Follow us:


Follow us

१६ चैत २०८०, शुक्रवार
१६ चैत २०८०, शुक्रवार


देउवा प्रधानमन्त्री कि ठेकेदार ?

एक्सन खबर


देउवा प्रधानमन्त्री कि ठेकेदार ?

रामप्रसाद रिजाल
नेपाली कांग्रेसका सभापति तथा गठबन्धन सरकारका प्रधानमन्त्री शेर बहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको शासन ब्यवस्था भएको मुलुक नेपाललाई ठेक्का प्रणालीमा लगेर आफू नेता होइन ठेकेदार हुँ भन्ने तथ्य प्रमाणित गरेका छन् ।

राजनीति नीति मध्येको उच्च नीति हो जहाँ सैद्धान्तिक अडानको निम्ति भौतिक शरीरको खासै मतलब हुँदैन । तसर्थ सहिदहरुले हाँसीहाँसी आफ्नो जीवन सगौरब बलिदान दिन तैयार हुन्छन । प्रचण्डको तथाकथित माओवादको सिद्धान्त र शेरबहादुर देउवाको पार्टी नेपाली कांग्रेस बिच कुनै मिलन सम्भव हुन्छ ?  सैद्धान्तिक तवरले यो ब्यवहारिक हुन सक्छ ?

तर, बिना लाज बिना सरम यो अप्राकृतिक गठबन्धन किन ? के का लागि ? ब्यक्तिगत स्वार्थ र गिर्दै गरेको राजनैतिक अस्तित्व जोगाउनको लागि इमान बेच्न मिल्छ ? यदि यस्तो गठबन्धन नै गर्नु थियो त किन १० बर्ष युद्ध गरेर मुलुकलाई तहसनहस बनाएको ? किन सोझासाझा जनताको छोराछोरीलाई रगतको होलि खेल्न लगाएको ? किन १७ हजारलाई विधुवा, टुहुरा बनाएको ? यसकाे उत्तर प्रचण्डले कसरी दिन्छन् ?

प्रचण्डसँग अलिकति पनि त्याग देखिएन । उनी अरुलाई त्याग गर्न लगाएर अरुको जीवन सँग खेल्ने एक अवसर बादी लालची पात्र रहेछन् । प्रचण्डकै कारण देशको राजनीति गलत दिशा तिर धकेलिरहेको छ । कांग्रेस जस्तो दलाल पार्टीलाई सत्ताको नाइके बनाएर प्रचण्डले मुलुक र सहिदलाई ठूलो घात गरेका छन् । यो मुलुकको सत्रु नै कांग्रेस हो ।

अहिले देउवा गठबन्धनकाे सरकारले केपी ओलीको पालामा भएका जतिपनि राष्ट्रिय हितका निर्णयहरु थिए तिनीहरूलाई उल्टाएर मुलुकलाई अध्यारो भुमरीतर्फ धकेल्दै छ । एम सि सि जस्तो आत्मघाती सम्झौतामा प्रचण्डलाई मतियार बनाएर प्रचण्डको हत्या गरि सक्यो कांग्रेसले । अब प्रचण्डसँग शरीर त छ तर, उनीसँग कुनै सिद्धान्त छैन, नीति छैन, विचार छैन । तर, प्रचण्ड अझै जिउदै छु भन्ने भ्रममा छन्, जुन नेपाली राजनीति र समाजका लागि ठूलाे घातक हाे । प्रचण्ड अब नेपाल र नेपालीकाे लागि घातक भइसके । अब उनले राजनीतिबाट सन्यास लिएर बसे उत्तम ।

शेरबहादुर देउवाले तीन वटा कम्पनी मिलाएर सत्ताको ठेक्का पारेका हुन् । माओवादी, एकीकृत समाजवादी, जसपा उनका सत्ता सहकार्यका ठेकेदार हुन् । देउवा एक दुईवटा च्याँखेहरु (माओवादी, एकीकृत समाजवादी, जसपा) लाई अलिअलि भागशान्ति मिलाएर आफू बलियो बनेका छन् । अहिले एम सि सि पास गर्ने बि आर आइ रोक्ने, ब्यापारीको खोल भित्रका दलालहरुको लागि आवश्यक नीति निर्माण देखि सिजिलाई लाइसेन्स दिने सम्मको कर्तुत, चुच्चे नक्साको विषय सन्दर्भ नै गायव गर्ने काम देउवा गठबन्धन ठेकेदार सरकारले गरिरहेकाे छ ।

आफ्नाे भूमी फिर्ता ल्याउने सवालमा चूँ सम्म नगर्ने तर, युक्रेन र रसियाको युद्वमा यति छिटो प्रतिक्रिया दिन किन हतारिएको छ कांग्रेस ? कसलाइ खुसी पार्न खोज्दैछ कांग्रेस ? यो सबै केही समयपछि छर्लङ्ग हुन्छ । नेपाललाई अनावश्यक युक्रेन बनाउन खोज्दै छ कांग्रेस । बेलैमा सचेत हुन जरुरी छ । कांग्रेस अमेरिकाको भर्याङ्ग बनेर छिमेकी चीनमाथि अन्याय गर्दैछ । छिमेकी सँगको समान व्यबहार माथि धोका गर्दैछ कांग्रेस । यी सब प्रक्रियामा साक्षी र मतियार बन्दैछन् प्रचण्ड ।

