Follow us:


Follow us

९ असोज २०७९, आइतवार
९ असोज २०७९, आइतवार


विराटनगर एयरपोर्टको नाराः विकासका लागि भगवती दिदि

एक्सन खबर
असोज, २, २०७९




विराटनगर एयरपोर्टको नाराः विकासका लागि भगवती दिदि

सुनसरी, २ असोज । आइतबार पूर्वराज्यमन्त्री भगवती चौधरी सधैं झैं सामान्य हिसाबले गृह जिल्ला सुनसरी जाँदै थिइन् । छोरा द्रव्यराजसँग बुद्ध एयरको ९:५० को फ्लाइटमा विराटनगर विमानस्थल अवतरण गरे सँगै उनले सबैभन्दा पहिला सञ्चारकर्मीहरुको सामना गर्नुपर्यो । काठमाडौंबाट एमाले नेतृ चौधरी जिल्ला आउँदैछिन् भन्ने जानकारी पाएर मोरङका सञ्चारकर्मीहरु विमानस्थलमा पुगेका थिए ।

साथै, विमानस्थलमा एमालेका कार्यकर्ताहरु समेत फुलमालासहित लामबद्ध थिए । चौधरी विमानबाट बाहिरिँदै गर्दा कार्यकर्ताहरुले ‘भगवती दिदि जिन्दावाद, सुनसरीलाई विकासको राजधानी बनाउँ, मंसिर ४ मा भगवतीलाई जिताउँ’ को नारा घन्काउन थालेपछि एयरपोर्ट एकछिन भगवतीमय भयो । दर्जनौं कार्यकर्ता फुलमाला सहित चौधरीलाई लिन एयरपोर्ट आएका थिए । एमालेका कार्यकर्ताहरुले मंसिर ४ गते चौधरीलाई जिताएर मात्रै विजयादशमी मनाउने पनि बताए ।

आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा एमालेबाट क्षेत्र नं. ३ कालागि तेश्रो पटक उम्मेदवार बन्न लागेकी चौधरी कांग्रेसका विजय गच्छदारसँगै पुनः प्रतिष्पर्धा गर्ने करिब निश्चित भएकाले पनि चर्चाको शिखरमा छिन् । उनले यसअघि २०७० सालको दोश्रो संविधानसभा र ०७४ सालको आम निर्वाचनमा गच्छदारलाई आच्छुआच्छु पारेकी थिइन् । ०७० सालको निर्वाचनमा पहिलो पटक गच्छदारलाई कडा टक्कर दिएकी चौधरीले त्यसको ४ वर्षपछि सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पराजय गरेको दावी नै गर्दै आइरहेकी छिन् । उक्त निर्वाचनमा गच्छदारले धाँधली गरेको भन्दै सर्वोच्चमा अहिले समेत मुद्दा विचाराधिन रहेको छ ।

एयरपोर्टमै सञ्चारकर्मीहरु आएको देखेपछि चौधरीले हार्दिकता साट्दै मंसिर ४ गतेको निर्वाचनमा शतप्रतिशत आफ्नो जित हुने दावी गरिन् । विगतका दुईवटा निर्वाचनमा आफुलाई जनताले जिताएपनि राज्यसत्ता नै लगाएर हराएको उल्लेख गर्दै योपल्ट आफ्नो विजयलाई कसैले रोक्न नसक्ने जिकीर समेत गरिन् । ‘विगतमा पनि जनताले मलाई जिताएकै हुन् । योपल्ट दशौं हजार मतले जित्नेछु ।’ चौधरीले सञ्चारकर्मीहरुसँग भनिन् ।

सुनसरी ३ मा विकासको मुल फुटाउन र त्यहाँका जनताको जिवनस्तर उकास्नकै लागि आफुले राजनीति गरेको प्रष्ट्याउँदै चौधरीले मंसिर ४ पछि सुनसरी ३ मा नयाँ सुर्योदय हुने ठोकूवा गरिन् । ‘सुनसरी ३ मा विकास हुनुपर्छ, सुशासन हुनुपर्छ, स्वास्थ्य, शिक्षा, कृषि, सडक, पर्यटनका क्षेत्रमा विकासको मुल फुट्नुपर्छ भन्ने माग दशकौं देखिको हो । मंसिर ४ गतेपछि त्यो पुरा गर्ने अवसर प्राप्त हुन्छ ।’ चौधरीले भनिन् ।

नेतृ चौधरीले सुनसरी ३ लाई मात्र नभएर समग्र जिल्लाकै विकासका लागि सक्दो काम गर्ने बताइन् । लघुवित्त कार्यक्रम मार्फत देशभरका तीनलाख बढी महिलाहरुलाई आर्थिक सशक्तिकरणको अभियानमा जोड्न सफल भएकी नेतृ चौधरीले युवा स्वरोजगार, निर्यातमुखी कृषि, महिला सशक्तिकरण र आत्मनिर्भर अर्थतन्त्रका विषयलाई प्राथमिकताका साथ अगाडी बढाउने योजना बनाइरहेकी छिन् ।

पछिल्लो समय युवाहरुले उठाएका एजेण्डाहरु आफुसँग रहेको तर्क गर्दै चौधरीले देश विकासको मेरुदण्डका रुपमा रहेका युवाहरुलाई अवसर दिन तिशौं वर्षदेखि राजनीतिमा लागेर पटकपटक मन्त्री उपप्रधानमन्त्री भएका अग्रजहरुले राजनीतिबाट अवकास लिनुपर्ने पनि बताइन् । ‘नेतृत्व भनेको समयसँगै परिवर्तन हुन अपरिहार्य छ । जसरी हरेक वसन्तमा नयाँ पालुवा पलाउँछ राजनीतिमा पनि हरेक निर्वाचनहरुबाट नयाँ सोच र विचार भएका क्षमतावान व्यक्तिहरुले अवसर पाउनुपर्छ ।’ चौधरीले भनिन् ।

केपी शर्मा ओली नेतृत्वको साँढे तीन वर्षको सरकारले विकास र सुशासनका सवालमा धेरै काम गरेको चर्चा गर्दै चौधरीले मंसिर ४ गतेपछि पुनः ओलीकै नेतृत्वमा एमालेको सरकार समेत बन्ने बताइन् । राष्ट्रियता, सार्वभौमिकता, अखण्डताका सवालमा ओलीले निर्वाह गरेको भूमिकाकै कारण एमालेको सरकार जनता माझ बसेको दावी गरिन् ।

















0 प्रतिकृया