Follow us:


Follow us

१९ साउन २०८३, मङ्गलवार
१९ साउन २०८३, मङ्गलवार


अनधिकृत संरचना भत्काउन बालेन अघि अघि, डोजर पछि पछि

एक्सन खबर
भदौ, ८, २०७९


अनधिकृत संरचना भत्काउन बालेन अघि अघि, डोजर पछि पछि

काठमाडौं, ८ भदौ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) आफैं महानगरभित्र बनेका अनधिकृत संरचना भत्काउन खटिएका छन् । गत सोमबार नयाँबानेश्वर क्षेत्रमा बनाइएको अनधिकृत संरचना भत्काएको महानगरले बुधबार सुन्धारा र न्युरोड क्षेत्रका अनधिकृत संरचना भत्काएको छ ।

नयाँबानेश्वर क्षेत्रमा पार्किङका लागि नक्सा पास गरेर व्यवसाय सञ्चालन गरेको पाइएपछि मेयर बालेन नेतृत्वको महानगर टोलीले पसल हटाएर अनधिकृत संरचना भत्काएको हो । यसरी भत्काउनुअघि महानगरले नक्सा पास भए नभएको एकीन गर्दै नभएको खण्डमा ३५ दिन समय दिएको छ ।

नक्सा पास नगरी बनाइएका तथा नक्सा पासविपरीत बनाइएका संरचना भत्काउन मेयर बालेन आफैं उपस्थित भएका छन् । संरचना भत्काउन जाँदा हेर्दाको दृश्यले बालेन अघि अघि र डोजर पछि पछि देखिन्छ ।

नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसल हटाएको तेस्रो दिनमै बुधबार महानगरले सुन्धारा, न्युरोड, दरवारमार्ग र बबरहमल क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काउन र सम्बन्धित् पक्षको जवाफ मागेका छन् ।

बुधबार नै  मेयर बालेनको उपस्थितिमा महानगरको टोलीले सुन्धारास्थित काठमाडौं मलको अनधिकृत रुपमा बनाइएको संरचनामा डोजर लगाएर भत्काएको छ । साथै न्युरोडस्थित आर बी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काएको छ । नविल बैंक न्युरोड शाखाले बनाइएको अनधिकृत संरचना पनि महानगरले भत्काउने भएको छ ।

यसैगरी महानगरले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ । अदालतको अन्डरग्राउन्ड बारे महानगरको चासो बढेको हो ।

बुधबार नै मेयर बालेन दरवारमार्ग पनि पुगेका छन् । दरवारमार्ग क्षेत्रमा सडकमै जथाभावी पार्किङ गरिएपछि मेयर बालेन सो क्षेत्रमा पुगेका हुन् । मेयर बालेनले कोटेश्वर क्षेत्रको फुटपाथ र पार्किङको अनुगमनमा जाने तयारी गरेका छन् ।

नक्सा पासविपरीत तथा अनधिकृत रुपमा बनाइएको संरचना हटाउन मेयर बालेन महानगरको टोली र प्रहरीसहित पुग्ने गरेका छन् । यसअघि महानगरले ३५ दिने सूचना प्रकाशित गरेरै अनधिकृत संरचना भत्काउन भनेकाे थियाे ।













0 प्रतिकृया