प्रचण्डकै नेतृत्वमा भएकाे १० वर्षे सशष्त्र जनयुद्धका सहिदहरुको चाहना, सपना विपरित प्रचण्ड अगाडी बढिरहेका छन् । प्रचण्डको माओ वाइडेन कहिले देखि भयो ? केपी ओली माथि नाजायज दोष देखाएर गलत कुराको पक्षपोषण गर्ने प्रचण्डलाई कसरी नेता मान्ने ? कमरेड प्रचण्ड तपाइँले माओ र आफ्नै सिद्धान्त कांग्रेसकाे पाेल्टामा कतिमा बेच्नुभयाे ? १७ हजार सहिदले साेधिरहेका छन् ।

जब चुच्चे नक्सालाई संसोधन गरेर सदनबाट पास गरियो, सत्य मेव जयते कि सिंह मेव जयते भनेर प्रश्न गर्ने केपि ओलीलाई ढाल्न सारा तागत लगाएर प्रचण्ड अगाडी बढेका थिए । अहिले पनि माकुने जस्ता बिकाउ पात्रको प्रयोग गरेर भाडाका नेताहरु मार्फत अफवाह फैलाएर एमालेलाई कमजोर बनाउने खेल खेलिरहेका छन् । तर, ओलीकाे अगाडी प्रचण्ड गरूडकाे अगाडी सर्प जस्तै भइसकेका छन् ।

किनभने केपि ओली सहि थिए, सहि हुन् र सत्य उनको साथमा छ । आम नेपाली जनता एमालेको साथमा थिएछन् र हुनेछन् । मंसिर ४ गते हुने चुनावमा जनताले एमालेलाई साथ दिनेछन् भन्ने तथ्य प्रष्ट प्रचण्ड देउवाका आँखाले देखेकै कारण अप्राकृतिक नै भएपनि गठबन्धन टुटाउने पक्षमा छैनन् । त्यसकारण अनेक जालझेल प्रपञ्च रचिँदै छ ।

ब्यवस्थामा हुँदै नभएको परमादेशबाट केपि ओलीको सरकार फालेर इतिहास कै ठूलो मजाक प्रचण्ड, माधब र देउवाले गरे । एमाले पार्टी अध्यक्षले कार्बाही गरेका १४ जना लाई सभामुखले कार्बाहीको सुचना नटाँसेर अर्को संबैधानिक धोका गरे । दल विभाजनको अध्यादेश आफ्नो प्रयोजन समाप्ति पछि आफै खारेज गरेर पुर्वाग्रह युक्त अराजकताको प्रदर्शन गरिरहेका छन् ।

यी सबै तथ्यलाई नियालेर हेर्ने हो भने कहाँ छ राजनीति ? जुन प्रधानन्यायाधीशलाई प्रयोग गरेर परमादेश ल्याए उसैलाई महाअभियोग लगाएर निलम्बित गरेर सदन बन्द गरे । प्रधानन्यायाधीशलाई निलम्बन गरेर फेरि आफू अनुकुलको न्यायाधीश मार्फत आफ्नो अनुकूल निर्णय गर्ने योजनाको जालो बुन्दै छन् सत्ताधारी गठबन्धन । यी सब गर्नेहरु प्रतिगमनकारी होइनन् ? आज ओलीले जनादेशमा जान गरेका संसद विघटनलाइ गलत भन्नेहरूकाे चर्तिकला र याेजनाले मुलुकलाइ पछाडी धकेलेकाे छैन र ?

स्थानीय तहकाे निर्वाचन परिणामले पनि नेकपा एमालेलाई पहिलो शक्तिशाली पार्टी बनाएको छ । ६ वटा पार्टीहरू एकातिर लाग्दा पनि एमाले एक्लैले कांग्रेस लगायतका अप्राकृतिक गठबन्धनलाई  धुलो चटाएको छ ? एमालेसँग एक्लै लड्ने हिम्मत कुनै पार्टीको छैन । यसबाट पुष्टि हुन्छ एमाले हिजो भन्दा आज केपी ओलीकाे नेतृत्वमा बलियो भएको छ ।

केपी ओलीलाई सफल बनाउन, एमालेका सिद्धान्त र समाजवादकाे नारा स्थापित पार्न हामी एमालेका सिपाहीहरू एकताबद्ध भएका छाैं । परमादेशकाे सरकार ढालेर जनादेशकाे सरकार बनाउन मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाकाे निर्वाचनमा एमालेलाई बहुमत ल्याउन देउवाकाे ठेकेदारी सरकार वा अन्य कुनै तागतले रोक्न सक्दैन ।

रिजाल नेकपा एमालेका नेता हुन् ।













0 प्रतिकृया