इथियोपियामा २ सय बढी सर्वसाधारणको हत्या
एक्सन खबर
आदिस आबाबा, ७ असार । इथियोपियामा २ सय सर्वसाधारणको हत्या भएको छ । देशको ओरोमिया क्षेत्रमा भएको आक्रमणमा जातीय अम्हारा समुदायका मानिसहरुको हत्या भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अफ्रिकाको दोस्रो ठूलो जनसंख्या भएको इथोपियामा जातीय तनाव जारी रहिरहेका बेला पछिल्लो डरलाग्दो हिंसा भएको हो ।‘मैले २३० शवहरू गनेको छु । मलाई डर छ कि यो हामीले हाम्रो जीवनकालमा देखेका नागरिकविरुद्धको सबैभन्दा डरलाग्दो हमला हो’, गिम्बी काउन्टीका निवासी अब्दुल–सेद ताहिरको भनाई उदृत गर्दै एसोसिएटेड प्रेसले जनाएको छ ।
शनिबारको आक्रमणबाट आफू मुस्किलले उम्किएको उनले बताए । शवलाई सामूहिक चिहानमा गाडिएको पनि उनले बताए । ‘शवलाई सामूहिक चिहानमा गाडिरहेका छौं । हामी अझै पनि शव संकलन गर्दैछौं । संघीय सेनाका एकाइहरू घटनास्थलमा आइपुगेका छन् । तर सेनाले छोडे भने हामीमाथि हमला हुने डर छ ।’
अर्का एक प्रत्यक्षदर्शीले पनि आफ्नो सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् । ओरोमिया समुदाय अहिले अर्कै क्षेत्रमा स्थानमा स्थानान्तरण हुन खोजेको प्राप्त विवरणमा जनाइएको छ । आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन । आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
0 प्रतिकृया