Follow us:


Follow us

२ वैशाख २०८३, बुधवार
२ वैशाख २०८३, बुधवार


उदयपुरकाे त्रियुगामा आएको बाढीले विभिन्न स्थानका तटबाँध बगायो

एक्सन खबर
असार, १९, २०७९


उदयपुरकाे त्रियुगामा आएको बाढीले विभिन्न स्थानका तटबाँध बगायो

उदयपुर, १८ असार । उदयपुरको त्रियुगा नदी नियन्त्रणका लागि निर्माण गरिएको उच्च गुणस्तरको भनिएको तटबाँध विभिन्न स्थानमा बाढीले बगाएको छ । सदरमुकाम गाईघाट हुँदै सप्तकोसीसम्म जोडिएको त्रियुगा नदी नियन्त्रण गर्न नेपाल सरकारले छुट्टै गुरुयोजना बनाएर काम गर्दै आएको छ ।

उदयपुरको वेलका नगरपालिका वडा नम्बर १ आमवासिस्थित त्रियुगा नदी व्यवस्थापन आयोजना कार्यालयले त्रियुगा नदीको दुवै किनारामा तटबाँध निर्माण गरी नदी नियन्त्रणको कामलाई द्रुत गतिमा अगाडि बढाउँदै गरेको अवस्थामा शुक्रबार राती परेको अविरल वर्षपछि आएको बाढीले चौदण्डिगढी नगरपालिका क्षेत्रमा विभिन्न स्थानमा तटबाँध बगाएको आयोजना प्रमुख डिइ रेवाकान्त यादवले जानकारी गराएको छ ।

चौदण्डिगढी नगरपालिका वडा नम्बर १० स्थित शिवनगर र बाहुन्ना खोला दोभानमा गरी करिब दुई सय ५० मिटर तटबाँध बगाएकोले त्यस क्षेत्रमा ठूलो परिमाणमा हालै रोपाई गरिएको धानबाली लाई क्षति पुर्‍याएको र तत्काल रोकथामको लागि भरपर्दो व्यवस्था नगरिएमा बकैनिया, विष्णुजग, रुद्रजग र हडिया बजार क्षेत्र समेत बाढीको उच्च जोखिममा परेकोले ठूलो क्षति हुन सक्ने वडा नम्बर १० का वडा अध्यक्ष धर्मराज खड्काले बताए ।

त्यसैगरी चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ स्थित बेल्हा क्षेत्रमा पनि बाढीले बाँध बगाएको छ । बेल्हा क्षेत्रमा करिब २५ मिटर लामो तटबाँध त्रियुगाको बाढीले बगाउँदा त्यस क्षेत्रको करिब १० बिगाहा धान खेत नष्ट भएको स्थानीय बासिन्दा रामकुमार चौधरीले बताए  ।

छ वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी त्रियुगा नदी नियन्त्रणका लागि आठ अर्ब १५ करोड रुपियाँको लागत इष्टमेट सहितको विस्तृत परियोजना प्रतिवेदन अनुरूप चालु आर्थिक वर्षमा गजुरमुखी कान्छाराम बुद्धहिमाली जेबी काठमाडौँ र कालिका शर्मा कुमार जेबी कन्ट्रक्सन काठमाडौँको निर्माण कम्पनीबाट दुवै तर्फ तटबाँध निर्माणको काम गर्दै आएको थियो । यसरी बिच बिचमा बाढीले बगाएमा निर्माण कम्पनीले नै पुनः निर्माण गर्नुपर्ने र त्यसो नगरेमा भुक्तानी नै रोक्का हुने प्रावधान रहेको डिई यादवले जानकारी दिए ।

त्रियुगा नगरपालिकाको होक्से कालिखोलादेखि सप्तकोसीसम्म ४२ किलोमिटर लामो यस त्रियुगा नदीको  एक हजार तीन सय वर्ग किलोमिटर जल बहाव क्षेत्र रहेको छ । तीन हजार एक सय लिटर प्रतिसेकेन्ड पानीको बहाव रहेको र चुरे तथा महाभारत पहाडमा मुहान भएका २५ ओटा अन्य सहायक खोला खहरेहरू त्रियुगामा मिसिने गरेको पाइन्छ ।

अनियन्त्रित चुरे दोहनले त्रियुगा नदीको चौडाइ वर्षेनी बढिरहेको अवस्थामा १९ मिटर बेसमा साढे ३ मिटर उचाइ र माथिको भाग पाँच मिटर चौडाइ रहेको दुवैतर्फ गरी १२ दशमलव ६७ किलोमिटर लामो बाँध बनाएर एका तर्फ ६ मिटरको स्लोभमा तार जाली लगाउने र अर्काेपट्टी मलिलो माटो बिछ्याएर चपरी लगाइएकाे छ ।

यस किसिमको उच्च गुणस्तरको तटबाँध निर्माणको काम हुँदै आएको भए पनि सहायक २५ वटा खोला तथा खहरे किनारा स्थिरिकरण नगरिँदा निर्माण गरिएका तटबाँध बगाउने समस्या हुने बताए ।














0 प्रतिकृया