Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


राजनीतिभित्र नसमेटिएको तेस्रो पुस्ता

एक्सन खबर
भदौ, १८, २०७९


राजनीतिभित्र नसमेटिएको तेस्रो पुस्ता

कुमार दाहाल
साहित्यमा उत्तरआधुनिकता, राजनीतिमा समाजवाद र व्यक्तिगत स्वतन्त्रता असीमित विचार हुन् । यि विचारले सधै नयाँपन जन्माउँछ र यथास्थितिको विरोध गर्छ । समाजवादको प्रगतिशीलता र पुँजीवादको वैयक्तिक स्वतन्त्रताको कुनै राजनीति बन्देज छैन । प्लेटोको आदर्श राजनीति, हेगेलकाे राजनीति भित्रको विश्व व्यापकता, रुसोको राजनीति स्वतन्त्रताको लागि स्टेटमेनसिप राजनीतिका असीमित आदर्श हुन् । जसलाई साहित्यको उत्तरआधुनिकता र राजनीतिको स्वतन्त्रताले सधैभरी पछ्याई रहन्छ तर अनुमान गर्न सक्दैन ।

सन१२१५ को म्याग्नाकार्टा तेस्रो पुस्ताको माग थियो । जस्ले सारा युरोपमा निरंकुश राजनीतिको अन्त्य गर्यो । लुई सोह्रौंको अन्त्य निरंकुशताको मात्र अन्त्य थिएन, बेलायती प्रजातन्त्रको माग थियो जसलाई फ्रान्सका जनता राजनीतिक सपना ठान्दथे । त्यसपछि राजनीतिभित्र पुजिवाद र‌ समाजवादका थुप्रै अभ्यास भइसकेक छन् । १९३० भन्दा अगाडिकाे पुँजिवाद र त्यसपछि मार्क्सको समाजवादले राजनीति र अर्थनीतिका सबै विषयहरुलाई छोइसकेको छ ।

तर आर्थिक पुँजीवाद र समाजवादिय अर्थशास्त्र राजनीतिघेरामा मात्र समेटिएको छैन । जसले गर्दा अमेरिकाको पुँजीवादी अर्थतन्त्र, भारतको प्रजातन्त्रिक अर्थशास्त्र, चीनको समाजवाद, उत्तर कोरियाको साम्यवाद अझै प्रयोगको अवस्थामा छन् । यी नीतिले राजनीति सन्तुष्टि दिन सकेका छैनन् । त्यसैले ताइवान, युक्रेनलाई केन्द्रविन्दु बनाएर विश्व राजनीति आफ्नो अर्थनीतिलाई स्थापित गर्न कम्मर कसेर लागेको छ । यसको चिन्ता विश्वका तेस्रो मुलुक र तेस्रो पुस्तालाई छ । जाे राजनीतिक परिवर्तनको सिद्धान्तलाई कसरी आत्मसात गर्ने भन्ने चुनौतीको सामना गरिरहेका छन् ।

नेपालमा २००७ सालमा प्रजातन्त्र आउनुअघि नै विश्व राजनीतिभित्र अर्थशास्त्र र राज्य सञ्चालनका नीति जन्मिसकेका थिए । सात साल भन्दा अगाडी  माक्सकाे समाजवाद, एडम स्मिथको पुजिबाद र  व्यापारका लागि उपनिवेशले नेपाललाई छोएन । विश्व साम्राज्यका शासकहरुलाई चाकरी गरी आफ्नो अस्तित्व जोगाउनमा शासकहरु लागे । सात सालपछि महेन्द्रकालिन राष्ट्रबादले समाजवादी अर्थनीतिलाई त पछ्यायो तर यसको प्रतिफल सीमान्त वर्गसम्म पुग्न सकेन । बीपी कोइराला र राजा महेन्द्रको विचारको बेमेल यसैमा थियो । राजा महेन्द्रको समाजवादलाई बीपीले स्वीकार नगर्नु, बीपीको समाजवादी अर्थशास्त्रलाई महेन्द्रले राजनीतिक हस्तक्षेप मान्नु तत्कालीन राजनीतिक परिवर्तनकोलागि अभिसाप प्रमाणित भयो । जसलाई आजसम्म हामीले खेप्नुपरेको छ ।

२०४७ को परिवर्तनपछि नेपाल पूर्णरुपमा पुँजीवादी अर्थतन्त्रको हिमायती त बन्यो । तर याे अर्थनीतिले विकास र परिवर्तनलाई आत्मसाथ गर्न सकेन । माओवादी द्वन्द्वले समाजशास्त्रीय विभेद र सास्कृतिक परिवर्तन त ल्यायो तर दरो अर्थनीतिलाई टेक्न सकेन । कहिले पुँजीवादी अर्थतन्त्रलाई स्वीकार गर्ने कहिले समाजवादी चिन्तन राख्ने दोहोरो चरित्रले पार्टीहरु स्पष्ट भएनन् । किनकि चीन र भारतको दुवै अर्थनीतिलाई स्वीकार गर्नु पर्ने बाध्यता शासन र सत्ता दुवैमा थियो । यद्यपि छँदैछ ।     

