स्वास्थ्य र शिक्षा क्षेत्रमा मुलुककै अग्र भागमा कर तिर्ने डा. सुनिल शर्माको अस्पताल
एक्सन खबर
काठमाडौं, ७ मंसिर । समाजसेवी डा. सुनिल शर्मा नेतृत्वको नोबेल शिक्षण अस्पताल शिक्षा र स्वास्थ्य सेवामा सबैभन्दा बढी आयकर तिर्नेमा सम्मानीत भएको छ । आन्तरिक राजस्व विभागले आज बुधबार एक कार्यक्रममा डा. सुनिल शर्मा नेतृत्वको नोबेल शिक्षण अस्पताललाई स्वास्थ्य र शिक्षातर्फ आर्थिक वर्ष ०७७/०७८ मा सबैभन्दा बढी आयकर तिरेकोमा सम्मानीत गरेको हो ।
काठमाडौंको लाजिम्पाटमा राष्ट्रिय कर दिवस समापनका आयोजित कार्यक्रममा नोबेल शिक्षण अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. भोगेन्द्र प्रसाद उपाध्यायले उक्त सम्मान ग्रहण गरे । २०७८/७९ मा नोबेल मेडिकल कलेजले १७ करोड आयकर तिरेर स्वास्थ्य र शिक्षा क्षेत्रमा सबै संस्थालाई उछिनेको हो ।
नोबेलले सेवामार्फत कमाएको रकम समयमै आयकर तिरेर नेपालका स्वास्थ्य र शिक्षा क्षेत्रका सञ्चालक इमानदार छन् भन्ने नोबेलले पुष्टि गरेको विभागका अधिकारी बताउँछन् ।
विभागले हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट करदाता व्यक्ति र संस्थाको नाम सार्वजनिक गर्दै सम्मान गर्ने गरेको छ । अघिल्लो वर्ष पनि शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्था नोबल मेडिकल कलेज नै थियो । गत वर्ष संस्थाले २२ करोड रुपैयाँ आयकर तिरेको थियो ।
प्रमुख कार्यकारी अधिकृत डा. उपाध्यायका अनुसार नोबेलले आ.व.०७७/०७८ मा २ सय ६५ करोड आम्दानी गर्दै त्यसको कर तथा आयकर भुक्तानी गरेको छ । नोबेल समयमै कर तिर्नेमा अग्रणी संस्थाका रुपमा पनि दरिएको छ ।
प्रदेश १, मधेश प्रदेशसँगै छिमेकी देश भारतका सिमावर्ती क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने तथा गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्ने सवालमा नोबेल शिक्षण अस्पतालको महत्वपूर्ण योगदान रहेको छ । पछिल्लो समय नोबेलले स्वास्थ्य सेवामा नविनतम विशिष्टीकृत सेवाहरु सञ्चालन गरिरहेको छ ।
न्यूरोतर्फ दक्षिण एशियाकै उत्कृष्ट प्रविधि भित्र्याएको नोबेलले चाडैं क्यान्सर अस्पतालसमेत सञ्चालनमा ल्याउने भएको छ । नोबेललाई मुलुककै उत्कृष्ट स्वास्थ्य संस्थामा रुपान्तरण गर्दै आम जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिने लक्ष्य लिइएको नोबेलका सञ्चालक डा. सुनिल शर्माले बताए ।
सामाजिक उत्तरदायित्व अन्तरगत डा. शर्माले नोबेललाई सर्वसुलभ स्वास्थ्य उपचार गर्न संस्थाका रुपमा स्थापित गरेका छन् । प्रदेश १ का गाउँगाउँमा निःशुल्क स्वास्थ्य सेवा पुर्याउँदै विपन्न, गरिब तथा आर्थिक अभावले अस्पतालसम्म पुग्न नसकेका बिरामीलाई डा. शर्माले निःशुल्क उपचार गरिदिएका छन् ।
आर्थिक वर्ष २०७७/७८ मा व्यक्तिगत आयतर्फ विजयकुमार शाह, कम्पनी तर्फ नेपाल टेलिकम निर्यात कारोबार तर्फ शिवशक्ति घ्यु, विशेष उद्योग तर्फ राजेश मेटल, पशुपन्छीतर्फ ओसीबी फुड्स, लघुवित्त तर्फ छिमेक लघुवित्त तथा बैंकको तर्फबाट नबिल बैंक ठूलो आयकरदाताका रुपमा सम्मानीत भए । बीमा व्यवसायबाट नेपाल पुनर्बीमा कम्पनी, पर्यटन व्यवसायमा मनकामना दर्शन, वस्तु व्यापारमा हंसराज हुलाशचन्द र उर्जामूलकमा चिलिमे हाइड्रोपावर सम्मानीत भए ।
यता, मद्यमस्तरीय करदातामा सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल धितोपत्र विनिमय बजार र रेमिटान्स कम्पनीमा आईएमई लिमिटेड उत्कृष्ट घोषित भए ।
0 प्रतिकृया