अनलाइन सट्टाबाजी गरेकाे आरोपमा भारतीयसहित दुई पक्राउ
एक्सन खबर
काठमाडाैं, २५ मंसिर । विभिन्न गेममा अनलाइन सट्टाबाजी गरेको आरोपमा काठमाडौंबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले विभिन्न गेममा अनलाइन सट्टाबाजी गरेको आरोपमा एक जना भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएकाे जानकारी दिए ।
पक्राउ पर्नेमाहरूमा भारत घर भई नरदेवी बस्दै आएका ३२ वर्षीय पवनकुमार शर्मा र पाल्पा घर भई बूढानिलकण्ठ नगरपालिका-८ बस्दै आएका ३७ वर्षीय रूद्रप्रसाद पोखरेल छन् ।
प्रहरी उपरीक्षक रेग्मीका अनुसार काठमाडौंका विभिन्न स्थानमा लुकीछिपी अनलाइन सट्टाबाजी भइरहेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएकाे हाे ।
शनिबार पोखरेललाई जमल र आइतबार शर्मालाई नरदेवीबाट सट्टाबाजी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूमाथि मुलुकी अपराध सहिताको सट्टाबाजी गर्न/गराउन नहुने कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
0 प्रतिकृया