Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


केएमसीका दक्ष चिकित्सकहरु अब इन्द्रावती सामुदायिक सेवा केन्द्रमा

एक्सन खबर
असोज, १४, २०७९


केएमसीका दक्ष चिकित्सकहरु अब इन्द्रावती सामुदायिक सेवा केन्द्रमा

काठमाडौं, १४ असोज । काठमाडौं मेडिकल कलेज र काभ्रेपलाल्चोक सिपाघाट स्थित इन्द्रावती सामुदायिक सेवा केन्द्रविच निम्न वर्गीय समुदायको निमित्त स्वास्थ्य सेवा प्रदान गर्ने सन्दर्भमा सम्झौता भएको छ ।

सहमति अनुसार केएमसीले सेवा केन्द्रको उपचारात्मक सेवालाई केएमसीको रुरल ट्रेनिङ एण्ड हेल्थ सेन्टरका रुपमा सञ्चालन गर्ने सहमति भएको हो । केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार २०७२ सालदेखि सेवा केन्द्रसँगको सहकार्यलाई निरन्तरता दिन सम्झौता गरिएको हो ।

सम्झौता अनुसार केएमसीले उक्त स्वास्थ्य सेवा केन्द्रलाई नियमित स्वास्थ्य कार्यक्रम सञ्चालनार्थ मेडिकल, डेण्टल र नर्सिङका विद्यार्थीहरु, इन्टर्न, मेडिकल अधिकृत तथा विज्ञ चिकित्सकहरु आवश्यक्ताका आधारमा उपलब्ध गराउने उल्लेख छ ।

यसैगरी सेवा केन्द्रका नर्सिङ स्टाफ, पारामेडिकल स्टाफ, मेडिकल डाक्टर आदीको सीप तथा कार्य क्षमता अभिबृद्धिका लागि छोटो समयका लागि तालिमको व्यवस्थापन गर्दा केएमसीका जनशक्तिलाई खाना, खाजा, आवास र यातायातको व्यवस्थापन गर्ने सहमति भएको छ । संस्थाको तर्फबाट सञ्चालनमा ल्याइएको सामुदायिक स्वास्थ्य विकास कार्यक्रम सञ्चालनमा रहेको अवस्थामा सम्बन्धीत विभाग अन्तरगत विज्ञ तथा विद्यार्थीहरुको संलग्नतामा दुवै पक्षलाई उपयुक्त हुनेगरी वर्षको २ पल्ट योजना स्थल भ्रमण गरी मुल्यांकन तथा सुझाव प्रदान गर्ने सहमति गरिएको छ ।

यस्तै स्वास्थ्य केन्द्रले रिफर गरेका बिरामीहरुलाई केएमसीमा उपचार गर्नुपरेमा केउमसीले उपलब्ध गराउने सेवाहरु (दन्तरोग, डायलाइसिस र अस्पतालले तोकेको अन्य विशेष सेवा वाहेक) क्याबिन प्रयोग नगरेको हकमा १० प्रतिशत छुट दिइने छ । उक्त छुट सुविधा दुर्घटना भएर आउने तथा घाउ चोटपटक लागेर आउने बिरामीले पनि पाउनेछन् ।

केएमसीले इन्द्रावती सामुदायिक सेवा केन्द्रको आसपास दुवै पक्षलाई अनुकुल हुने समय मिलाएर वर्षमा कम्तिमा ५ पटक निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गर्ने सहमति भएको छ । उक्त स्वास्थ्य शिविर सञ्चालनार्थ आवश्यक चिकित्सक, नर्स तथा इन्र्टन जस्ता प्राविधिक जनशक्ति केएमसीले तथा अप्राविधिक जनशक्ति सेवा केन्द्रले व्यवस्थापन गर्ने भनिएको छ । निःशुल्क स्वास्थ्य शिविरमा आएका जटिल प्रकारका बिरामीको उपचार केएमसीले गर्दा त्यसको शुल्क बिरामी पक्षले व्यहोर्ने र दन्तरोग, डायलाइसिस र अस्पतालले तोकेको विशेष सेवावाहेक अन्य सेवाहरुमा ओ.टी चार्जमा बिरामी पक्षलाई ५० प्रतिशत तथा अन्यमा १० प्रतिशत छुट पनि दिने भनिएको छ ।

सम्झौता पत्रमा इन्द्रावती सामुदायिक सेवा केन्द्रका अध्यक्ष कुबेरकाजी श्रेष्ठ तथा केएमसीका तर्फबाट कम्युनिटी मेडिसिनका विभागीय प्रमुख प्राध्यापक डाक्टर सुनिल कुमार जोशीले हस्ताक्षर गरेका छन् ।

पछिल्लो समय स्थानीय स्तरमा सञ्चालित स्वास्थ्य सेवा केन्द्र, सामुदायिक संस्थाहरुसँगको सहकार्यमा केएमसीका सेवाहरुलाई गाउँगाउँ पुर्याइने व्यवस्था गरिएको केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले बताएका छन् । केएमसीले स्वास्थ्य सेवा सर्वसुलभ बनाउन पनि यस्ता संस्थाहरुसँग सहकार्य गरिएको हो ।

शहरमा बसोबास गर्ने जनताको सहजै अस्पताल र विशेषज्ञ डाक्टरहरुको पहुँच पुग्ने भएपनि ग्रामिण भेगका जनताले सामान्य औषधी उपचार समेत गर्न नसकी दुखः कष्ट व्यहोरी रहेको अवस्थामा केएमसीले स्थानीय तहका संस्थाहरु सँग सहकार्य गरेर गाउँगाउँमा स्वास्थ्य सेवा पुर्याउँदा न्यून आय भएका, अस्पतालको सेवा बाट बञ्चित नागरिकलाई राहत मिल्ने डा. शर्माको भनाई छ ।














0 प्रतिकृया