कांग्रेस नेता प्रदीप गिरीकाे निधन
एक्सन खबर
काठमाडाैं, ४ भदाै । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधन भएको छ । ७५ वर्षीय गिरीको ललितपुरको मेडिसिटी अस्पतालमा शनिबार राति ९:३६ मा निधन भएको बताइएकाे छ ।
अस्पताल स्रोतका अनुसार नेता गिरीलाई शुक्रबार भेन्टिलेटरबाट निकालेर आइसियुमा राखिएको थियो । विगत तीन सातादेखि गिरीको उपचार भइरहेको थियो । लामो समय भारतमा उपचार गरेर स्वदेश आएका उनी फेरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना भएका हुन् । घाँटीको क्यान्सरबाट पीडित उनलाई निमोनिया पनि देखिएको थियो ।
२०१७ सालबाट नै नेपाली राजनीतिमा लागेका गिरी राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष समेत गरी कुल चार वर्ष उनले जेल जीवन बिताइसकेका छन् ।
उनी २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस)को निर्वाचित उपाध्यक्ष थिए । २०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित गिरीले २०५६ को संसदीय निर्वाचनमा समेत भाग लिएका थिए । व्यवस्थापिका संसद्मा उनले नेपाली काङ्ग्रेस, प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधित्व गरेका थिए ।
भारत, जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गिरी अध्ययनमा विशेष रुचि राख्छन् । उनलाई कांग्रेसमा अध्ययनशील र सादगी नेताका रूपमा चित्रित गरिन्छ ।
0 प्रतिकृया