इच्छाराज तामाङलाई रिहा गर्न १० करोड प्रस्तावकाे अडियाे बाहिरिएपछि बाेलाइयाे न्याय परिषद् बैठक
एक्सन खबर
काठमाडौं, ८ असार । न्यूज २४ टेलिभिजनले नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाबीचको करिब १० मिनेटको टेलिफोन संवाद सार्वजनिक गरेपछि न्याय परिषद् बैठक बाेलाइएकाे छ ।
सार्वजनिक अडियाेमा कुराकानीका क्रममा अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ रकम प्रस्ताव गरेका छन् । पोखरेलले तामाङलाई छुटाउँदा आफूहरूको भागमा दुई करोड पर्ने उल्लेख गरेका छन् । त्यसमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पनि साथ हुने भन्दै उनले प्रलोभन दिएका थिए ।
न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच व्यवसायी इच्छाराज तामाङबीच १० करोडको डिल भएको अडियो सार्वजनिक भएपछि न्यायपरिषद्को बैठक बस्न लागेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले परिषद्को बैठक बोलाएका हुन् ।
‘डेढ बजे आकस्मिक रुपमा बैठक छ भनेर हामीलाई खवर आएको हो,’ परिषदका एक सदस्यले भने, ‘एजेण्डावारे बताइएको छैन ।’ अर्का सदस्यका अनुसार, काठमाडौंका न्यायाधीश कोइराला मुछिएको एक विवादास्पद अडियो सार्वजनिक भएपछि आकस्मिक बैठक डाकिएको हो । पोखरेल एमालेको कानुन विभागका सदस्यसमेत हुन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेन’को अडियो न्युज २४ टिभीले हिजो (मंगलबार) साँझ अडियो सार्वजनिक गरेको हो ।
अडियो सार्वजनिक भएपछि काठमाडौँ जिल्ला अदालतले न्यायाधीश कोइरालालाई बुधबार कुनै पनि इजलास नतोकेको एक अधिकारीले जानकारी दिए ।
२ हजारभन्दा बढी निक्षेपकर्ताको ८ अर्व भन्दा बढी रकम ठगेका इच्छाराज हाल हिरासतमा छन् । तामाङले निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजको प्रलोभनमा पारेर सहकारीमा पैसा जम्मा गर्न लगाई सहकारीको नियमविपरीत कर्जा आफ्नै कम्पनीको नाममा प्रवाह गरेका थिए । ती कम्पनीबाट भएको आम्दानी लुकाएर सहकारीको कर्जा नतिरेपछि संस्था समस्यामा परेको थियो ।
0 प्रतिकृया