‘स्थानीय युवाहरूलाई स्वदेशमै काम गर्न प्रोत्साहित गर्न मेरो उम्मेदवारी’ दिनेश चाम्लिङ राई
एक्सन खबर
धरान । सुनसरी उद्योग वाणिज्य संघको असार २० गते हुन गइरहेको निर्वाचनमा युवा व्यवसायी दिनेश चाम्लिङ राईले सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । वर्तमान कार्य समिति सदस्य समेत रहेका राईले पुनः एक कार्यकाल संघमा रहेर युवा उद्योगी व्यवसायीहरूको हक अधिकारका लागि काम गर्ने घोषणा गरेका छन् ।
धरानका युवाहरूलाई स्वदेशमै आत्मनिर्भर हुनुपर्छ भन्ने उद्देश्यका साथ ब्यापार व्यवसायमा सक्रिय दिनेश चाम्लिङ राईले स्थानीय युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न तथा स्वदेशमै केही गर्न सकिन्छ भनेर अभिप्रेरित गर्न काम गर्ने बताए । प्रस्तुत छ यसै विषयमा केन्द्रित रहेर उनीसँग गरिएको कुराकानीको संक्षेपः
सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन कत्तिको लागेको छ ?
सुनसरी उद्योग वाणिज्य संघ हामी उद्योगी व्यवसायीहरूको आवाज घनिभूत गर्ने, हक अधिकारलाई संस्थागत गर्ने साझा संस्था भएकोले यसको निर्वाचन नलाग्ने कुरै भएन । त्यसमाथि मैले पुनः एक कार्यकाल संघमा रहेर स्थानीय युवाहरूका लागि काम गर्ने सोच अनुसार सदस्य पदमा उम्मेदवारी दिएकाले मतदाताहरू माझ आफ्ना एजेण्डा लैजान व्यस्त छु ।
वर्तमान कार्य समितिमा रहेर गरेको कामको स्वमुल्यांकन गर्दा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
स्थानीय युवाहरूलाई व्यापार व्यवसायमा लाग्न प्रेरित गर्न, उद्योगी व्यवसायीहरूका समस्या समाधान गर्न तथा कार्य समितिले दिएको जिम्मेवारी पुरा गर्न म सक्रिय रहें । आफैँले आफ्नो मूल्यांकन गर्नुभन्दा धरानका उद्योगी व्यवसायीहरूले मूल्यांकन गर्नुभएको छ । मैले गरेको कामको मूल्यांकन गरेर नै मलाई पुनः एक कार्यकाल संघमा रहनुपर्छ भन्नु भएकोले उम्मेदवारी दिएको हुँ ।
संघमा पुनः तपाईँको उम्मेदवारी किन र के का लागि ?
उद्योग वाणिज्य संघको निर्वाचनमा मैले पुनः उम्मेदवारी दिनुको कारण स्थानीय युवाहरूलाई स्वदेशमै केही गर्नुपर्छ, स्वदेशमा पनि उद्योग व्यवसाय गरेर राष्ट्रलाई योगदान दिन सकिन्छ भनेर अभिप्रेरित गर्नु हो । धरानको आर्थिक विकास, युवा स्वरोजगार, स्थानीय उद्योगी व्यवसायीका मुद्दाहरूलाई सङ्गठित रुपमा घनिभूत गर्नका लागि मैले पुनः एक कार्यकाल काम गर्नुपर्छ भन्ने साथीभाइहरूकाे सुझाब पाए । साथै, एकै कार्यकालमा आफूले सोचे अनुसार सबै कार्ययोजनालाई पूर्णता दिन नसकिने अवस्था रहेकोले पुनः एक कार्यकाल संघमा रहेर बाँकी रहेका अधुरा कामहरू पुरा गर्ने मेरो लक्ष्य रहेको छ ।
उद्योगी व्यवसायीहरूका साझा समस्याहरू केके रहेछन् ?
