Follow us:


Follow us

३ चैत २०८१, सोमवार
३ चैत २०८१, सोमवार


अग्नीपरीक्षा दिन तयार भगबती चौधरी

एक्सन खबर
कार्तिक, ३, २०७९




अग्नीपरीक्षा दिन तयार भगबती चौधरी

सुनसरी, ३ कार्तिक । सुनसरी क्षेत्र नं. ३ बाट सामाजिक र आर्थिक काम गर्दै राजनीतिमा प्रभावशाली छाप बनाएकी नेकपा एमालेकी उम्मेदवार भगबती चौधरीले जनताको जिवनस्तर सुधार्ने गरी काम गर्न आफु अग्नीपरीक्षा दिन तयार रहेको बताएकी छिन् । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार रहेकी चौधरीले आफ्नो क्षेत्रको विकास र समृद्धिकै लागि राजनीतिमा लागेको बताउँदै निर्वाचन जितेर गए ३० वर्षमा हुन नसकेको विकास ५ वर्षमा गरेर देखाउने समेत बताएकी छिन् ।

चुनाबी सरगर्मी बढेसँगै आन्तरिक रुपमा नेता कार्यकर्ताहरु विच छलफल र स्थानीय समस्या केलाउन व्यस्त नेतृ चौधरीले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पर्यटन क्षेत्रको सुधार गर्नु र गरिबीको चंगुलबाट आफ्नो क्षेत्रलाई मुक्त गर्नु आफ्नो जीवनको मुल लक्ष्य रहेको बताइन् । ‘यो क्षेत्रको विकास गर्नु, यहाँको गरिबी निर्मुल गर्नु, यहाँका जनताको गाँस बास र कपासको ग्यारेण्टी गर्दै विकासका सबै सुविधाहरु उपलब्ध गराउनु मेरो सपना हो । त्यो सपना पुरा गर्न मलाई योपल्ट जनताले ऐतिहासिक मत दिएर पठाउनु हुन्छ ।’ इटहरी, खनारका नेता कार्यकर्तासँगको भेटघाट गर्दै नेतृ चौधरीले बताइन् ।

सुनसरी ३ का सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक समस्याहरु केलाउँदै केन्द्र सरकारमा रहेर जनतासँग प्रत्यक्ष जोडिएका एजेण्डाहरु घनिभूत रुपमा उठाउने नेतृ चौधरीको योजना छ । अशिक्षा, गरिबीसँग जुधिरहेका समाज र राज्यका नजरमा नपरेका समुदायको उत्थान, विकासका लागि आफ्नो जीवन समर्पण गर्ने लक्ष्य लिएकी चौधरीले निर्यातमुखी कृषि प्रणाली, युवा स्वरोजगार र प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेकी छिन् । ‘यहाँका ९० प्रतिशत जनता कृषिमा आधारित रहेपनि उनीहरुले जिविकोपार्जनका लागि मात्र कृषि कर्म गरेका हुन् । बैज्ञानिक कृषि प्रणाली लागू गर्दै कृषिलाई व्यवसायीकरण गर्नु मेरो एजेण्डा हो ।’ चौधरीले भनिन् ।

उनले आगामी निर्वाचनमा आफुले एैतिहासिक जित हासिल गर्ने दावी गर्दै ३० वर्ष यताको विकास ५ वर्षमै पुरा गर्ने पनि दावी गरिन् । ‘जितेर गएको पाँच बर्षमा मेरा सबै प्रतिबद्धताहरु पुरा गर्न अग्नीपरीक्षा दिन तयार छु । विगत ३० बर्षमा नभएको बिकास र समृद्धि निर्वाचित भएर गएपछि आउँदो ५ वर्षमा पुरा गर्छु ।’

ग्रामीण महिला सशक्तिकरण र लघुवित्त अभियानलाई अढाई दशकदेखि उठाउँदै आएकी भगबती चौधरीले युवा स्वरोजगार र प्राविधिक शिक्षालाई पनि महत्व दिँदै आएकी छिन् । व्यक्तिगत तवरमा दुहवीमा दिनेश चौधरी स्मृति पोलिटेक्निक इन्स्टिच्युट र दिनेश चौधरी आधारभूत विद्यालय समेत खोलेर शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएकी चौधरीले गाउँगाउँमा वित्तीय साक्षरता फैलाउँदा हज्जारौं महिला लाभान्वित भएका उदाहरणहरु छन् । शिक्षा र आर्थिक सशक्तिकरण विकासको मुख्य आधार ठानेकी चौधरीले आफ्नो क्षेत्रका जनतालाई गरिबी र विपन्नताबाट माथि उठाउने लक्ष्य लिएकी छिन् ।

दुहवी २ निवासी नेतृ मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका विजयकुमार गच्छदारसँग प्रतिष्पर्धा गर्दैछिन् । यसअघि दोश्रो संविधान सभा र ०७४ सालको प्रतिनिधिसभा निर्वाचन समेत गच्छदारसँग प्रतिष्पर्धा गरेकी चौधरीलाई योपल्ट जनता समाजवादी पार्टीको समेत मत प्राप्त हुनेछ । साथै, नेतृ चाैधरीकाे पक्षमा युवा र स्वतन्त्र समुहकाे समेत समर्थन रहेकाे छ । भने, विजयकुमार गच्छदारका पुराना कांग्रेसीहरू पनि एमालेमा प्रवेश गरेकाले चाैधरी प्रतिनिधि सभामा जाने बाटाे बनेकाे पार्टीकै बुझाइ छ ।

गएको स्थानीय तहमा गढी गाउँपालिका तथा बर्जु गाउँपालिकामा ऐतिहासिज जित दर्ता गरेको एमालेले इटहरी उपमहानगरमा उपमेयर सहित दुई तिहाई वडाहरुमा जित दर्ता गरेकाले त्यसको फाइदा छ । साथै, प्रमुख प्रत्यासी गच्छदार बहुचर्चित ललिता निवासको जग्गा काण्डमा अख्तियारले मुख्य आरोपी बनाउँदै भ्रष्टाचार मुद्दा दायर गरेकोले पनि स्वच्छ तथा अहिलेसम्म कुनै लाभको पदमा नपुगिकन देशभरका महिलाहरुका लागि काम गरेकाले चुनाब जित्न सहज बनेको छ ।














0 प्रतिकृया