‘परमादेशी सरकारले जनमत पाए देश अर्को पाँच बर्षमा अस्थिपञ्जर हुन्छ’ केपी शर्मा ओली
एक्सन खबर
काठमाडाैं, २१ साउन । नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखा आयोगका सदस्य भोला पोखरेलसहित पेशागत क्षेत्रका अगुवा कार्यकर्ताहरू एमालेमै फर्किएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेताहरूले आज उनीहरूलाई पार्टीमा स्वागत गरे ।
साे क्रममा अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्ने कसैले पनि अलपत्र पर्न नपर्ने वताउँदै आफ्नै घर फर्कनेले भविष्य के होला भनेर चिन्ता नगरी ढुक्क भएर काम गर्न आग्रह गरे । ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउनैपर्ने भएकाले पार्टी निर्वाचन केन्द्रित काममा जुटेको र पार्टी प्रवेश कार्यक्रम मंसीर ४ गतेसम्मै चल्ने बताए ।
संसदको निर्वाचन हार्ने छुट पार्टीलाई नभएको वताउँदै अध्यक्षले भने–‘परमादेशी गठबन्धन सरकार अहिले त यति उदण्ड छ, निर्वाचनमा जनमत पायो भने यो देश अर्को पाँच बर्षमा अस्थिपञ्जर हुन्छ, गठबन्धनलाई पराजित गर्नैपर्छ ।’
ओलीले नेपालमा कम्युुनिष्ट आन्दोलनले प्राप्त गरेको सफलता देख्न नसकेर, सहन नसकेर डेढबर्ष अघि दुनियाँका प्रतिक्रियावादीले पार्टी ध्वस्त बनाउने भयानक षडयन्त्र गरेको चर्चा पनि गरे । ‘आजको दुनियाँमा नेपालमा कम्युनिष्टहरूको करिव दुईतिहाई बहुमत आउने, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख सबैतिर कम्युनिष्टको दिग्विजय सहिसक्नु नभएपछि देखाइदिन्छौं भनेर लागे । पार्टी विभाजन भयो ।’ ओलीले भने ।
कम्युनिष्ट विभाजनकाे षडयन्त्रमा नेताहरू संलग्न भएको कुरा कार्यकर्ताले पनि थाहा पाउनुपर्ने भएपनि नेताको कुकर्म नदेख्नेगरी, थाहा नपाउने गरी माओवादी कार्यकर्ताका आँखामा बाक्लो कालोपट्टी बाँधिदिएको उनकाे भनाई थियो ।
नेकपा माओवादी केन्द्रलाई २०७४ सालको निर्वाचनमा एमालेले डोरीले तानेर दुर्घटनाबाट बचाएको र अहिले माओवादीको गाडी प्रचण्डले दाहिने मोड्दा दुर्घटना भई रूखमा गएर अड्किएको चर्चा गर्दै अध्यक्ष ओलीले भने–‘यतिबेला रूख नढलोस् र आफ्नो गाडि दुर्घटनामा नपरोस् भन्ने अवस्थामा पुगेको छ माओवादी ।’
माओवादी कार्यकर्तालाई एमालेमा स्वागत गर्ने आशयका साथ अध्यक्ष ओलीले भने–‘म माओवादीका कार्यकर्तालाई भन्न चाहन्छु, कम्युनिष्ट बर्को ओढेर केही हुँदैन । एकबारको जिन्दगी गलत विचार, गलत उद्देश्य र गलत क्रियाकलापका लागि किन बर्बाद गर्ने ? बर्बाद नगर्नुस् ।’
उनले समाजवादी आन्दोलनका लागि सही विचार, सही गन्तव्य भएको पार्टी चाहिने तर्क गर्दै त्यो एमाले मात्र रहेकाे जिकीर गरे । कम्युनिष्ट कार्यकर्ता मात्र होइन, काँग्रेसभित्र लोकतन्त्रका लागि लागेका थुप्रै कार्यकर्ता नेतृत्वको गलत काम, गलत बाटोका कारण भक्कानिएर बसेका ओलीकाे भनाइ छ ।
0 प्रतिकृया