Follow us:


Follow us

१० वैशाख २०८३, बिहिवार
१० वैशाख २०८३, बिहिवार


विषय प्रवेश नगरी जीतपुरसिमराको नगर सभा स्थगित

एक्सन खबर
असार, ११, २०७९


विषय प्रवेश नगरी जीतपुरसिमराको नगर सभा स्थगित

बारा, ११ असार । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगर सभा सुरु नै नभई स्थगित भएको छ । बकुलिया क्याम्पसको सभाहलमा शुक्रवार आयोजना गरिएको सभा विषय प्रवेश नगरी स्थगित भएको हो ।

कार्यपालिका बैठकमा निर्णय नै नगरी निति तथा कार्यक्रम र वडा सिलिङ ल्याउन खोजिएको भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यले विरोध जनाएपछि सभा सुरु हुन नसकेको हो । नगर सभामा प्रस्तुत हुनुअघि निति तथा कार्यक्रम र वडा सिलिङको विषयमा छलफल हुनुपर्ने वडाध्यक्ष र कार्यपालिका सदस्यको भनाई थियो ।

सभा सुरु हुनुअघि वडाको निति तथा कार्यक्रम र वडाको बजेट निर्धारण गर्न प्रमुख पौडेलसँग आग्रह गरेका वडाध्यक्ष र कार्यपालिकाले त्यसपछि मात्रै सभालाई अघि बढाउन माग गरेका थिए । तर, वडाध्यक्ष र कार्यपालिका सदस्यको मागका विषयमा छलफल हुन नसकेपछि प्रमुख पौडेलले सभा स्थगित गरेका हुन् ।

नगर प्रमुख राजन पौडेलले गणपुरक संख्या नपुगेको भन्दै सभा स्थगित भएको घोषणा गरेका थिए । पौडेलले गणपुरक संख्या नपुगेको बताईरहदा सभा हल भने नगर सभा सदस्यले भरिएको थियो ।

नगर सभाको विषयमा असहमति  जनाएका नगर सभा सदस्यले उपस्थिती पुस्तिकामा हस्ताक्षर नगरेका कारण गणपुरक संख्या नपुगेको हो । नेकपा माओवादी केन्द्रबाहेक अन्य दलबाट निर्वाचित वडाध्यक्ष, कार्यपालिका सदस्य र नगर सभा सदस्यबाट अधिकांशले उपस्थिति जनाएका थिएनन् ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब ३ बजेसम्म सुरु नभएपछि प्रमुख पौडेलले स्थगित गरेका थिए । स्थगित गरिएको सभाको अर्को मिति भने तोकिएको छैन् ।

हामीलाई अन्यौलमा राखेर सभा हुँदैनः वडाध्यक्ष

कार्यपालिका बैठकमा नीति तथा कार्यक्रम र वडाको  विषयमा छलफल नभएको भन्दै वडाध्यक्षहरुले चर्को असन्तुष्टी जनाएका छन् ।

उपमहानगरपालिकाले ल्याउन नीति तथा कार्यक्रम सबै क्षेत्रलाई सम्बोधन गर्ने गरी आउनुपर्ने भएका कारण छलफल हुनुपर्ने वडाध्यक्ष र कार्यपालिका सदस्यको माग थियो । तर, नीति तथा कार्यक्रमको विषयमा कार्यपालिका बैठकमा छलफल हुन नपाएपछि वडाध्यक्षले असन्तुष्टी जनाएका हुन् ।

नीति तथा कार्यक्रम र वडाको बजेटका विषयमा छलफल गर्न बिहीबार  कार्यपालिका बैठक बोलाइएको थियो । दिउँसो बोलाईको बैठक राति आठ बजेसम्म पनि सुरु हुन नसकेपछि सबै कार्यपालिका सदस्य घर फर्किएका थिए ।

राति ८ बजेसम्म कार्यपालिका सदस्य नगर प्रमुख पौडेललाई पर्खिएर बसेका थिए । आफ्नो कार्यकक्षमा बसेर नगर प्रमुख पौडेल सभाहलमा गएनन् । नगर प्रमुख छलफलका लागि नआएपछि कार्यपालिका सदस्य घर फर्किएका थिए ।