कुनैपनि नयाँ युवाले कुनै व्यापार व्यवसाय गर्न चाहन्छ भने उसले के कसरी काम गर्ने ? कुन निकायमा कसरी दर्ता गर्ने, प्यान, भ्याट भनेको के हो ? करको व्यवस्था, दायरा लगायत कम्पनी दर्ता गर्न नै ठूलो झन्झट व्यहोर्नु परिरहेको छ । अर्को कुरा व्यापार व्यवसाय त सुरु गरियो तर, त्यसलाई सहज रुपमा सञ्चालन गर्ने परिस्थिति रहेन । कानुनी, प्रशासनिक देखि सामाजिक झण्झटहरु छन् । नियामक निकायले बेलाबेला दिने अनावश्यक दुखः छन् । बजार व्यवस्थापन, गुणस्तरीयताका कुरा पनि छन् । सुरक्षाको प्रत्याभूति छैन । राज्यका कतिपय नीति निर्माणका कुराले पनि उद्योगी व्यवसायीहरु त्रसित हुनुपरेको छ ।
यी समस्या समाधानमा संघ र तपाईले कस्तो भूमिका निर्वाह गर्नुहुन्छ ?
उद्योग वाणिज्य संघ भनेकै उद्योगी व्यवसायीहरूको हक अधिकारको रक्षार्थ काम गर्ने संस्था हो । कुनपनि उद्योगी व्यापारीलाई आइपर्ने जस्तो सुकै कठिनाईहरुबाट बचाउन संघले काम गर्नुपर्छ । माथिका समस्या हल गर्न एउटा सामान्य व्यापारीले सक्दैन । त्यसका लागि संघ चाहिएको हो । म संघमा रहँदा यस्ता समस्याहरू हल गर्न २४ सै घण्टा खटेर काम गर्नेमा प्रतिबद्ध छु ।
पछिल्लो समय धरानको व्यापार व्यवसाय खस्कँदो छ यसलाई उकास्न के गर्नुपर्ला ?
तपाईले सहि विषय उठाउनु भयो, कुनैबेला नाङ्लोमा सुन फिँजाएर बस्ने धरान आजभोली साँझ नपर्दै सुतिसक्छ । पूर्वी पहाडी जिल्लाहरुको ब्यापारिक नाका थियो धरान । धनकुटा, तेह्रथुम, भोजपुर, उदयपुर जस्ता पहाडी जिल्लाबाट नुनदेखि सुनसम्म खरिद गर्न धरान आउँथे तर, बढ्दो सहरीकरण सँगै पहाडी जिल्लाहरुमा यी सबै सामानहरु पाउन थाले । यो अस्वभाविक पनि हैन । तर, धरानको व्यापार व्यवसायले समयसँगै आफुलाई बदल्न सकेन । फलस्वरुप धरानको अर्थतन्त्र कमजोर हुँदै गयो । चिल्ला सडक, घरअगाडी फुलबारी बनाउँदैमा अर्थतन्त्र बलियो हुँदैन । यो त धरानबासीले सरकारसँग सहकार्य गरेर, विकास निर्माणमा लगानी गरेर भएको हो । राज्यको लगानी छैन ।
कुनैपनि क्षेत्रको विकास गर्ने होभने त्यहाँको आर्थिक, सांस्कृतिक, सामाजिक, भौगोलिक अवस्थालाई अध्ययन गरेर कुन मोडलमा जाने निर्धारण गर्नुपर्छ । धरानलाई कुन अवधारणमा लैजाने भन्ने विषय नै समयमा उठाउन सकिएन । केहीले धरानलाई पर्यटकीय सहर बनाउँ भने, केहीले शिक्षा र स्वास्थ्यलाई ध्यान दिउँ भने, कतिले आवासिय सहर बनाउँ भने । यी सबै नारा गलत त हैनन् तर, ठोस रुपमा आउन सकेनन् ।
अब धरानको आर्थिक क्षेत्रलाई बलियो बनाउन एउटा दिर्घकालिन योजना बनाउन अपरिहार्य छ । मेरो दृष्टिकोणमा धरानलाई अब हामीले पर्यटनसँग जोडेर मात्र यहाँको अर्थतन्त्र चलायमान बनाउन सक्छौं । तर, यसका लागि निजी क्षेत्रसँगै राज्यले पनि लगानी गर्न अपरिहार्य छ । विडम्बना भन्नुपर्छ धरानको हकमा राज्य अर्थात् सरकार कहिल्लै उदार भएन । भएका संरचना समेत उठाउने काम गर्यो ।
अन्त्यमा, आम मतदातालाई के भन्नु हुन्छ ?
यहि असार २० गते हुन गइरहेको सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा मैले पुनः एक कार्यकाल यहाँहरुको सेवा गर्न उम्मेदवारी दिएको छु । वर्तमान कार्यसमितिमा रहेर मैले जे जति काम गरे त्यसलाई मूल्यांकन गर्दै पुनः एकपल्ट काम गर्ने मौका दिनुहोस् भन्दछु ।
0 प्रतिकृया