Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


मेडिकल शिक्षामा विदेशी विद्यार्थी ल्याएर अर्थतन्त्र किन नउकास्ने ?

एक्सन खबर


मेडिकल शिक्षामा विदेशी विद्यार्थी ल्याएर अर्थतन्त्र किन नउकास्ने ?

बसरुद्दिन अन्सारी

मेडिकल शिक्षाको अवस्था

नेपाललाई अन्तराष्ट्रिय रूपमै मेडिकल शिक्षाका हव बनाउन सकिन्छ । तर, राज्यको नीति नियम बनाउने हरुका नजरमा पर्न सकेन । नेपालको मेडिकल शिक्षा गुणस्तरका हिसाबले विश्वसँग प्रतिष्पर्धा गर्न सक्षम छ । अहिले नेपालमा सरकारी र निजी गरी दुई प्रकारले मेडिकल शिक्षा र स्वास्थ्यमा लगानी भएको छ । सरकारी लगानीमा चलेका मेडिकल कलेज र प्रतिष्ठानहरूले राज्यको खर्चमा मेडिकल शिक्षा प्रदान गर्छन् । निजी लगानीमा खुलेका मेडिकल कलेजहरूले विद्यार्थीहरूबाट शुल्क लिएर पढाउने गर्छन् । मेडिकल शिक्षामा राज्यको लगानी अनुसार करिब २० प्रतिशत मात्र प्रतिफल आउँदा निजी क्षेत्रले ८० प्रतिशत प्रतिफल दिएको छ । सन् १९७२ मा त्रिभुवन विश्वविद्यालय अन्तरगत चिकित्सा शास्त्र अध्ययन संस्थान स्थापना भएको ४ वर्षपछि नेपालमा एमबिबिएस अध्ययनको बाटो खुलेको हो ।

आज २०७९ साल अर्थात एक शताब्दी लाग्दै गर्दा सरकारी तवरबाट जति जनशक्ति उत्पादन भए त्यसको कयौं गुणा बढी निजी तवरबाट उत्पादन भएका छन् । यद्यपि, यस कुरालाई नजरअन्दाज गर्दै पछिल्लो पाँच सात वर्ष यता निजी क्षेत्रको लगानी र योगदानलाई राज्यबाटै अवमूल्यन भइरहेको छ ।

मेडिकल शिक्षाको नाममा राज्यका महत्वपूर्ण पदमा रहने आफू सिन्को नभाँच्ने तर, अरुले गरेको देख्दा ‘महाप्रलय’ आयो जसरी कुर्लने स्वनाम विद्वान्‌हरूको कारण निजी लगानी धराशायी बन्दै गएका छन् । बैंकबाट अरबौं रुपैयाँ कर्जा लिएर शिक्षा र स्वास्थ्यमा लगानी गर्नेहरू अब पलायन हुनुपर्ने भएको छ ।

पछिल्लो समय मेडिकल शिक्षाको क्वालिटीको कुरा गर्दै स्वनाम विद्वानहरूले धारावाहिक रुपमा निजी लगानी माथि प्रहार गर्ने काम भयो । खासगरी पाँच सात वर्षदेखि निरन्तररूपमा निजी मेडिकल कलेजहरू प्रति मात्रै लक्षित गरेर केही मुठ्ठीभरका व्यक्तिहरूले अर्थ न बर्थ ‘गान्धी’ चरित्र देखाउँदा राज्यसमेत उनीहरूका अगाडि निरिह भयो । नारामा चिकित्सा शिक्षाको सुधारको कुरा गर्ने तर, व्यवहारमा निजी लगानीलाई धराशायी बनाउँदै विदेशी विश्वविद्यालय र कलेजहरू पोस्ने अभियान चलाइयो ।

लोकतन्त्रमा सबैले आ–आफ्ना विचारहरु स्वतन्त्र र निर्वाध राख्न पाउनुपर्छ तर, आफ्ना मागहरु राख्दै गर्दा अरुको अधिकार हनन भइरहेको छ भन्ने चैं किन विचार नगरेको ?

