मेडिकल शिक्षामा विदेशी विद्यार्थी ल्याएर अर्थतन्त्र किन नउकास्ने ?
एक्सन खबर
बसरुद्दिन अन्सारी
मेडिकल शिक्षाको अवस्था
नेपाललाई अन्तराष्ट्रिय रूपमै मेडिकल शिक्षाका हव बनाउन सकिन्छ । तर, राज्यको नीति नियम बनाउने हरुका नजरमा पर्न सकेन । नेपालको मेडिकल शिक्षा गुणस्तरका हिसाबले विश्वसँग प्रतिष्पर्धा गर्न सक्षम छ । अहिले नेपालमा सरकारी र निजी गरी दुई प्रकारले मेडिकल शिक्षा र स्वास्थ्यमा लगानी भएको छ । सरकारी लगानीमा चलेका मेडिकल कलेज र प्रतिष्ठानहरूले राज्यको खर्चमा मेडिकल शिक्षा प्रदान गर्छन् । निजी लगानीमा खुलेका मेडिकल कलेजहरूले विद्यार्थीहरूबाट शुल्क लिएर पढाउने गर्छन् । मेडिकल शिक्षामा राज्यको लगानी अनुसार करिब २० प्रतिशत मात्र प्रतिफल आउँदा निजी क्षेत्रले ८० प्रतिशत प्रतिफल दिएको छ । सन् १९७२ मा त्रिभुवन विश्वविद्यालय अन्तरगत चिकित्सा शास्त्र अध्ययन संस्थान स्थापना भएको ४ वर्षपछि नेपालमा एमबिबिएस अध्ययनको बाटो खुलेको हो ।
आज २०७९ साल अर्थात एक शताब्दी लाग्दै गर्दा सरकारी तवरबाट जति जनशक्ति उत्पादन भए त्यसको कयौं गुणा बढी निजी तवरबाट उत्पादन भएका छन् । यद्यपि, यस कुरालाई नजरअन्दाज गर्दै पछिल्लो पाँच सात वर्ष यता निजी क्षेत्रको लगानी र योगदानलाई राज्यबाटै अवमूल्यन भइरहेको छ ।
मेडिकल शिक्षाको नाममा राज्यका महत्वपूर्ण पदमा रहने आफू सिन्को नभाँच्ने तर, अरुले गरेको देख्दा ‘महाप्रलय’ आयो जसरी कुर्लने स्वनाम विद्वान्हरूको कारण निजी लगानी धराशायी बन्दै गएका छन् । बैंकबाट अरबौं रुपैयाँ कर्जा लिएर शिक्षा र स्वास्थ्यमा लगानी गर्नेहरू अब पलायन हुनुपर्ने भएको छ ।
पछिल्लो समय मेडिकल शिक्षाको क्वालिटीको कुरा गर्दै स्वनाम विद्वानहरूले धारावाहिक रुपमा निजी लगानी माथि प्रहार गर्ने काम भयो । खासगरी पाँच सात वर्षदेखि निरन्तररूपमा निजी मेडिकल कलेजहरू प्रति मात्रै लक्षित गरेर केही मुठ्ठीभरका व्यक्तिहरूले अर्थ न बर्थ ‘गान्धी’ चरित्र देखाउँदा राज्यसमेत उनीहरूका अगाडि निरिह भयो । नारामा चिकित्सा शिक्षाको सुधारको कुरा गर्ने तर, व्यवहारमा निजी लगानीलाई धराशायी बनाउँदै विदेशी विश्वविद्यालय र कलेजहरू पोस्ने अभियान चलाइयो ।
लोकतन्त्रमा सबैले आ–आफ्ना विचारहरु स्वतन्त्र र निर्वाध राख्न पाउनुपर्छ तर, आफ्ना मागहरु राख्दै गर्दा अरुको अधिकार हनन भइरहेको छ भन्ने चैं किन विचार नगरेको ?
