कोइराला पक्षको निष्कर्ष: देउवा एकलौटी अघि बढे
एक्सन खबर
काठमाडौं, १६ असार । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेलाले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अघि बढेको निष्कर्ष निकालेको छ ।
बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको कोइराला पक्षको बैठकले देउवाले महाधिवेशनपछिको प्रतिवद्धता विपरित एकलौटी रुपमा अघि बढिरहेको निष्कर्ष निकालेको हो । भेलामा सहभागी सहमहामन्त्री जीवन परियारका अनुसार पार्टीमा कुनै सरसरल्लाह नगर्ने र भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा देउवाले एकलौटी गरेका हुन् ।
भेलामा बाेल्दै नेता डा. शेखर काेइरालाले वर्तमान सरकार माओवादी केन्द्रले चलाएको जस्तो देखिएको बताए । कोइरालाले सरकारको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गरेपनि माओवादीले चलाएको सरकार भन्ने सन्देश गएकाे जिकीर गरे ।
अर्थ मन्त्रालयमा अरबौँको चलखेल र लेनदेनमा मन्त्री मुछिए पनि प्रधानमन्त्रीले किन कारबाही नगरेको भनी देउवालाई प्रश्न गरे ।‘अर्थमन्त्रालयमा भएको अरबौँको चलखेल र लेनदेनबाट मन्त्री आरोपित छन् । प्रधानमन्त्रीले किन कारबाही नगरेको ? के स्वार्थ छ ?’ डा. शेखरले प्रश्न गरे ।
उनले राष्ट्रहित र आम नागरिकको हित भन्दा कांग्रेस पार्टी र सभापति देउवाको किमार्थ अरू कुनै हित हुन नहुने बताउँदै चुनाव अगाडि भएका यस्ता जघन्य आर्थिक विचलनले मुलुकलाई बर्बाद मात्र गर्दैन व्यवस्था नै नागरिकको कठघरामा उभिने दावी गरे ।
उनले कम्युनिस्ट विभाजनपछि पनि कांग्रेसका लागि कुनै पनि निर्वाचन क्षेत्र सुरक्षित नरहेको पनि बताए । पार्टी नेतृत्वका कारण कांग्रेस बलियो हुन नसकेको डा. शेखरकाे दावी छ । अहिले फेरि कम्युनिस्ट एकताबारे बहस चलिरहेको भन्दै उनले कांग्रेस बलियो शक्ति बन्नुपर्नेमा जोड दिए । तर, पार्टी सभापति शेरबहादुर देउवा विधानअनुसार नचल्दा समस्या देखिएको उनको भनाइ छ ।
पार्टीमा छलफल र सरसल्लाह गरेर अघि बढ्छु भनेर देउवाले महाधिवेशनपछि गरेको प्रतिवद्धता पूरा नगरेको कोइराला पक्षको आरोप छ । भ्रातृ संस्थामा नियुक्त गर्दा देउवाले आफूखुसी नियुक्ति गरेका थिए ।
डा. शेखर पक्षकाे बैठक भाेली पनि बस्नेछ ।
0 प्रतिकृया