गुणस्तरीय शिक्षा अपरिहार्य छ । मेडिकल शिक्षामा व्यापक सुधार हुनुपर्छ हामी सबैको साझा सवाल हो । निजी क्षेत्रले कुनै दिन चिकित्सा शिक्षाको सुधार र स्तरोन्नतिका विरुद्ध औंला उठाएको छैन । तर, राज्यकै नीति नियम र परिधिमा रहेर व्यवसाय गर्न पाउनु हाम्रो संविधान प्रदत्त अधिकार पनि त हो । राज्यकै नीति नियममा रहेर मेडिकल कलेज चलाउन पाउनु पर्छभन्दा मेडिकल माफियाको विल्ला लगाउने काम भइरहेकोमा हाम्रो विमति हो । लोकतन्त्रमा सबैले आ–आफ्ना विचारहरु स्वतन्त्र र निर्वाध राख्न पाउनुपर्छ तर, आफ्ना मागहरु राख्दै गर्दा अरुको अधिकार हनन भइरहेको छ भन्ने चैं किन विचार नगरेको ? मेडिकल शिक्षा सुधारका नाममा भइरहेको आन्दोलनले यो विषयलाई किन ध्यान नदिएको ? नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ यसमा कसैको विमती छैन तर, निजी क्षेत्रको नाम लिने वित्तिकै ‘माफिया, लुटेरा, दलाल’ जस्ता शब्दावली प्रयोग गर्दै थपडी बनाउनु चैं कस्तो अधिकार हो ? राज्यलाई करोडौं राजश्व बुझाएर अर्थतन्त्रमा टेवा पुरयाउँदा दिइने पगरी हो ‘माफिया’ ?  

 गलत नीतिका कारण आएनन् विदेशी विद्यार्थी

नेपालको मेडिकल शिक्षा बलियो भएर विदेशी विद्यार्थीहरू समेत अध्ययनका लागि आउने गर्दथे । तर, पछिल्लो समय नेपालमा मेडिकल शिक्षा हासिल गर्न विदेशी विद्यार्थीहरू आउनै छाडेका छन् । यसको एउटै कारण हो राज्यको नीति । राज्यले विदेशी विद्यार्थीका हकमा उसको देशको प्रवेश परीक्षा पास गरेको वा नेपाल आएर प्रवेश परीक्षा दिएर पास हुनुपर्ने भनेको छ । तर, यो प्रावधान विदेशी विद्यार्थीका लागि अनुकूल देखिएन ।

यसपल्ट अधिकांश मेडिकल कलेजमा विदेशी विद्यार्थीको सिट खाली छ । कूल ५५७ सिट विदेशी विद्यार्थीका लागि छुट्याइएकोमा देशका सबै मेडिकल कलेजको तथ्यांक अनुसार २३६ सिट मात्र भरिएको छ । यसको मुख्य कारण भनेको चिकित्सा शिक्षा आयोगले लिने एकीकृत परीक्षा प्रणाली हो । नेपाली विद्यार्थीका हकमा यो प्रणाली सहज भएपनि विदेशी विद्यार्थीको हकमा सही भएन । त्यसमाथि नेपालमा एमबिबिएसको भर्ना कहिले खुल्छ, कहिले परीक्षा हुन्छ निश्चित ठेगान हुँदैन । अहिले एमबिबिएस, बिएमएस, बिडिएस, बिएनएस एडल्ट नर्सिङ, बिएनएस कम्युनिटी नर्सिङ, बिएनएस क्रिटिकल केयर, बिएनएस पेडियाट्रिक नर्सिङ, बोप्टोमेट्री, बिपिएच, बिफार्म, बिपिटीमा विदेशी कोटामा नगन्य विद्यार्थी भर्ना भएका छन् । यस विषयमा आयोगले समयमै ध्यान दिन सकेन भने आउँदा वर्षहरूमा झनै विदेशी विद्यार्थीहरू घट्ने निश्चित छ ।

