बिओके र हिमालयन बैंकले फसेको रकम १० बर्षपछि फिर्ता पाए
एक्सन खबर
काठमाडौं, ७ भदौ । हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले झन्डै एक दशकसम्म चिनियाँ बैंकमा फसेको रकम फिर्ता पाएका छन् । गत १५ साउनमा चिनिया अदालतबाट मुद्दा जितेको २० दिनपछि मंगलबार हर्जनासहित दुवै बैंकले रकम फिर्ता पाएका हुन् ।
चिनियाँ अदालतमा मुद्दा जिते पछि चाइना कन्स्ट्रक्सन बैंकले दुवै बैंकको रकम मंगलबार फिर्ता पठाएको छ । जसअनुसार बैंक अफ काठमाण्डूले ६६.२५ लाख अमेरिकी डलर र १४.११ लाख यूरो थप हर्जनासहित रकम फिर्ता पाएको छ भने हिमालयन बैंकले ७० करोड रुपैयाँ फिर्ता पाएको छ ।
मेलम्ची खानेपानी आयोजना सम्बन्धी मुद्धामा चिनियाँ अदालतले हिमालय र बिओकेको पक्षमा १५ साउनमा फैसाला सुनाएको थियो । मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुलउपरको मुद्दा नेपाली बैंकहरुले चिनियाँ तल्लो अदालतबाट जिते पनि उच्च अदालतमा जानु पर्ने कारणले रकम फिर्ता पाउन सकेका थिएनन् । तर, १५ साउनमा चिनियाँ अदालतमा अन्तिम फैसला भएसँगै दुबै नेपाली बैंकलाई चिनियाँ कन्ट्रक्सन बैंकबाट नेपाल रकम ल्याउन बाटो खुलेको थियो ।
मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेका तर्फबाट ग्यारेन्टी बसेको चाइना कन्स्ट्रक्सन बैंकले रकम फिर्ता गर्न आनाकानी गरे पछि दुबै बैंकले चिनियाँ अदालतमा मुद्धा दायर गरेका थिए । जसको अन्तिम फैसाला चिनियाँ अदालतमा १५ साउनमा भएको थियो ।
0 प्रतिकृया