नेकका सिभिल एण्ड रुरल १६ औं ब्याजका विद्यार्थीको विदाई
एक्सन खबर
काठमाडौं । १४ साउन । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले सिभिल एण्ड रुलर १६ औं ब्याजका विद्यार्थीलाई विदाई गरेको छ । आज तिनकुनेमा आयोजित विदाई कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठ, नेपाल इन्जिनियरिङ परिषद्का बोर्ड सदस्य इन्जिनियर होमनाथ पोखरेल, कलेजका एमेडेमिक कोअर्डिनेटर एशोसिएट प्रोफेसर बाबुराम भट्टराई लगायतले अविर, खदा लगाएर उज्वल भविष्यको कामना व्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल इन्जिनियरिङ परिषद्का बोर्ड सदस्य इन्जिनियर पोखरेलले नेपालको इन्जिनियरिङ शिक्षालाई गुणस्तरीय बनाउन काउन्सिलले काम गरिरहेको बताए । इन्जिनियरिङ शिक्षाको गिर्दो साखलाई जोगाउन परिषद्ले अब लाईसेन्स परीक्षा सञ्चालन गर्ने तयारी गरेको उल्लेख गर्दै इन्जिनियरिङ विधेयक संसदका दुवै सदनबाट पास भएर राष्ट्रपति कहाँ पुगेको जनाउँदै आजभोली नै राष्ट्रपतिबाट प्रमाणीकरण हुने समेत बताए ।
‘नेपालको इन्जिनियरिङ शिक्षा अन्तराष्ट्रिय स्तरको भएतापनि केही कमजोरीहरु थिए । त्यसलाई हल गर्ने गरी गुणस्तरीय दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले इन्जिनियरिङ अध्ययन सकेपछि अनिवार्य लाइसेन्स परीक्षा पास गर्नुपर्ने ऐन पास भएको छ । अब एक महिना भित्र हामी लाइसेन्स परीक्षा लिनेछौं ।’ नेपाल इन्जिनियरिङ कलेजले नेपालको इन्जिनियरिङ शिक्षामा महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै उनले भने ।
बोर्ड सदस्य पोखरेलले इन्जिनियरिङ शिक्षाको महत्व दर्शाउँदै दक्ष जनशक्ति उत्पादन भएमात्र समाज र राष्ट्र निर्माणमा टेवा पुग्ने जिकीर गरे । पछिल्लो समय इन्जिनियर भन्ने वित्तिकै नाक खुम्च्याउने वातावरण बनेको चर्चा गर्दै उनले इन्जिनियरहरुको गिर्दो साखलाई जोगाउन शैक्षिक संस्थाहरु पनि लाग्नु पर्नेमा जोड दिए । उनले ग्रामिण क्षेत्रको विकासका लागि सिभिल एण्ड रुरल इन्जिनियरहरुको भूमिका महत्वपूर्ण रहेको पनि बताए । नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमा धेरै संभावनाहरु रहेको जिकीर गरे ।
कार्यक्रमका विशेष अतिथि कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले इन्जिनियरिङ शिक्षामा कतिपय विदेशी विश्वविद्यालय र कलेजहरुको भन्दा राम्रो पढाई नेपालमै हुने तर्क गर्दै नेकले प्रयोगात्मक शिक्षण विधि अपनाएकाले विद्यार्थी सीपयुक्त हुने बताए । ‘कतिपय विदेशी कलेजहरुको भन्दा राम्रो पढाई हाम्रा कलेजहरुमा हुने गर्छ । विदेश गएर पढेको भन्दैमा राम्रो हुन्छ भन्ने छैन । सर्टिफिकेटमा राम्रो नम्बर ल्याए पनि व्यवहारिक रुपमा पढेको कुरालाई लागू गर्न सकिएन भने पढेको अर्थ रहँदैन ।’ डा. श्रेष्ठले भने ।
नेकले विद्यार्थीहरुको पठनपाठनमा अधिकतम प्रयोगात्मक विधि अपनाउने गरेकाले अन्य कलेजहरुको दाँजोमा विद्यार्थीहरू दक्ष र स्कीलफुल हुने दावी गरे । साथै, उनले कलेजबाट पास आउट भएर गएका विद्यार्थीहरुले हासिल गरेको सफलताकै कारण कलेजको नाम उचो भएको पनि बताए । पास आउट भएर गएका विद्यार्थीहरु कलेजको ब्राण्ड एम्बेष्डर भएको बताउँदै श्रेष्ठले विद्यार्थीहरुलाई कलेजको नाम उच्च राख्ने गरी काम गर्न सुझाव दिए ।
कलेजको डिपार्टमेन्ट अफ सिभिल एण्ड रुरलको आयोजनामा भएको विदाई कार्यक्रममा कलेजका एकेडेमिक कोअर्डिनेटर एशोसिएट प्रोफेसर बाबुराम भट्टराई, विद्यार्थी कल्याण शाखाका प्रमुख एशोसिएट प्रोफेसर सचिन श्रेष्ठ, प्रोफेसर गणेश साह, कलेजको सिभिल एण्ड रुरल डिपार्टमेन्टका प्रमुख सुनिल श्रेष्ठलगायतले विद्यार्थीहरुलाई आफुले हासिल गरेको ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न शुभकामना दिए ।
कार्यक्रममा पास आउट भएका केही विद्यार्थीले कलेज लाइफमा भोगेका अनुभव, शिक्षक शिक्षिकाहरुले पढ्ने बेला गरेको गाइड लगायतका बारेमा बोलेका थिए । पास आउट भएका विद्यार्थीहरुको तर्फबाट आदित्य थापा र निरज ढुंगानाले कलेजको नाम उच्च गर्ने गरी काम गर्ने बताए । सो अवसरमा मेकानिकल अवार्ड र स्ट्रक्चर अवार्ड पनि वितरण गरिएको थियो ।
सामाजिक शैक्षिक सस्थाका रुपमा स्थापित नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ विधाका स्नातक, स्नातकोत्तर तथा मास्टर्स तहमा अध्ययन अध्यापन हुने गरेको छ ।
0 प्रतिकृया