मानौं कुनै एउटा विदेशी विद्यार्थीले नेपालमा एमबिबिएस अध्ययन गर्न चाह्यो भने पहिला उसले नेपालमा आएर फर्म भर्नुपर्छ । त्यसपछि काउन्सिलिङमा बस्नुपर्छ । विश्वविद्यालयमा जानुपर्ने अनि प्रवेश परीक्षा दिनुपर्ने प्रावधान छ । त्यसपछि पनि उसले आफूले चाहेको मेडिकल कलेजमा भर्ना हुन पाउँदैन । यो एकदमै लामो र अव्यवहारिक प्रक्रिया भयो । योपल्ट गएको चैतदेखि सुरु भएको भर्ना प्रक्रिया अहिलेसम्म टुंगिएको छैन । नेपाली विद्यार्थीहरूले भर्ना भइसकेर पठनपाठनमा सहभागी भएको महिनौँ भइसक्दा विदेशी विद्यार्थीहरूको भर्ना प्रक्रिया चैं सकिएको छैन । नेपालको शिक्षा प्रणाली विदेशी विद्यार्थीका लागि कम्फरटेवल नभएको यही हो । यदि यसलाई सहज बनाउने हो भने नेपालको मेडिकल शिक्षालाई अन्तर्राष्ट्रियस्तरको बनाउँदै वर्षेनी हजारौं विदेशी विद्यार्थी भित्राउन सकिन्थ्यो

 गुणस्तर घटाउन हैन विमति

विश्वमा यस्ता धेरै देशहरू छन् जसको आर्थिक सूचकाङ्कमा शिक्षा पहिलो नम्बरमा आउँछ । अष्ट्रेलियाको कुरा गर्दा त्यहाँको अर्थतन्त्र नै विदेशी विद्यार्थीको शुल्कबाट चलेको छ । क्यानडा, बेलायत तथा धेरै युरोपियन देशहरूको अर्थतन्त्रमा विदेशी विद्यार्थीले भुक्तान गरेको शुल्कको भूमिका छ । दक्षिण एसियाली राष्ट्रहरूको कुरा गर्दा भारतमा प्राविधिक शिक्षा हासिल गर्न धेरै देशबाट विद्यार्थी आउँछन् । बेङ्लोर, सिमला, दार्जिलिङ आज शैक्षिक हव बनेका छन् ।  बङ्गलादेशमा पनि विदेशी विद्यार्थीलाई अध्ययनका लागि धेरै सहज हुँदैछ । पछिल्लो समय चीन, रसिया जस्ता देशहरू विदेशी विद्यार्थीको गन्तव्य बनेका छन् । तर, नेपालमा भने विदेशी विद्यार्थी भित्र्याउनको कुरा त छाडौं आफ्नै देशका नागरिकलाई समेत विदेश पठाउने अभियान चलेको छ । विदेशी विश्वविद्यालय र कलेजका एजेन्टहरूले घरघर छिरेर विद्यार्थी बटुल्ने काम भइरहेका छन् ।

मेडिकल शिक्षाको सुधारका लागि भन्दै चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा लिने गरेकामा हामीले स्वागत गरेकै हो । तर, त्यसमा रहेका कतिपय अव्यवहारिक कुराहरू सुधार्नु जरुरी छ । आयोगले लिने प्रवेश परीक्षाको गुणस्तर घटाउन हाम्रो विमति हैन । प्रणालीलाई व्यवस्थापन र छिटो कसरी बनाउनु पर्छ भन्ने हो ।


नेपालको मेडिकल शिक्षालाई अन्तराष्ट्रिय स्तरको बनाउँदै विदेशी विद्यार्थीका लागि सहज वातावरण बनाउने हो भने मेडिकल शिक्षाकै कारण हाम्रो अर्थतन्त्र बलियो बन्नसक्छ ।

नेपाल पनि श्रीलंकन पथमा जाला ?

