०४५ सालपछि सप्तकाेसी पुरानै धारमा फर्कँदा २० हजार मानिस प्रभावित
एक्सन खबर
सुधा देव
सप्तरी १८ साउन । सप्तकोसीले ३४ वर्षपछि पुरानै धार पक्डिएपछि सप्तरी र उदयपुरका दर्जनाै बस्ती डुबानमा परेका छन् । सप्तकोसीले उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका बस्ती डुबाएकाे हाे ।
अहिले जहाँ कोसीको बाढी पसेको छ २०४५ सालअघि यही ठाउँबाट कोसी बग्ने गरेको स्थानीयले बताए । ०४५ सालको भूकम्पपछि कोसीले बिस्तारै धार परिवर्तन गरेर पूर्वतर्फ लागेको थियो । कोसी पूर्व फर्केपछि त्यहाँ २०५१ सालपछिबाट बस्ती बसेको थियो । अहिले कोसीले धार बदलेर पुरानै ठाँउमा आएपछि बसेका बस्ती प्रभावित भएका हुन् ।
बेलका नगरपालिकाका स्थानीयका अनुसार वडा नम्बर १, २, ३, ४, ८ र ९ का बस्ती बाढीले प्रभावित भएको छ । बाढीले बेलकामा मात्रै करिब २० हजार मानिस प्रभावित भएको उनीहरूको भनाइ छ । बेलका-३ मा मात्र नाै सय घर प्रभावित भएको स्थानीयले बताए । राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी बाँध बाँधे पनि बाढीले कटान गरेको छ ।
केहीबेरमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बस्न लागेको र त्यसपछि विद्यालय र सार्वजनिक भवनहरूमा पनि बाढी प्रभावितहरूलाई राख्ने विषयमा छलफल हुन सक्नेछ ।
यता, बाढी विस्थापितहरू अहिले आफन्त तथा सामुदायिक भवनहरूमा शरण लिइरहेका छन् । तत्काल कोसी ब्यारेजका सबै ढोका नखोलिए श्रींलका टापुका बासिन्दाको ज्यान जोखिममा पर्ने छ । स्थानियले व्यारेजका सबै ढोका खोल्न र फुटेको कोसी नियन्त्रण गर्न सरकारसँग माग गरेपनि विपद् व्यवस्थापन फितलाे देखिएकाे छ ।
0 प्रतिकृया