विश्वव्यापीकरण, उदारीकरण, निजीकरणले नेपालको अर्थनीतिलाई परिवर्तन गर्छ भन्ने ठूलो आशा थियो । तर यसैभित्र नेपाली राजनीति अल्मलियो । भाइबाद परिवारवाद, भ्रष्टाचार, राजनीतिक प्रभुत्वमा शासकहरु चुर्लुम्म डुबे । २०४७ सालपछि युवाहरूको हातमा राजनीतिक नेतृत्व आउने आशा थियाे तर आएन । तिनै पुराना नेतृत्वले राजनीति बर्चस्व कायमै राखे । परिवर्तित नेतृत्वले युवाहरूको चाहना समेट्न सकेनन् । प्रत्यक्ष रुपमा राजनीतिभित्र ठूलाठूला भ्रष्टाचारहरु देखिए । यसैको ढाकछोप गर्न शासकहरु लागि राखे । दलाली तन्त्रले उच्च सत्ता र शासक सबैतिर टपक्कै ढाक्यो । ढाकी रहेको छ । सुधार गर्ने बलियो नेतृत्व देखिएन । जति आए तिनीहरुलाई पनि कि त राजनीतिले कि त पद प्रतिष्ठा र दबाबले किच्यो । राजनीति स्वार्थ र सोच भन्दा नेतृत्व माथि आउन नसक्नाले  तीस वर्षमा ठूलो आलोचना खेप्नु पर्यो ।

आजको पुस्ता राजनीतिप्रति उदासीन देखिँदैछ । व्यक्तिगत स्वतन्त्रताको ओकालत गर्ने यो पुस्ता अन्याय सहन सक्दैन । देखेको कुरा प्रस्ट भन्छ । राजनीतिक दाउपेच मन पराउँदैन।जान्दैन । यो पुस्ता नतिजामा विश्वास गर्छ । धर्म र संस्कृति प्रति उदार छ । राजनीति र प्रशासन भित्रको भ्रष्टाचारको खुलेर बिरोध गर्छ । त्यसैले याे पुस्ता र पुरानो पुस्ताको बिचमा खाडल पैदा भएको छ । राजनीतिभित्र तेस्रो पुस्ताको कम उपस्थिति, सुधार विनाको नेतृत्वलाई स्वीकार गर्नुपर्ने बाध्यताले राजनीतिभित्र  वितृष्णा पैदा भएको हाे । याे पुस्ता विश्वको परिवर्तनप्रति सचेत छ । प्रविधिमा पोख्त छ । तर राजनीतिक दल र पार्टीहरु अझैपनि राजनीतिक आदर्शको असीमित चिन्तनमा तल्लीन छन् । युवा पुस्ता नेतृत्व लिन तयार छ भन्ने कुरा नेताहरुले नबुझेका होलान् र? तर  नेताहरू  यो विषय  स्वीकार गर्न तयार छैनन् ।

स्थानीय चुनावमा वालेन शाह र हर्क साम्वाङकाे जितले नेपाली स्थापित राजनीतिक दलमा भूकम्प ल्याएको छ । दलका नेताहरु भित्रभित्रै तर्सिएका छन् । यसको अर्थ युवा पुस्ताको विद्रोह होइन । परिवर्तनको बाहक युवा पुस्ताको धर्म-कर्म र मर्मलाई राजनीतिक दलले नचिन्नु नै हो । नेपालका धैर्यशील जनता र धानिएको अर्थतन्त्रलाई नेताले आजसम्म भजाएर खाए । बल्ल यो जनतालाई थाहा हुँदैछ । यसकालागि राजनीति संस्कार नै परिवर्तन गर्नुपर्ने बाध्यता दलहरुमा देखिँदैछ ।

यससँगै कर्मचारीतन्त्रले पनि आफ्नो कार्यशैली परिवर्तन गर्नैपर्छ । यसलाई नजरअन्दाज गरेमा भोलि नेपाली राजनीति अन्योलमा नपर्ला भन्न सकिँदैन । स्वतन्त्र उम्मेदवार प्रतिको आकर्षण राजनीतिक प्रणालीकाे आक्रोश हाे । किनकि विगत वर्षमा शासन गरेका अनुभवहरु उनीहरूसँग जस्ताको तस्तै छन । जसको नतिजा अर्थ राजनीतिले भोग्नु परेकै छ । यसैको विरोध अहिले नयाँ पुस्ताले गरेको छ । यही नयाँ पुस्ता हो जसले नेपालमा ठूला परिवर्तन गर्यो । तर स्थापित राजनीतिलाई बढी विश्वास गर्दा यो पुस्ताले सधैभरी धोका पायाे । अब राजनीति प्रवृत्ति र सोचाइ परिवर्तन हुने हो या नयाँ राजनीतिक पद्धति स्थापना हुने यसको समाधान स्थापित राजनीति दल सँगै छ ।

विश्व मञ्चमा नेपाली अर्थतन्त्र कमजोर नै होला तर दक्षिण एसियामा नेपालको पर्यटन, विद्युत र अन्य क्षेत्रहरु बलिया छन् । यद्यपि बेरोजगारी उच्च छ । युवा पुस्ता विदेश जान बाध्य छ । नेपालमा आय आर्जनका  सम्भावना भैकन पनि खेर गएका छन् । पुरानो नेतृत्वले नतिजामुखी काम देला भन्ने आशा किन युवा पुस्तालाई  भएन ?  यो पुस्ता अब नेतृत्व परिवर्तन चाहन्छ । युवाहरूको चाहनालाई सम्बोधन गर्ने, दल वा नेता अब नेतृत्वमा आउछन भन्ने हामी विश्वास गरौं । यसैका लागि अहिलेको युवाले कम्मर कसेको छ । राजनीतिमा परिवर्तन बिस्तारित हुने विषय हो तर नेपालमा यो द्रुत गतिमा लम्किँदै छ । हामी सबै युगसापेक्ष परिवर्तनको प्रतिक्षामा छौं ।













0 प्रतिकृया