गुणस्तरीय शिक्षा अपरिहार्य छ । मेडिकल शिक्षामा व्यापक सुधार हुनुपर्छ हामी सबैको साझा सवाल हो । निजी क्षेत्रले कुनै दिन चिकित्सा शिक्षाको सुधार र स्तरोन्नतिका विरुद्ध औंला उठाएको छैन । तर, राज्यकै नीति नियम र परिधिमा रहेर व्यवसाय गर्न पाउनु हाम्रो संविधान प्रदत्त अधिकार पनि त हो । राज्यकै नीति नियममा रहेर मेडिकल कलेज चलाउन पाउनु पर्छभन्दा मेडिकल माफियाको विल्ला लगाउने काम भइरहेकोमा हाम्रो विमति हो । लोकतन्त्रमा सबैले आ–आफ्ना विचारहरु स्वतन्त्र र निर्वाध राख्न पाउनुपर्छ तर, आफ्ना मागहरु राख्दै गर्दा अरुको अधिकार हनन भइरहेको छ भन्ने चैं किन विचार नगरेको ? मेडिकल शिक्षा सुधारका नाममा भइरहेको आन्दोलनले यो विषयलाई किन ध्यान नदिएको ? नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ यसमा कसैको विमती छैन तर, निजी क्षेत्रको नाम लिने वित्तिकै ‘माफिया, लुटेरा, दलाल’ जस्ता शब्दावली प्रयोग गर्दै थपडी बनाउनु चैं कस्तो अधिकार हो ? राज्यलाई करोडौं राजश्व बुझाएर अर्थतन्त्रमा टेवा पुरयाउँदा दिइने पगरी हो ‘माफिया’ ?
गलत नीतिका कारण आएनन् विदेशी विद्यार्थी
नेपालको मेडिकल शिक्षा बलियो भएर विदेशी विद्यार्थीहरू समेत अध्ययनका लागि आउने गर्दथे । तर, पछिल्लो समय नेपालमा मेडिकल शिक्षा हासिल गर्न विदेशी विद्यार्थीहरू आउनै छाडेका छन् । यसको एउटै कारण हो राज्यको नीति । राज्यले विदेशी विद्यार्थीका हकमा उसको देशको प्रवेश परीक्षा पास गरेको वा नेपाल आएर प्रवेश परीक्षा दिएर पास हुनुपर्ने भनेको छ । तर, यो प्रावधान विदेशी विद्यार्थीका लागि अनुकूल देखिएन ।
यसपल्ट अधिकांश मेडिकल कलेजमा विदेशी विद्यार्थीको सिट खाली छ । कूल ५५७ सिट विदेशी विद्यार्थीका लागि छुट्याइएकोमा देशका सबै मेडिकल कलेजको तथ्यांक अनुसार २३६ सिट मात्र भरिएको छ । यसको मुख्य कारण भनेको चिकित्सा शिक्षा आयोगले लिने एकीकृत परीक्षा प्रणाली हो । नेपाली विद्यार्थीका हकमा यो प्रणाली सहज भएपनि विदेशी विद्यार्थीको हकमा सही भएन । त्यसमाथि नेपालमा एमबिबिएसको भर्ना कहिले खुल्छ, कहिले परीक्षा हुन्छ निश्चित ठेगान हुँदैन । अहिले एमबिबिएस, बिएमएस, बिडिएस, बिएनएस एडल्ट नर्सिङ, बिएनएस कम्युनिटी नर्सिङ, बिएनएस क्रिटिकल केयर, बिएनएस पेडियाट्रिक नर्सिङ, बोप्टोमेट्री, बिपिएच, बिफार्म, बिपिटीमा विदेशी कोटामा नगन्य विद्यार्थी भर्ना भएका छन् । यस विषयमा आयोगले समयमै ध्यान दिन सकेन भने आउँदा वर्षहरूमा झनै विदेशी विद्यार्थीहरू घट्ने निश्चित छ ।