कार्यपालिका सदस्य घर फकिएको केही समयपछि नगर सभामा उपस्थित हुन मोबाईल म्यासेजमार्फत सबै नगर सभा सदस्यलाई खबर गरिएको थियो । बैठकका लागि रातिसम्म उपमहानगरपालिकामा पर्खिएर बसेका कार्यपालिका सदस्य अचानक नगर सभाको खबर आएपछि अचम्मित बनेका थिए ।

‘सभामा जानुअघि नीति तथा कार्यक्रम र वडाको बजेटका विषयमा छलफल हुनुपर्छ भनेर सबै कार्यपालिका सदस्यले भन्दै आएका थियौ’ वडा नं. १ का अध्यक्ष हिराबहादुर गुरुङले भने ‘त्यसैले हामी रातिसम्म भएपनि छलफलका लागि पर्खियौ । तर, मेयरसाप सभाहलमा नआएपछि हामी फर्कियौ र फर्किएको केही समयपछि मोबाईलमा म्यासेज आयो ।’

कार्यपालिकामा छलफल गरेर मात्रै नगर सभामा जाने सहमति भएता पनि व्यवहारमा त्यस्तो नदेखिएपछि सबै वडाध्यक्ष र कार्यपालिका सदस्यले त्यसको विरोध गरेको गुरुङले बताए । ‘सभामा जानुअघि निति तथा कार्यक्रम छलफल हुनुपर्छ भनेका थियौं । केही कुरा छुटेका भए थप्नुपर्छ भन्ने हाम्रो भनाई हो’ गुरुङले भने ।

वडा नंम्बर १६ का वडाध्यक्ष हरिदेव खरेलले वडाको सिलिङको विषयमा वृहत् छलफल गरेर अघि बढ्न सुझाव दिए पनि कार्यान्यवन हुन नसकेको बताएका छन् । उनले बैठकमा छलफलनै नगरी ल्याइएको कार्यक्रम र बजेटप्रति असहमति जनाए ।

उपप्रमुखले बोल्दाबोल्दै माईक खोस्ने प्रयास


अन्यौलमा रहेको नगर सभाको विषयमा उपप्रमुख भोलाप्रसाद अधिकारीले आफ्ना भनाई राख्दै गर्दा नगर प्रमुख राजन पौडेलले अत्यन्तै अमर्यादित शैली देखाए । उपप्रमुखले बोलिरहेकै बेला पौडेलले पटकपटक माईक खोस्ने प्रयास गरेका थिए । अन्यौलमा रहेको सभाका विषयमा नगर सभा सदस्यलाई सम्बोधन गरिरहेका उपप्रमुखको माईक खोस्ने प्रयास गरेका पौडेल आक्रोशित देखिन्थे ।

आफ्नो र उपप्रमुखको पदिय मर्यादा बिर्सिदै प्रमुख पौडेलले माईक खोस्न थालेपछि पत्रकारले उपप्रमुखलाई ‘बोल्न दिनु’ भन्दै आग्रह गरेका थिए ।

प्रमुख पौडेलले यसअघि वडा नंम्बर ३ का अध्यक्ष तारा कार्कीले आफ्ना भनाई राख्ने क्रममा पनि माईक खोस्ने प्रयास गरेका थिए । अन्यौलमा रहेको नगर सभाको विषयमा छलफलबाट निष्कर्ष निकाल्नुपर्ने वडाध्यक्षको मागका विषयमा आफ्नो भनाई राखेका प्रमुख पौडेलले लगत्तै वडाध्यक्ष कार्कीले बोल्ने क्रममा माईक खोस्ने प्रयास गरेका थिए ।

कार्यक्रममै वडाध्यक्ष कार्कीले प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल बोल्ने क्रममा माईक खोसेका थिए । प्रमुख प्रशासकीय अधिकृत पोखेलले नगर सभा स्थगित गर्ने कुरा चलेको र विधिवतरुपमा सभाको सुरुवात गर्न राष्ट्रिय धुन बजाउन आग्रह गरेलगत्तै कार्कीले माईक खोसेका हुन् ।













0 प्रतिकृया