । तब मात्र यसको विश्वसनीयता राजनीति र प्रशासनभित्र बराबरी पुग्छ ।
0 प्रतिकृया