Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


‘जनताले जिताईसक्नु भएको छ, घोषणा मात्र गर्न बाँकी’ भगबती चौधरी

एक्सन खबर
मंसिर, १, २०७९


‘जनताले जिताईसक्नु भएको छ, घोषणा मात्र गर्न बाँकी’ भगबती चौधरी

इटहरी, १ मंसिर । सुनसरी क्षेत्र नं. ३ बाट मंसिर ४ गतेको निर्वाचनमा प्रतिष्पर्धा गर्ने भगबती चौधरी नेकपा एमालेकी प्रभावशाली नेतृ हुन् । चौधरीले योपटक जनताले आफुलाई अनुमोदित गरेर संसदमा पठाउने दावी गरिरहेकी छिन् । जनताको जीवनस्तर उकास्ने गरी काम गर्ने लक्ष्य लिएकी चौधरीले ३१ वर्षमा नभएको काम ५ वर्षमै गर्ने दावी समेत गरेकी छिन् । ३ दशकदेखि समाजसेवा, महिला सशक्तिकरण र आर्थिक सशक्तिकरणमा सक्रिय नेतृ भगबती चौधरीसँग निर्वाचनका विषयमा केन्द्रीत रहेर गरेको कुराकानीको संक्षेपः

१) निर्वाचनको अन्तिम तयारी सकियो ?
सुनसरी क्षेत्र नं. ३ मा नेकपा (एमाले) निर्वाचनमा प्रतिष्पर्धा गर्न तम्तयार भएको छ । वडा, नगर टोल र क्षेत्रीय समितिहरु सक्रियताका साथ लाग्नु भएको छ । ३ नं. क्षेत्र निर्वाचन परिचालन मूल कमिटीका संयोजक लिलम बस्नेतको नेतृत्व र निर्देशनमा चुनाबी अभियानहरु अगाडी बढाइरहँदा जनताले यो पटक भारी मत दिएर मलाई जिताउनेमा ढुक्क छु ।

२) तेश्रो पटक पुरानै प्रतिष्पर्धीसँग चुनावी मैदानमा हुँदा जनता माझ जाने नयाँ एजेण्डा के छ ?
यो क्षेत्रका मुख्य समस्याका रुपमा रहेको निर्यातमुखी कृषि, युवा स्वरोजगार, प्राविधिक शिक्षा मैले उठान गरेका एजेण्डा हुन् । सुनसरी क्षेत्र नं. ३ विकासका दृष्टिकोणले ३१ वर्षदेखि पछि छ । विगतमा निर्वाचित भएर गएका प्रतिनिधिले काम नगर्दा जनताहरु विकासका आधारभूत कुराबाट बञ्चित छन् । शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, पर्यटन स्थलको विकास, कृषिमा आधुनिकीकरण, आर्थिक तथा महिला सशक्तिकरण, युवा स्वरोजगार जस्ता कुराहरु मैले प्राथमिकताका साथ उठाएको छु । साथै, नेकपा एमालेको ‘सुखी नेपाली समृद्ध’ नेपाल अभियानसँगै पार्टीको घोषणा पत्र अनुसार यो क्षेत्रको विकास, यहाँका जनताको जीवनस्तर उकास्नु मेरो मुख्य लक्ष्य हो ।

यो क्षेत्रमा नयाँ नेतृत्व र नयाँ भिजन चाहिएकोमा म योग्य छु, नेतृत्व लिन तयार छु । ३१ वर्षमा हुन नसकेको विकास ५ वर्षमा गरेर देखाउने रोडम्याप मसँग छ ।

३) तपाई सामाजिक, आर्थिक अभियानकर्मी पनि यो क्षेत्रको बर्तमान अवस्था कस्तो छ ?
यो क्षेत्र विगत ३१ वर्षदेखि विकासका दृष्टिकोणले धेरै पछि परेको छ । इटहरी, दुहवीका केही शहरी क्षेत्रमा सामान्य विकास भयो होला, तर, यहाँका जनताको वास्तविक अवस्था, विपन्नता, चरम गरिबी बुझ्न उत्तरी र दक्षिणी भेग जानै पर्दछ । बर्जु, गढी, सत्तेरझोडा, इनरुवाको चाँदबेला, सोनापुरकै छातावेलीका गरिब, विपन्न र श्रमिक वर्गको घर घर छिर्नुभयो भने थाहा हुन्छ गरिबी । मैले २०५१ सालदेखि सामाजिक काम गर्दैगर्दा, महिला सशक्तिकरण र आर्थिक सशक्तिकरणका अभियानहरु चलाउँदा जनताको दुखः पिडा देखेको छु ।

