बुढानिलकण्ठ भंगालमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, ३० भदौ । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले बुढानिलकण्ठ वडा नं. ८ भंगालमा आज निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केएमसीले गिरीजाप्रसाद कोइराला फाउण्डेशन सँगको सहकार्यमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७६३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार उक्त शिविरमा १२२ जनाको इसिजी, २१४ जनाको ल्याब परीक्षण, १९४ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै स्वास्थ्य शिविरमा आएका ३१ जनाको दाँत खोलिएको छ भने, ३४ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको दाहालले जानकारी दिए ।
केएमसीका कार्यकारी अध्यक्ष समाजसेवी डा. सुनिल शर्माले स्वास्थ्य सेवाको पहुँच नपुगेका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । डा. शर्मा विराटनगरको नोबल शिक्षण अस्पतालको समेत सञ्चालक हुन् । नोबेलले पूर्वका विभिन्न स्थानमा लामो समयदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेकोमा सोही प्रकारको स्वास्थ्य शिविर केएमसीमा पनि थालनी गरेका हुन् ।
केएमसीको निःशुल्क स्वास्थ्य शिविरमा बाल रोग, स्त्री रोग, जनरल मेडिसिन, नाक कान घाँटी, आँखा, दन्त रोग लगायतका विशेषज्ञ डाक्टरहरुले बिरामीको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।
0 प्रतिकृया