साइवर सुरक्षासँग काम गर्ने अन्तराष्ट्रिय कम्पनी सँग नेककाे सहकार्य
एक्सन खबर
भक्तपुर, ७ भदौ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा दर्ता भई सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) तथा लगप्वाइन्ट नेपाल विच शैक्षिक कार्यक्रम, अनुसन्धान सहयोग र विद्यार्थी र संकाय आदानप्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थी, कर्मचारीहरुलाई विभिन्न प्रकारका शैक्षिक कार्यक्रमसँग सम्बन्धीत तालिम, गोष्ठी, अनुसन्धान तथा शैक्षिक गतिविधि लगायत अनुभव आदान प्रदान गर्ने हेतूले लगप्वाइन्ट नेपालसँग समझदारी कायम गरिएको हो ।
समझदारी अन्तरगत लगप्वाइन्ट र नेकले आपसी आवश्यकताहरूमा आधारित रहेर विभिन्न संकायमा विद्यार्थी आदानप्रदान गर्ने, कार्यशाला, तालिम तथा अनुसन्धानहरु संयुक्त रुपमा गर्ने, व्यावसायिक कर्मचारी र विद्यार्थीहरूलाई भ्रमणहरू गराउने, विशेष तालिम सञ्चालन गर्ने, सशुल्क इन्टर्नशिप गर्ने भनिएको छ ।
बजारको माग अनुसार वैकल्पिक पाठ्यक्रमहरू, गैर–क्रेडिट पाठ्यक्रमहरूको पाठ्यक्रम विकास गर्ने सन्दर्भमा समेच समझदारी कायम गरिएको नेकका इन्टरनेशनल प्रोगाम अफिसर असिस्टेन्ट प्रोफेसर कृष्ण विक्रम शाहले जानकारी दिए ।
नेक पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर मुनाफारहित शैक्षिक संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भई पछिल्लो समय चाँगुनारायण नगरपालिका मातहतमा सञ्चालित कलेज हो । यहाँ इन्जिनियरिङ विधाका स्नातक, स्नातकोत्तर तथा मास्टर्स तहका विषयहरुमा पढाई हुने गरेको छ ।
लगप्वाइन्ट नेपाल साइवर सुरक्षासँग सम्बन्धीत कार्य गर्ने अन्तराष्ट्रिय कम्पनी हो । यसको मुख्यालय डेनमार्कको कोपेनहेगनमा रहेको छ । लगप्वाइन्टका शाखाहरु युरोप, अमेरिका तथा दक्षिण एसियाभर रहेका छन् । यसले साइवर सुरक्षा सफ्टवेयरहरु निर्माण गर्ने काम गर्दछ ।
0 प्रतिकृया