यहाँका गरिब, विपन्न, दलित, मुस्लिम समुदायका जनताको जिवनस्तर ३० वर्ष अगाडी जे थियो त्यो भन्दा विग्रिएको छ । अझ थारु समुदाय जोसँग पहिला दुई कठ्ठा जमिन थियो त्योसमेत सुकुम्बासी हुने अवस्थामा छन् । साहु महाजनको ऋणमा जमिन गुमाउँदै छन् । सामुदायिक विद्यालयको शिक्षा नाम मात्रको छ । गतिलो अस्पताल छैन । सुकुम्बासी समस्या छ । खानेपानीको ट्यांकी बन्यो १५ वर्षदेखि पानी छैन । साक्षरता कम छ । बेरोजगारी बढ्दो छ । २१ औं शताब्दीमा सामान्य रुपमा कसरी जीवनयापन गरिन्छ त्यो समेतबाट जनता बञ्चित छन् ।

४) यस्तो परिस्थिति सिर्जना हुनुको मुख्य कारण के हो ?
सबैको जड राजनीति हो । ६ पटक सांसद हुँदै १३ पटक मन्त्री उपप्रधानमन्त्री भएकाले जनतालाई दास जस्तै ठान्दा यो परिस्थिति आएको हो । आफुलाई आदिवासी जनजाति, थारुको ‘मसिहा’ भन्दै जनतालाई भोट बैंकमा रुपमा प्रयोग गर्ने तर, सत्तामा पुगेपछि तानाशाह बन्ने प्रवृत्तिले विकास भएन ।

राज्यलाई चलाउने राजनीतिले हो । र, नेतृत्वमा पुगेकाले दुरदृष्टी नराख्दा अथवा जनतालाई जे गरेपनि हुन्छ ‘यिनीहरु मेरो दास हुन्’ भन्ने सोच राख्नाले समस्या भएको हो । यसलाई बदल्न पनि नयाँ नेतृत्व अपरिहार्य छ ।

५) आर्थिक सवलीकरणका नाराअघि सार्दै राजनीतिमा हुनुहुन्छ, तर पछिल्लो समय तपाईले नेतृृत्व गर्नुभएको माइक्रोफाइनान्सले जनतालाई चर्को व्याज लियो भन्ने गुनासो छ नि ?
पहिलो कुरा फरवार्ड माइक्रोफाइनान्स मेरो एकलौटी सम्पत्ति हैन, मैले यसबाट कुनैपनि प्रकारको तलब भत्ता पाउँदिन । संस्था सञ्चालनका लागि छुट्टै सञ्चालक समिति छ । म कार्यकारी हैसियतमा छैन, यसमा लाखौं सर्वसाधारण जनताको शेयर छ, लगानी छ ।

दोश्रो कुरा माइक्रोफाइनान्स नेपाल राष्ट्र बैंकबाट इजाजत लिएर उसको नीति नियममा रहेर काम गर्ने ‘घ’ बर्गको इजाजत प्राप्त संस्था हो । यसले गरिब विपन्न नागरिक र समुदायमा राष्ट्र बैंकले नै तोकिदिएको दररेट अनुसार मात्र कर्जा प्रवाह गर्दछ ।

तेश्रो माइक्रोफाइनान्सले वित्तीय कारोबार गर्दा बैंकहरुको भन्दा बढी प्रशासनिक खर्च गर्नुपर्छ । कर्जा प्रवाह गर्दा र किस्ता उठाउँदा गाउँगाउँमा कर्मचारी पठाउनु पर्छ, वित्तीय साक्षरता, सीपमुलक तालिम प्रदान गर्नुपर्छ । सँगै हामीले धेरै मात्रामा विनाधितो कर्जा प्रवाह गर्नुपर्ने भएकाले बैंकहरुको भन्दा जोखिम पनि बढी छ । यसकारण बैंकहरुको दाँजोमा हाम्रो ब्याजदर थोरै बढी भएको देखिएको हो ।

अर्को, माइक्रोफाइनान्सहरुले क, ख र ग वर्गका बैंकहरुबाटै कर्जा लिएर काम गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले कुनै सहुलियत दिँदैन । बजारमा राष्ट्र बैंकबाट २, ३ प्रतिशतमा पैसा लिएर महंगोमा लगाउँछ जसले भनिरहेको छ त्यसलाई म चुनौति दिन चाहन्छु कुन निकायले कहाँबाट यती सस्तो पैसा दिन्छ ? त्यस्तो छभने हामी जनतालाई ५, ६ प्रतिशतमै विना धितो लगानी गर्न सक्छौं । जसले यो आरोप लगाईरहनु भएको छ उहाँले यतिका वर्षसम्म के हेरेर बस्नु भयो ? गरिब विपन्न नागरिकको उत्थानका लागि लगानी गर्नुस । त्यसकारण यस्ता हल्ला र अफवाह फैलाउनु समाजलाई दिग्भ्रमित मात्र पार्नु हो । त्यत्रो वर्ष सत्तामा रहेको, नियम कानुन बनाएकासँग बैंक तथा वित्तीय संस्थाहरु कसरी चल्छन् भन्ने सामान्य ज्ञान पनि रहेनछ ।

६) तपाईलाई जनताले किन मत दिने ?

