बेलबारी र सुन्दरहरैंचामा डा. शर्माले गराएकाे निःशुल्क स्वास्थ्य शिविरबाट हजार बिरामी लाभान्वित
एक्सन खबर
मोरङ, ३० भदौ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं कांग्रेस नेता डा.सुनिल शर्माले बिहीवार मोरङको क्षेत्र नं. ३ का तीन छुट्टा छुट्टै स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएकाेमा हजार भन्दा बढी बिरामी लाभान्वित भएका छन् । डा.शर्माले नोबेल अस्पतालमार्फत माेरङकाे सुन्दरहरैंचा, भाउन्नेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।
सुन्दरहरैंचा वडा नम्बर १०, १२ र बेलबारी–१० भाउन्नेमा शिविर सञ्चालन गरिएकाेमा तीन वटा शिविरबाट एक हजार ५३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालले जनाएको छ । सुन्दरहरैंचा–१२ मा आयोजित शिविरमा ९५ जनाको इसीजी, १०५ जनाको रक्त परीक्षण, ९७ जनाको भिडियो एक्सरे र ११ जनाको दाँत खोलिएको छ । नोबेलका छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे र स्त्री रोग विशेषज्ञ प्रा.डा.शान्ति सुवेदीसहित डाक्टरहरुको टोलीले शिविरमा आएका ४५३ विरामीको स्वास्थ्य परीक्षण गरेको थियो ।
त्यस्तै, ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर बेलबारी नगरपालिका वडा नंम्बर १० स्थित भाउन्नेमा शिविर सञ्चालन गरिएको छ । शिविरमा २५३ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये ६१ जनाको इसीजी, ८५ जनाको रक्त परीक्षण र १०७ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै दाँतमा समस्या भएका २३ जनाको दाँत फुकालिएको छ । नोबेलका मुटुरोग बिशेषज्ञ प्रा.डा.राजेश नेपाल र स्त्री रोग विशेषज्ञ डा.प्रतिमा काफ्ले नेतृत्वको डाक्टरहरुको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको हो ।
यता, बालबालिकालाई लक्षित गरी सुन्दरहरैंचा–१० स्थित मदर किन्डर गार्डेन बोर्डिङ स्कुलमा पनि शिविर सञ्चालन गरिएको छ । शिविरमा ३४७ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । तीन वटै शिविरबाट थप उपचारका लागि १२४ जना विरामीलाई नोबेल अस्पताल रेफर गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । रेफर भएका विरामीहरुलाई डा.शर्माले नोबेलकै गाडीमा अस्पताल ल्याउँने र उपचार पश्चात घर पुर्र्याउँने व्यवस्था मिलाइदिएका छन् ।
बेलवारी घर भएका डा.शर्माले आफ्नो चुनावी क्षेत्रसमेत रहेको क्षेत्र नं. ३ मा बर्षौ अघिदेखि नोबेल मार्फत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराउँदै आएका छन् । समाजसेवाका माध्यमबाट लोकप्रियता कमाएका डा.शर्मालाई अहिले नेपाली कांग्रेसले सोही क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वार बनाउँन सर्वसम्मत सिफारिस गरेको छ ।
डा.शर्मा गत प्रतिनिधि सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेद्वार थिए, तर पराजित भए । चुनाव हारेर पनि डा.शर्मा सो क्षेत्रका जनताको सेवामा निरन्तर लागिरहेका छन् । जसका कारण उनको लोकप्रियता दिन प्रतिदिन बढिरहेको छ ।
0 प्रतिकृया