Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


नोबेल र केएमसीले खेलाडीहरुलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने

एक्सन खबर
असार, २०, २०७९


नोबेल र केएमसीले खेलाडीहरुलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने

विराटनगर, २० असार । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पीक, साफ र एसियन खेलकुदमा सहभागी नेपाली खेलाडीलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने भएका छन् । ओलम्पीकमा सहभागी नेपाल भरका सबै खेलाडी तथा साफ र एसियन खेलकुदमा सहभागी प्रदेश १ का खेलाडीहरुले निःशुल्क उपचार पाउने भएका हुन् ।

खेलाडीका परिवारका सदस्यलाई पनि नोबेल र केएमसीले ५० प्रतिशत छुटमा उपचार गर्नेछ । प्रदेश १ खेलकुद विकास बोर्डले आइतबार विराटनगरमा आयोजना गरेको प्रदेश १ का साफ, एसियन र ओलम्पीक खेलाडी सम्मान कार्यक्रममा निःशुल्क तथा सहुलियतपूर्ण उपचारको सम्झौता भएको हो । यो बिषयमा नेपाल ओलम्पियन्स एशोसिएसन काठमाडौं र प्रदेश १ खेलकुद विकास बोर्ड विराटनगरले नोबेल र केएमसीसँग छुट्टा–छुट्टै सम्झौता गरेका छन् ।

प्रदेश १ खेलकुद विकास बोर्डसँग भएको सम्झौता पत्रमा काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा.सुनिल शर्मा, नोबेलका प्रवन्ध निर्देशक इन्दिरा शर्मा बराल र प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले हस्ताक्षर गरेका छन् ।

त्यस्तै, ओलम्पियन्स एशोसिएसनसँग भएको सम्झौतामा पनि काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा.शर्मा, नोबेलका प्रवन्ध निर्देशक बराल र एशोसिएसनका अध्यक्ष दिपक बिष्टले हस्ताक्षर गरेका छन् । कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्काबीच साटासाट गरिएको थियो ।

सम्झौता अनुसार अन्तर्राष्ट्रिय खेलकुद ओलम्पीकमा भाग लिएका देशभरका सम्पूर्ण खेलाडीले नोबेल र केएमसीमा निःशुल्क उपचार पाउँनेछन् । साफ र एसियन खेलकुदमा सहभागी प्रदेश १ का सम्पूर्ण खेलाडीहरुलाई पनि नोबेल र केएमसीले निःशुल्क उपचार गर्नेछ । उनीहरुले दुवै अस्पतालको क्याबिनमा रहेर उपचार गराउँदा पनि शुल्क लाग्ने छैन । ओलम्पिकमा हालसम्म नेपालका ८८ खेलाडीले भाग लिएका छन् । जसमध्ये १० जनाको मृत्यु भइसकेको छ । यता, प्रदेश १ का २२५ खेलाडीले साफ र एसियन खेलकुदमा भाग लिएका छन् । उनीहरुले निःशुल्क उपचार सेवा पाउँनेछन् ।

यता, ती खेलाडीका आमा–वुवा, श्रीमान–श्रीमती तथा छोरा–छोरीको उपचारमा पनि दुवै अस्पतालले ५० प्रतिशत छुट दिने सम्झौता पत्रमा उल्लेख छ । निःशुल्क तथा उपचारमा छुट पाउनेहरुलाई नोबेल र केएमसीले उपलब्ध गराएको छुट कार्डको आधारमा सेवा दिइनेछ । आइतबार बाटै यो सम्झौता लागू भएको छ ।

कार्यक्रममा बोल्दै केएमसीका कार्यकारी अध्यक्ष डा.शर्माले देशको प्रतिनिधित्व गर्दै खेल्ने खेलाडीहरुको समस्यालाई मध्यनजर गर्दै निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिए । ‘खेलाडीहरुले आफ्नो देशको नाम राख्नका लागि कडा मेहनतले खेलिरहेका हुन्छन्, उनीहरुको जीवननै त्यसैमा समर्पित भइरहेको हुन्छ,’ डा.शर्माले भने, ‘देशका निम्ती खेल्ने खेलाडीहरुका आफ्नै पीडा व्यथा छन्, उनीहरुले कुनै रोग लाग्दा उपचार गर्ने पैसा छैन भन्न पनि अफ्ठेरो भइरहेको हुन्छ, यस्तो समस्यालाई बुझेर निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हौं ।’

डा.शर्मा दम्पतीकाे  मुख्यमन्त्रीले खुलेर गरे प्रशंसा

विराटनगर, २० असार । नेपाली खेलाडीहरुलाई निःशुल्क उपचारको व्यवस्था मिलाइदिने केएमसीका कार्यकारी अध्यक्ष डा.सुनिल शर्मा र नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्मा बराललाई कार्यक्रममा सम्मान गरिएको छ । कार्यक्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राईले डा.शर्मा र बराललाई सम्मान पत्र प्रदान गरी सम्मानित गरे ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री राईले नेपाली खेलाडीको उपचार गर्न चन्दा उठाउँनुपर्ने अवस्था रहेको प्रति दुखः व्यक्त गर्दै खेलाडीको समस्यालाई मध्यनजर गर्दै निःशुल्क उपचारको व्यवस्था मिलाइदिएको प्रति नोबेल र केएमसीलाई धन्यवाद ज्ञापन गरे । उनले शर्मा दम्पतीको जस्तो फराकिलो छाति भएकाहरुको सहयोगले खेलाडीहरुको उपचारमा सहजता मिलेको भन्दै उनीहरुको प्रशंसा गरे ।

केएमसीका कार्यकारी अध्यक्ष डा.शर्मा र नोबेल अस्पतालका प्रवन्ध निर्देशक बराल श्रीमान–श्रीमती हुन् । सामाजिक सेवाका क्षेत्रमा सक्रिय शर्मा दम्पतीले खेलाडीहरुलाई दुवै अस्पतालवाट निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हुन् ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले निःशुल्क उपचारको व्यवस्था मिलाइदिएको प्रति शर्मा दम्पतीको प्रशंसा गरेका थिए । सो अवसरमा सामाजिक विकास मन्त्री राजन राई, प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्ले, ओलम्पियन्स एशोसिएसनका अध्यक्ष बिष्ट लगायतले पनि डा.शर्मा दम्पतीको खुलेर प्रशंसा गरेका छन् ।

१८७ खेलाडीलाई सम्मान

कार्यक्रममा प्रदेश १ खेलकुद विकास बोर्डले १८७ जना खेलाडीलाई सम्मान गरेको छ । बोर्डले ओलम्पीक, एसियाली र दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रदेश १ बाट सहभागी भएर खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्र्याएको भन्दै खेलाडीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा ओलम्पीकमा सहभागी ६ जना, एसियालीमा सहभागी ४० जना र दक्षिण एसियाली खेलकुदमा सहभागी १ सय ४१ जना खेलाडी छन् । उनीहरूलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सम्मानपत्र प्रदान गरी सम्मानित गरेका हुन् ।

 





















0 प्रतिकृया