Follow us:


Follow us

२० असार २०८३, शनिवार
२० असार २०८३, शनिवार


प्रतिनिधि सभा निर्वाचनमा ४० दलको जमानत जफत

एक्सन खबर
मंसिर, २९, २०७९


प्रतिनिधि सभा निर्वाचनमा ४० दलको जमानत जफत

काठमाडौँ, २९ मंसिर ।  प्रतिनिधिसभामा समानुपातिकतर्फ कुल सदरमतको ३ प्रतिशत नकटाउने ४० वटा दलको जमानत जफत भएको छ । ४७ दलले बन्दसूची बुझाएका थिए । प्रत्यक्षतर्फ सिट जितेका पाँचसहित ४० दलले समानुपातिकमा एक सिट पनि पाउन सकेनन् ।

निर्वाचन कानुनमा प्रतिनिधिसभामा र प्रदेशसभामा कुनै दलले समानुपातिकमा कम्तीमा एक सिट प्राप्त गर्न नसके धरौटी जफत हुने व्यवस्था छ । प्रतिनिधिसभामा ७ वटा दल मात्रै प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकमा ३ प्रतिशत मत कटाएर राष्ट्रिय पार्टी बन्न सफल भएका छन् ।  आजकाे कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन् ।

एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र, राप्रपा, जसपा र जनमत पार्टीले मात्रै जमानत जोगाएका हुन् । प्रत्यक्षमा १० सिट ल्याएको एकीकृत समाजवादी, ३ सिट ल्याएको नागरिक उन्मुक्ति, ४ सिट जितेको लोसपा, १ सिट जितेका नेमकिपा र राष्ट्रिय जनमोर्चाको जमानत जफत भएको छ । प्रत्यक्षमा एक सिट पनि नजित्ने ३५ दल छन् ।

त्यस्तै प्रदेशमा कुल सदरमतको १.५ प्रतिशतभन्दा बढी ल्याउने दलले समानुपातिकमा सिट पाएका छन् । दलले समानुपातिकमा भाग लिन प्रतिनिधिसभामा ५० हजार र प्रदेशमा २५ हजार धरौटी राखेका थिए । पाँच सय जनाको हस्ताक्षर पेस गरेर दर्ता भएको दलले ५ सय मत पनि ल्याउन नसकेको प्रमुख आयुक्त दिनेश थपलियाले बताए ।

प्रतिनिधिसभामा विवेकशील साझा, एकीकृत शक्ति नेपाल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, राष्ट्रिय मुक्ति आन्दोलन, मौलिक जरोकिलो, नेपाल समावेशी, नेपाल कम्युनिस्ट पार्टी परिवर्तन, राष्ट्रिय नागरिक, नेस्नलिस्ट पार्टीले देशभरबाट ५ हजार मत पनि ल्याएका छैनन् । प्रतिनिधिसभाको समानुपातिकमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएकामा सबैभन्दा कम मत नेस्नलिस्ट पिपल्सले २ हजार १८ मत मात्रै पाएको छ ।

प्रदेश १ मा ३६ दलले समानुपातिकतर्फ उम्मेदवारी दिए पनि ३० दलको जमानत जफत भएको आयोगले जनाएको छ । प्रदेश १ मा १८ लाख ९९ हजार मत सदर हुँदा १ हजार मत पनि नकटाउने ६ वटा दल छन् । प्रतिनिधिसभामा जमानत जोगाउन असफल एकीकृत समाजवादीले सातै प्रदेशसभामा जोगाउन सफल भएको छ । प्रतिनिधिसभामा जमानत जोगाएको जनमतले प्रदेश १, वाग्मती र कर्णालीमा जमानत गुमाएको छ ।

मधेस प्रदेशमा ३१ दलले समानुपातिकमा भाग लिएकामा २६ वटाले एक सिट पनि ल्याउन सकेनन् । मधेसमा २० लाख ८६ हजार मत सदर भएको थियो । वाग्मतीमा ४० दल सहभागी भएकामा ३३ दलको धरौटी जफत भएको छ । अन्य प्रदेशमा जमानत जोगाउन नसकेको नेमकिपा र हाम्रो नेपाली पार्टीले वाग्मतीमा जोगाएका छन् । समानुपातिकमा नेमकिपाले २ र हाम्रो नेपालीले १ सिट पाएका छन् । वाग्मतीमा १९ लाख ७३ हजार मत सदर हुँदा १ हजार मत पनि नल्याउनेमा ९ वटा दल छन् ।

