उपचारको गुन सुनिल शर्मालाई भोट दिएर तिर्छुः मतदाता
एक्सन खबर
बेलबारी, २३ कार्तिक । नेपाली कांग्रेसबाट मोरङ ३ मा प्रतिनिधि सभाको लागि उम्मेद्वार बनेका डा. सुनिल शर्मा बेलबारी नगरपालिकाको वडा नम्बर ४ को गरगाउँमा चुनावी घरदैलो अभियानको क्रममा पुग्दा स्थानीय हर्षित भए ।
आफूले १५ वर्षअघि घाँटीको अपरेशन गर्दा नोबेलमा राम्रो उपचार पाएको र डा. सुनिल शर्माका पिताले पनि दिनहुँ बेडमै आएर आफ्नो स्वास्थ्यवस्थाको बारेमा सोधखोज गर्ने गरेको एक महिलाले बताइन् ।
‘कोशी हस्पिटल गएँ, आज उपचार गर्याे, भोलि उस्तै, अनि गोल्डेन गएँ । गोल्डेनमा यहाँ हुँदैन नोबेलमा गर्ने कि घोपामा गर्ने भन्यो,’ मासुको डल्लो स्वरयन्त्रमा पलाएर शल्यक्रिया गर्नुपर्दाको अवस्था सम्झँदै उनले भनिन्, ‘नोबेलमा उपचार गर्दा घर आउनजान सबैलाई सुविधा हुन्थ्यो । अनि नोबेलमा उपचार गरियो । नोबेलमा उपचार गर्दा सबै ठीक भयो ।’ उनी बोलिरहँदा घाँटीको अगाडिको भागमा अपरेशन गरेपछि लगाएको टाँका प्रष्टै देखिन्थ्यो ।
डा. सुनिल शर्माका बाबुले आफ्नो उपचारमा सधैँ रेखदेख गरेको उनले शर्मालाई सुनाइन् । ‘नानी (डा. शर्मालाई देखाउँदै)को बुबा सधैँ लौरो टेक्दै आउँथ्यो,’ थारु र नेपाली भाषा बोल्ने उनले अशुद्ध भाषामै भनिन्, ‘तिमीलाई कस्तो छ छोरी भन्थ्यो । मेरो नानी (डा. सुनिल शर्मा) ले जित्यो भने नि म केके माग्छुमाग्छु । नानीले जितोस् म आशीर्वाद माग्छु ।’
डा. शर्माले नोबेल अस्पतालमार्फत् सो गाउँमा गरेको स्वास्थ्य शिविरमार्फत् धेरैले उपचार पाएकाले सो गुन मतमार्फत् फिर्ता गर्ने स्थानीयले बताए । डा. शर्मा लोकतान्त्रिक गठबन्धन नेपाली कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार छन् । उनी ०७४ सालमा पनि उम्मेदवार थिए, त्यसबेला नै बाम गठबन्धनका उम्मेदवार भानुभक्त ढकाललाई आच्छुआच्छु पारेका थिए ।
0 प्रतिकृया