मानौं कुनै एउटा विदेशी विद्यार्थीले नेपालमा एमबिबिएस अध्ययन गर्न चाह्यो भने पहिला उसले नेपालमा आएर फर्म भर्नुपर्छ । त्यसपछि काउन्सिलिङमा बस्नुपर्छ । विश्वविद्यालयमा जानुपर्ने अनि प्रवेश परीक्षा दिनुपर्ने प्रावधान छ । त्यसपछि पनि उसले आफूले चाहेको मेडिकल कलेजमा भर्ना हुन पाउँदैन । यो एकदमै लामो र अव्यवहारिक प्रक्रिया भयो । योपल्ट गएको चैतदेखि सुरु भएको भर्ना प्रक्रिया अहिलेसम्म टुंगिएको छैन । नेपाली विद्यार्थीहरूले भर्ना भइसकेर पठनपाठनमा सहभागी भएको महिनौँ भइसक्दा विदेशी विद्यार्थीहरूको भर्ना प्रक्रिया चैं सकिएको छैन । नेपालको शिक्षा प्रणाली विदेशी विद्यार्थीका लागि कम्फरटेवल नभएको यही हो । यदि यसलाई सहज बनाउने हो भने नेपालको मेडिकल शिक्षालाई अन्तर्राष्ट्रियस्तरको बनाउँदै वर्षेनी हजारौं विदेशी विद्यार्थी भित्राउन सकिन्थ्यो ।
गुणस्तर घटाउन हैन विमति
विश्वमा यस्ता धेरै देशहरू छन् जसको आर्थिक सूचकाङ्कमा शिक्षा पहिलो नम्बरमा आउँछ । अष्ट्रेलियाको कुरा गर्दा त्यहाँको अर्थतन्त्र नै विदेशी विद्यार्थीको शुल्कबाट चलेको छ । क्यानडा, बेलायत तथा धेरै युरोपियन देशहरूको अर्थतन्त्रमा विदेशी विद्यार्थीले भुक्तान गरेको शुल्कको भूमिका छ । दक्षिण एसियाली राष्ट्रहरूको कुरा गर्दा भारतमा प्राविधिक शिक्षा हासिल गर्न धेरै देशबाट विद्यार्थी आउँछन् । बेङ्लोर, सिमला, दार्जिलिङ आज शैक्षिक हव बनेका छन् । बङ्गलादेशमा पनि विदेशी विद्यार्थीलाई अध्ययनका लागि धेरै सहज हुँदैछ । पछिल्लो समय चीन, रसिया जस्ता देशहरू विदेशी विद्यार्थीको गन्तव्य बनेका छन् । तर, नेपालमा भने विदेशी विद्यार्थी भित्र्याउनको कुरा त छाडौं आफ्नै देशका नागरिकलाई समेत विदेश पठाउने अभियान चलेको छ । विदेशी विश्वविद्यालय र कलेजका एजेन्टहरूले घरघर छिरेर विद्यार्थी बटुल्ने काम भइरहेका छन् ।
मेडिकल शिक्षाको सुधारका लागि भन्दै चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा लिने गरेकामा हामीले स्वागत गरेकै हो । तर, त्यसमा रहेका कतिपय अव्यवहारिक कुराहरू सुधार्नु जरुरी छ । आयोगले लिने प्रवेश परीक्षाको गुणस्तर घटाउन हाम्रो विमति हैन । प्रणालीलाई व्यवस्थापन र छिटो कसरी बनाउनु पर्छ भन्ने हो ।
नेपालको मेडिकल शिक्षालाई अन्तराष्ट्रिय स्तरको बनाउँदै विदेशी विद्यार्थीका लागि सहज वातावरण बनाउने हो भने मेडिकल शिक्षाकै कारण हाम्रो अर्थतन्त्र बलियो बन्नसक्छ ।
नेपाल पनि श्रीलंकन पथमा जाला ?
