बलात्कारकाे मुद्दा कमजाेर बनाएकाे भन्दै महान्यायाधिवक्ता विरूद् सर्वाेच्चमा रिट
एक्सन खबर
काठमाडाैं, १६ असार । बालिकामाथि भएको भनिएको बलात्कार घटनाको मुद्दा ‘कमजोर बनाउन दिएको दबाब नमान्दा आफ्नो सरुवा गरेको’ भन्दै सरकारी वकिलले महान्यायाधिवक्ता खम्मबहादुर खातीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा कार्यरत संगीता थोकरले सर्वोच्चमा रिट दायर गरेकी हुन् । रिटको पहिलो पेसी बिहीबारका लागि तोकिएको छ । जिल्ला अदालत ललितपुरमा विचाराधीन एक व्यापारीविरुद्धको बलात्कार मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ता खातीले दबाब दिएको थोकरको दाबी छ ।
सो निर्णयविरुद्ध सुरुमा दिएको निवेदन सर्वोच्चका रजिस्ट्रारले दरपिठ गरेका थिए । सर्वोच्च प्रशासनले दरपिठ गरेपछि उनले इजलासमा निवेदन दिएकी थिइन् । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले निवेदन दर्ता गर्न आदेश दिएको थियो ।
सो आदेशपछि बुधबार सर्वोच्चमा रिट निवेदन दर्ता भएको हो । व्यापारी सुशील चटौतविरुद्ध दर्ता भएको जबर्जस्ती करणी मुद्दामा आफू अभियोजनकर्ता भएको र पटकपटक महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा कमजोर बनाउन दबाब आएको रिटमा जिकिर गरेकी छन् ।
पछिल्लाे समय महान्यायाधिवक्ता खाती विभिन्न विवादमा मुछिएका छन् । सरकारवादी मुद्दा नै कमजाेर बनाउन खाती सक्रिय रहेकाे देखिँदै आएकाे छ ।
पपगायक योगेश्वर अमात्यकाे बारा जिल्लामा रहेको १२ बिघा जमिनको फर्जी लालपुर्जा बनाएर अरुले नै १९ करोड रुपैयाँ ऋण लिएकाे प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानले संगठित गिरोहले आर्थिक ठगी गरेको खुलेकाेमा विशेष सरकारी वकिलको कार्यालयको रायअनुसार सीआईबीले बैंकिङ कसुरमा समेत अनुसन्धान गरेर प्रतिवेदन तयार गरेकाे फायल राेकेर राखेकाेमा खाती मुछिएका छन् ।
यस प्रकरणमा खातीकै निर्देशनमा विशेष सरकारी वकिलको कार्यालयबाट यो प्रकरणमा बैंकिङ कसुरमा मुद्दा चलाउन नसकिने निर्णय गराएको बुझिएकाे छ ।
यस्तै, स्थानीय तह निर्वाचन अन्तरगत बाजुराको बुढीगंगा नगरपालिकाको चुनावमा महान्यायाधिवक्ता खातीले हस्तक्षेप गरेर बिथोल्न खोजेको एउटा सरकारी निकायकै प्रतिवेदनले खुलासा गरेकाे छ । दाजु रंगबहादुर खातीलाई जिताउन महान्यायाधिवक्ताले पदीय मर्यादा उलंघन गरेकाे भनिएकाे छ ।
चुनावका बेला खातीले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, गाउँपालिकाका निर्वाचन अधिकृतलाई बारम्बार फोन गरेर अनुचित दबाब दिएको निर्वाचन आयोगको छानबिन प्रतिवेदनले किटान गरेको छ । पदीय दायित्वविपरीत काम गरेको भन्दै खातीलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेकाले स्पष्टीकरण सोध्नुपर्ने निर्वाचन आयुक्त सगुनशमशेर राणासहितको टोलीले तयार पारेको स्थलगत प्रतिवेदनले सिफारिस गरेतापनि उनी उम्किइरहेका छन् ।
