Follow us:


Follow us

२३ मंसिर २०७९, शुक्रवार
२३ मंसिर २०७९, शुक्रवार


नेपाल मेडिकल कलेजमा किड्नी, कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने

एक्सन खबर
असोज, ८, २०७९




नेपाल मेडिकल कलेजमा किड्नी, कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने

काठमाडौं, ७ असोज । नेपाल मेडिकल कलेजले शैक्षिक सत्र २०२२ मा भर्ना भएका विद्यार्थीहरुलाई आज भब्य स्वागत गरेको छ । चिकित्सा शिक्षा आयोगको एकीकृत परीक्षा पास गरी कलेजमा भर्ना हुन आएका एमविविएस, विडिएस, विएस्सी नर्सिङ तहका विद्यार्थीलाई कलेजले स्वागत गरेको हो ।

कलेजका अध्यक्ष डा. भोला रिजालको प्रमुख आथित्यमा भएको कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा. राजेन्द्र कोजू विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. रिजालले नेपालको मेडिकल शिक्षामा एनएमसीको महत्वपूर्ण योगदान रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा पनि योगदान पुर्याएको चर्चा गरे । एनएमसीमा पढेका दक्ष जनशक्तिहरु अहिले संसारभर पुगेको बताउँदै डा. रिजालले विद्यार्थीहरुको सफलतामा कलेजले गर्व गरेको जिकीर गरे । नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै डा. रिजालले महाकवी लक्ष्मी प्रसाद देवकोटाको कविता यात्रीको अंश प्रस्तुत गर्दै दुःखी र रोगीहरुको सेवा भन्दा ठूलो पुन्य केही नहुने बताए । कलेज स्थापना गर्दा नगरबासीले दिएको साथ र सहकार्यको प्रशंसा गरे ।

कार्यक्रमका विशिष्ट अतिथी काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा. राजेन्द्र कोजूले नेपालको मेडिकल शिक्षामा एनएमसीको योगदानको चर्चा गर्दै नव आगन्तुक विद्यार्थीहरुलाई लगनशील भएर अध्ययन गरी देश सेवामा लाग्न सल्लाह दिए । विरामीको सेवा गर्नु जस्तो उत्तम कार्य अरु केही नभएको पनि बताए ।

यस्तै कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसालले नगरबासीका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रममा नगरपालिका मेडिकल कलेजसँग सहकार्य गरी अगाडी बढ्न तयार रहेको बताए । नगरपालिकाले नगरका नागरिकको स्वास्थ्य उपचारका लागि कलेजसँग सहकार्य गर्ने निर्णय नै गरेकाले कलेजसँग समन्वय गर्न चाहेको बताए । ‘हामी कलेजसँग महिलाहरुको पाठेघर समस्या लगायतका विषयमा सहकार्य गरेर अगाडी बढ्न चाहन्छौं ।’ उनले भने । स्वास्थ्य र शिक्षामा नगरमा कुनै राजनीति नगर्ने बताउँदै मेयर रिसालले स्थानीयलाई केही सहुलियत दिन भन्दै बरु नगरपालिका त्यसका लागि सहयोग र समन्वय गर्न तत्पर रहेको जनाए ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका निवर्तमान सांसद तथा मन्त्री रामेश्वर फुँयालले गोकर्णेश्वर नगरको विकासका लागि तीनै तहका सरकार एक भएर अगाडी बढेको चर्चा गरे । नगरको स्वास्थ्यमा सुधार ल्याउन एनएमसीको योगदानको चर्चा गर्दै दिगो रोजगारमुखी, सम्पदामुखी विकासमा सहकार्य गरेर अगाडी बढन आग्रह गरे । साथै, उनले राष्ट्रिय सवालमा दलहरु मिलेर काम गर्ने पनि बताए ।

गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामाले कलेजलाई जुन डाक्टरको बोर्डमा नाम छ त्यही डाक्टर भेट्ने वातावरण बनाउन आग्रह गरिन् । ‘अन्य अस्पतालहरुमा बेड नपाउँदाको अवस्थामा घर अगाडीको अस्पतालमा बिरामी नभएर वेड खाली हुँदा दुखः लाग्छ । यसको सेवाहरु सुधार गरेर जनतालाई राम्रो स्वास्थ्य सेवा दिन सबै लाग्नुपर्छ ।’ उपमेयर लामाले भनिन् ।



कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले मेडिकल कलेजलाई सुविधासम्पन्न स्वास्थ्य संस्था बनाउन आफुहरु लागि परेको बताए । आउँदा दिनहरुमा नेपाल मेडिकल कलेजमा मिर्गौला, कलेजो प्रत्यारोपणका सेवाहरु समेत स्थापना गर्ने जनाए । आगामी २ वर्षभित्र नेपाल मेडिकल कलेजलाई नेपालकै नमूना स्वास्थ्य संस्था बनाउने प्रतिबद्धता गरे । ‘हामीलाई २ वर्षको समय चाहिन्छ, अहिले आर्थिक समस्या छ तर, हामीले गरेका प्रतिबद्धता पुरा गरेरै छाड्छौं ।’ अन्सारीले भने ।

उनले स्थानीय जनता र स्थानीय तहसँग सहकार्य गरेर स्वास्थ्य सेवाको विकासका लागि काम गर्न कलेज प्रतिबद्ध रहेको पनि प्रष्ट्याए । स्वास्थ्य क्षेत्रलाई सुधार्न आफुलाई सबैले साथ र हौसला दिएको प्रति धन्यवाद पनि दिए ।

कार्यक्रममा कलेजकी बोर्ड सदस्य डा. साविया यासमिनले काम गर्दै जाँदा कहिले काँही त्रुटीहरु भएपनि त्यसलाई सुधार गरेर जाने बताइन् । स्वास्थ्य सेवाका सन्दर्भमा नागरिकहरुले औल्याईदिएका विषयहरु हल गर्दै कलेजलाई नमुना मेडिकल कलेजको रुपमा स्थापित गर्न इमान्दारिताका साथ लाग्ने पनि जनाइन् ।

कार्यक्रममा कलेजका सञ्चालक समितिका सदस्य, स्थानीय तहका जनप्रतिनिधि, विद्यार्थी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । साथै, नवप्रवेशी विद्यार्थीहरुको स्वागतार्थ कलेजमा अध्ययनरत विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम पनि गरेका थिए ।

























0 प्रतिकृया