लगातार २ वर्षयता चलिरहेको विश्वव्यापी कोरोना महामारी अझै निमिट्यान्न भएको छैन । पुरा विश्वकै स्वास्थ्य क्षेत्र र अर्थतन्त्रलाई थिलथिलो बनाउने गरी फैलिएको यो महामारी सँगै विगत ६ महिना यता युक्रेन र रुसबीचको द्वन्द्वले दक्षिण एसिया, युरोपसँगै अमेरिकासमेत प्रभावित भएका छन् । युक्रेन–रुस युद्धकै कारण विश्व बजारमा इन्धनको अभाव छ । इन्धन अभावकै कारण श्रीलंका टाट पल्टिएको छ । यससँगै दक्षिण एसियाकै विकासको पथमा बामे सर्दै गरेको हाम्रो देश पनि श्रीलंकन पथमा जान्छ कि भन्ने त्रास फैलिएको छ ।

नेपालको अर्थतन्त्र स्थायी प्रकृतिको छैन । नेपाली उखान ‘लुटी ल्यायो भुटी खायो’ अर्थात् आज कमाएर भोलि खाने प्रकृतिको चलायमान अर्थतन्त्र भएको मुलुकले खर्बौं विदेशी डलर सञ्चित गरेर राख्न सक्ने कुरा भएन । त्यसमाथि २ दशकयता नेपालको निर्यात ओरालोलाग्दो आयातको सूचकांकले सगरमाथा छोएको छ । नुनदेखि नुनसम्म, भान्साकोठादेखि शौचालयसम्म प्रयोग हुने ९० प्रतिशत साधन आयात हुने गर्दछ । कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न सकिएको छैन । उद्योग व्यवसायहरु रुग्ण छन् । स्वदेशी उत्पादनले विदेशी उत्पादनसँग प्रतिष्पर्धा गर्ने अवस्था छैन । पर्यटन क्षेत्र सुसुप्त छ । बेरोजगारी बढ्दा युवा शक्ति पलायन भइरहेका छन् । खाडीको प्रचण्ड गर्मीमा कठोर श्रम गर्न जाने युवाहरुको ताँती छ ।

अर्थतन्त्र उकास्ने आधार विदेशी विद्यार्थी

यस्तो परिस्थितिमा नेपालको मेडिकल शिक्षालाई अन्तराष्ट्रिय स्तरको बनाउँदै विदेशी विद्यार्थीका लागि सहज वातावरण बनाउने हो भने मेडिकल शिक्षाकै कारण हाम्रो अर्थतन्त्र बलियो बन्नसक्छ । विदेशी विद्यार्थीलाई नेपालमा आएर अध्ययन गर्ने सहज नीति बनाइदिने हो भने मेडिकल शिक्षासँगै मुलुकको पर्यटन क्षेत्रको पनि विकास हुन्छ ।

एमविविएस गर्न आएको एउटा विदेशी विद्यार्थीले सरदर ७५ हजार डलर अर्थात् एक करोडको हाराहारीमा भुक्तानी गर्छ । त्यसवाहेक उसले आफ्नो व्यक्तिगत खर्च, परिवारबाट आउँदा उनीहरुले गर्ने खर्च छुट्टै छ । सामान्यतया वर्षमा एक हजार विदेशी विद्यार्थीलाई नेपालमा मेडिकल शिक्षाका लागि बाटो खुलाउने हो भने उनीहरुबाट करोडौं डलर नेपाल भित्रिन्छ । जसले नेपालको अर्थतन्त्र, मेडिकल शिक्षा र पर्यटन तीनै क्षेत्रको विकासमा टेवा पुग्छ । खस्कँदो अर्थतन्त्र उकास्न र विदेशी डलर भित्र्याउने एउटा बलियो आधार बन्न सक्छ मेडिकल शिक्षा ।

तर, विडम्बना हामी कहाँ त आफ्नै देशका विद्यार्थीलाई विदेश पठाएर उनीहरुसँगै अरबौं रुपैंया बाहिर पठाउने धन्धा मौलाएको छ । स्वदेशी पुँजी र लगानीलाई निमिट्यान्न पार्ने खेल भइरहेको छ ।
कुराकानीमा आधारित
अन्सारी, नेपाल मेडिकल कलेजका प्रवन्ध निर्देशक हुन् ।

 













0 प्रतिकृया