म युवा हुँ, पढेलेखेकी छु, देश विदेशको अनुभव छ । मुलुक र समाजलाई कसरी विकास गर्न सकिन्छ भिजन बनाएकी छु । विगत २५ वर्षदेखि मैले समाज सेवा, आर्थिक तथा महिला सशक्तिकरणका क्षेत्रमा गरेको कामको अनुभवलाई समाज निर्माण, देश विकासका पक्षमा खर्च गर्नपनि जनताले मुल्यांकन गर्नुपर्छ । तपाई जन्मेर ३० वर्षको युवा हुनुभयो, पढ्नु भयो, घरगृहस्थी गर्नुभयो तर, तपाईलाई नेतृत्व गर्ने व्यक्ति चैं ३० वर्ष अगाडी कै ? उहाँबाट समय सापेक्ष काम हुन सक्दैन । उहाँलाई रिटायर्ड गर्नु नै यो क्षेत्रमा विकासको स्वर्णिम युगको सुरुवात गर्नु हो ।

७) सुनसरी क्षेत्र नं. ३ लाई कसरी विकास गर्न सकिन्छ ?

यो क्षेत्र कृषिका लागि उर्वरभूमी हो । ८० प्रतिशत जनता किसान हुनुहुन्छ । कृषि कर्मलाई आधुनिकीकरण गर्दै निर्यातमुखी बनाउनु पर्दछ । युवाहरुलाई गाउँघरमै स्वरोजगार बनानु पर्छ । प्राविधिक शिक्षाका लागि गुणस्तरीय स्कुल, कलेज र प्राविधिक विश्वविद्यालयको आवश्यक छ । एक गाउँ एक उद्योग स्थापना गरेर श्रमिक मजदुरलाई रोजगार बनाउनु पर्छ । पर्यटन क्षेत्रको विकासबाट यो क्षेत्रका दक्षिणी र पश्चिमी भेगका जनतालाई आर्थिक सवलीकरणमा जोड्नु पर्छ । त्यसका लागि बर्जु ताल प्राकृतिक सम्पत्ति हो । उत्पादीत कृषिजन्य वस्तुहरुको बजारीकरण गर्ने, किसानहरुलाई समयमै विउविजन उपलब्ध गराउने, बेलाबेलामा सम्मान, राहतका कार्यक्रम ल्याउनु पर्छ ।

८) यो क्षेत्रमा करिब ३० प्रतिशत जनताहरुसँग लालपुर्जा छैन, उनीहरुलाई कसरी संवोधन गर्ने ?

कुनैपनि नागरिक भूमिहिन हुनुहुँदैन, गाँस बास र कपासबाट बञ्चित हुँनु हुँदैन भन्ने नेकपा एमालेको नीति नै हो । वास्तविक भूमिहिन नागरिकको पहिचान गरी उनीहरुलाई लालपुर्जा दिने, व्यवस्थापन गर्ने कार्यमा म सदैव लाग्नेछु । राज्यको नीति नियम अनुसार भूमिहिन जनताको जीवनस्तर उकास्न पहल र पैरवी गर्नु मेरो दायित्व हो । साथै, उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रमा पहुँच पुर्याउन म प्रतिबद्ध छु ।

९) नागरिकताका सवालमा पनि समस्या छ त्यसलाई कसरी समाधान गर्ने ?

नेपालको कुनैपनि भू–भागका जन्मिएका नागरिक पहिचान विहिन बन्नु हुँदैन । नागरिकता समस्यामा राज्यले समुचित निर्णय लिनुपर्छ । नेपाली नागरिकलाई पहिचान दिने सवालमा राज्यले अपनाउने नीतिले राष्ट्रियता पनि कमजोर हुँनुहुँदैन ।

१०) यो निर्वाचनबाट विजयी हुन्छु भन्नेमा कतिको विश्वस्त हुनुहन्छ ?

जनताले जिताई सक्नु भएको छ, खाली मंसिर ४ गते ब्यालेटमा खस्ने जनताको मतपत्र गनेर घोषणा मात्र गर्न बाँकी छ । विगतका निर्वाचनमा मलाई देखाउनु भएको सद्भाव कायमै छ । याे पटक जनता समाजवादी पार्टीले एमालेलाइ साथ दिएकाे छ। त्यससँगै याे क्षेत्रका अधिकांश कांग्रेसीजन पनि नेतृत्व परिवर्तनकाे पक्षमा भएकाेले जनताले यो क्षेत्रको विकास र समृद्धिका लागि ऐतिहासिक भोट दिनुहुनेछ भन्नेमा म ढुक्क छु ।

११) अन्त्यमा के भन्न चाहनुहुन्छ ?

मंसिर ४ गतेको निर्वाचनमा नेकपा एमाले विजयी भएर आएपछि नेपाललाई नयाँ बाटोमा लैजानेछ । सुनसरी क्षेत्र नं. ३ मा पनि परिवर्तनको स्वर्णीम सूर्योदय हुनेछ । जनतालाई कुनै डर, त्रास, लोभ लालच नराखी निष्पक्ष ढंगले सूर्य चिन्हमा मतदान गरिदिनु आग्रह गर्दछु । 













0 प्रतिकृया