दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ
एक्सन खबर
सउल, १७ असार । अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली दक्षिण कोरियामा पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा उनीहरू पक्राउ परेकाे बताइएकाे छ ।
पक्राउ परेका नेपालीहरुको नाम ठेगाना नखुलाइए पनि ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ ।
चार जना नेपालीहरु कृषि तथा माछा पालन मौसमी काम (इ–८)को रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका अध्यागमन अधिकारीले बताएका छन् । अन्य नौ जना बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् ।
उनीहरुमध्ये दुई जनाले दक्षिण कोरियाका प्रतिनिधिसँग मिलेर मौसमी कामदारको रुपमा प्रवेश गर्ने नेपालीलाई गैरकानुनी रुपमा रोजगारीमा लैजाने र मध्यस्थता गरिदिएवाफत रकम असुल्ने गरेकाे समेत पाइएकाे छ ।
वैदेशिक रोजगार ऐनकाे विधि, पद्धति र प्रक्रिया विपरीत स्थानीय तहहरुले दक्षिण कोरियाका स्थानीय तहबाट कागजात मगाएर मौसमी कामदार पठाउने गरेकाे यसअघि नै खुलेकाे थियाे ।
0 प्रतिकृया