बालुवाटार जग्गा हिनामिना प्रकरणको किर्ते मुद्दा अदालत नपुग्नुमा समेत खातीको संलग्नता रहेकाे भन्दै चाैतर्फी आलाेचना भइरहेकाे छ । गएकाे पुसमा प्रहरीको सीआईबीले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लगेर कारोबार गर्नेहरूमाथि अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालयमा बुझाएता पनि काठमाडौं सरकारी वकिलको कार्यालयले अनुसन्धान पूर्ण नभएको भन्दै फाइल फर्काइदिएको थियो ।
यस्तै, महान्यायाधिवक्ताको कार्यालयले ज्यान मार्ने उद्योगसम्बन्धी एउटा मुद्दाका आरोपितलाई समेत छुटाउन सकिने राय सरकारलाई दिएकोमा खातीकाे विराेध भइरहेकाे छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर, समाजशास्त्रका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका नेताको मुद्दा फिर्ता लिन सकिने राय महान्यायाधिवक्ताको कार्यालयले जेठमा पठाइसकेको छ ।
असोज ०७७ मा चलाउनेमाथि त्रिवि नेविसंघका नेता हरिप्रसाद आचार्य र योगेन्द्र रावलको योजनामा विश्वविद्यालयबाहिरका मानिस लगेर हमला गरिएको थियो । प्रहरीले नेविसंघका नेताद्वय आचार्य र रावललाई योजनाकार बनाएर ७ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाएकोमा फरार रहेका आचार्य र रावल अदालतमा हाजिर भएर धरौटीमा छुटेका थिए । कांग्रेस सत्तामा आउनासाथै उनीहरूको मुद्दा फिर्ता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत प्रक्रिया अगाडि बढेको थियो ।
यस्तै, अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगका तत्कालिन आयुक्त राजनारायण पाठक समेत जाेडिएकाे नेपाल इन्जिनियरिङ कलेजकाे नक्कली कम्पनी खडा गरी सामाजिक सम्पत्ति व्यक्तिकाे नाममा पार्न खाेज्ने लम्बाेदर न्याैपानेसँग समेत खातीकाे नाम जाेडिएकाे छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सामाजिक शैक्षिक संस्थाकाे रूपमा दर्ता भई सञ्चालित नेपाल इन्जिनियरिङ कलेजलाई लम्बाेदर न्याैपानेले तत्कालिन अन्य सञ्चालकहरू समेतलाई गुमराहमा पारी कम्पनी रजिष्ट्रार कार्यालयमा नेपाल इन्जिनियरिङ कलेज प्रा.लि. नामक एकल कम्पनी खडा गरी कलेजकाे चलअचल सम्पत्ति एकल बनाउन खाेजेका थिए । त्यसका लागि न्याैपानेले तत्कालिन समयमा अख्तियार लगायत १४ वटा सरकारी कार्यालयमा परेकाे उजुरी मिलाउन अख्तियारका पाठकलाई ७८ लाख घुस दिएकाे खुलेकाे थियाे ।
कलेजकाे साेहि प्रकरणमा सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले २ वर्ष लगाएर कलेजमा भएका अनियमितता छानविन गर्दै सरकारी वकिलकाे कार्यालय मार्फत विषेश अदालतमा मुद्दा दर्ता गर्न सफल भएतापनि खातीले उक्त मुद्दाकाे पेशी नचढाउन चलखेल गरेकाे आराेप पनि छ ।
महान्यायाधिवक्ता खाती प्रधानमन्त्री शेरबहादुर देउवाका खास मान्छे हुन् । सरकारवादी मुद्दालाई बलियाे बनाउन र न्यायालयमा रहेका विक्रिति विसंगतिहरू न्यूनिकरणमा उनकाे सकारात्मक भूमिका निर्वाह हुनुपर्नेमा उल्टै विचाैलिया, अपराधीहरूसँग जाेडिनु दुखःद भएकाे नेपाल बार एशाेसिएसनका एक सदस्यले बताए । ‘महान्यायाधिवक्ताले पदीय मर्यादा बाहिर गएर न्यायालयमा हस्तक्षेप गर्ने, मुलुकी ऐन सम्बन्धी केसमा पनि हात हाल्ने, सरकारकै पक्षका मुद्दाहरू कमजाेर बनाउन खाेज्नु गलत हाे ।’ उनले भने ।
0 प्रतिकृया