आयोगका अनुसार गण्डकीमा ३१ दलले भाग लिएकामा २४ दलको जमानत जफत भएको छ । गण्डकीमा बहुजन शक्तिले ३९, नेपाल संघीय समाजवादीले ७७, नेपाल लोकतान्त्रिक पार्टीले १ सय ७८ र लोसपाले १ सय ९५ मत पाएका छन् । नेपाल आमा, नेपाल नौलो जनवादी, सचेत नेपाली र नेपाल सुशासन पार्टीले प्रतिनिधिसभामा १७ हजार मत पाएका छन् । सुदूरपश्चिममा ती पार्टीले ९ सय ८८ मत मात्रै पाएका छन् ।

लुम्बिनीमा ३२ मध्ये २२ दलको धरौटी जफत भएको आयोगले जनाएको छ । कर्णाली प्रदेशमा २८ दलले भाग दिएकामा समानुपातिकतर्फ २२ र सुदूरपश्चिम प्रदेशमा ३४ दलले भाग लिएकामा २८ वटाको धरौटी जफत भएको छ । सबैभन्दा कम नेपाल संघीय समाजवादीले कर्णालीमा ४० र १ सय ५० मत पाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाका ५ हजार ६ सय ३६ उम्मेदवारमध्ये ४ हजार २ सय ८५ जनाको जमानत जफत भएको छ । सदरमतको १० प्रतिशत ल्याउन नसक्नेको जमानत जफत भएको आयोगले जनाएको छ । प्रतिनिधिसभा उम्मेदवारले १० हजार र प्रदेशसभा उम्मेदवारले ५ हजार धरौटी राखेका थिए ।

जमानत नजोगाउनेमा जसपा नेता राजेन्द्रप्रसाद श्रेष्ठ, लोसपा नेता लक्ष्मणलाल कर्ण, स्वतन्त्र उम्मेदवारी दिएकी सरिता गिरी, कांग्रेस कास्कीका पूर्वसभापति महादेव गुरुङ, तमलोपा अध्यक्ष बृषेशचन्द्र लाल, एमालेबाट उम्मेदवार बनेका टीकापुर नगरपालिकाका पूर्वप्रमुख तपेन्द्रबहादुर रावल, कांग्रेस बीपीबाट उठेका ९९ वर्षीय टीकादत्त पोखरेललगायत छन् ।

प्रतिनिधिसभातर्फ २ सय ७५ र प्रदेशसभातर्फ ५ सय ५० जना गरी ८ सय २५ जना निर्वाचित भएको आयोगले जनाएको छ । प्रतिनिधिसभातर्फ पुरुष १ सय ८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएका छन् । प्रदेशसभातर्फ पुरुष ३ सय ५० जना (६३ दशमलव ६४ प्रतिशत) र महिला २ सय जना (३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८६ वटा दल दर्ता भएकामा प्रत्यक्षतर्फ ६१ वटा दलले भाग लिएका थिए ।

प्रतिनिधिसभातर्फ पुरुष १ हजार ७ सय ७२ र महिला १ सय ८९ गरी १ हजार ९ सय ६१ जनाको जमानत जफत भएको आयोगले जनाएको छ । त्यस्तै प्रदेशसभातर्फ पुरुष २ हजार ८६, महिला २ सय ३७ र अन्य १ गरी २ हजार ३ सय २४ जनाको जमानत जफत भएको छ । दुवै सभामा उम्मेदवारी दिएकामध्ये ७६ प्रतिशतको धरौटी जफत भएको हो । प्रतिनिधिसभामा २ हजार ४ सय १२ र प्रदेशसभामा ३ हजार २ सय २४ जनाले उम्मेदवारी दिएका थिए ।













0 प्रतिकृया