लगातार २ वर्षयता चलिरहेको विश्वव्यापी कोरोना महामारी अझै निमिट्यान्न भएको छैन । पुरा विश्वकै स्वास्थ्य क्षेत्र र अर्थतन्त्रलाई थिलथिलो बनाउने गरी फैलिएको यो महामारी सँगै विगत ६ महिना यता युक्रेन र रुसबीचको द्वन्द्वले दक्षिण एसिया, युरोपसँगै अमेरिकासमेत प्रभावित भएका छन् । युक्रेन–रुस युद्धकै कारण विश्व बजारमा इन्धनको अभाव छ । इन्धन अभावकै कारण श्रीलंका टाट पल्टिएको छ । यससँगै दक्षिण एसियाकै विकासको पथमा बामे सर्दै गरेको हाम्रो देश पनि श्रीलंकन पथमा जान्छ कि भन्ने त्रास फैलिएको छ ।
नेपालको अर्थतन्त्र स्थायी प्रकृतिको छैन । नेपाली उखान ‘लुटी ल्यायो भुटी खायो’ अर्थात् आज कमाएर भोलि खाने प्रकृतिको चलायमान अर्थतन्त्र भएको मुलुकले खर्बौं विदेशी डलर सञ्चित गरेर राख्न सक्ने कुरा भएन । त्यसमाथि २ दशकयता नेपालको निर्यात ओरालोलाग्दो आयातको सूचकांकले सगरमाथा छोएको छ । नुनदेखि नुनसम्म, भान्साकोठादेखि शौचालयसम्म प्रयोग हुने ९० प्रतिशत साधन आयात हुने गर्दछ । कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न सकिएको छैन । उद्योग व्यवसायहरु रुग्ण छन् । स्वदेशी उत्पादनले विदेशी उत्पादनसँग प्रतिष्पर्धा गर्ने अवस्था छैन । पर्यटन क्षेत्र सुसुप्त छ । बेरोजगारी बढ्दा युवा शक्ति पलायन भइरहेका छन् । खाडीको प्रचण्ड गर्मीमा कठोर श्रम गर्न जाने युवाहरुको ताँती छ ।
अर्थतन्त्र उकास्ने आधार विदेशी विद्यार्थी
यस्तो परिस्थितिमा नेपालको मेडिकल शिक्षालाई अन्तराष्ट्रिय स्तरको बनाउँदै विदेशी विद्यार्थीका लागि सहज वातावरण बनाउने हो भने मेडिकल शिक्षाकै कारण हाम्रो अर्थतन्त्र बलियो बन्नसक्छ । विदेशी विद्यार्थीलाई नेपालमा आएर अध्ययन गर्ने सहज नीति बनाइदिने हो भने मेडिकल शिक्षासँगै मुलुकको पर्यटन क्षेत्रको पनि विकास हुन्छ ।
एमविविएस गर्न आएको एउटा विदेशी विद्यार्थीले सरदर ७५ हजार डलर अर्थात् एक करोडको हाराहारीमा भुक्तानी गर्छ । त्यसवाहेक उसले आफ्नो व्यक्तिगत खर्च, परिवारबाट आउँदा उनीहरुले गर्ने खर्च छुट्टै छ । सामान्यतया वर्षमा एक हजार विदेशी विद्यार्थीलाई नेपालमा मेडिकल शिक्षाका लागि बाटो खुलाउने हो भने उनीहरुबाट करोडौं डलर नेपाल भित्रिन्छ । जसले नेपालको अर्थतन्त्र, मेडिकल शिक्षा र पर्यटन तीनै क्षेत्रको विकासमा टेवा पुग्छ । खस्कँदो अर्थतन्त्र उकास्न र विदेशी डलर भित्र्याउने एउटा बलियो आधार बन्न सक्छ मेडिकल शिक्षा ।
तर, विडम्बना हामी कहाँ त आफ्नै देशका विद्यार्थीलाई विदेश पठाएर उनीहरुसँगै अरबौं रुपैंया बाहिर पठाउने धन्धा मौलाएको छ । स्वदेशी पुँजी र लगानीलाई निमिट्यान्न पार्ने खेल भइरहेको छ ।
कुराकानीमा आधारित
अन्सारी, नेपाल मेडिकल कलेजका प्रवन्ध निर्देशक हुन् ।
0 प्रतिकृया