आयुष, सुनिल, गौतमसहित ६ खेलाडी संकटा जाँदा अञ्जन चर्च ब्वाइजमा
एक्सन खबर
काठमाडौं, १३ पुस । शहिद स्मारक ए डिभिजन लिगको मिति तय नहुँदै संकटा क्लबले ६ नयाँ खेलाडी अनुबन्ध गरेको छ । घरेलु फुटबलका प्रभावशाली विंगरद्वय आयुष घलान र सुनिल बलसँगै रक्षकहरु निसान खड्का र गौतम श्रेष्ठ, मिडफिल्डर सुरज जिउ ठकुरी र गोलरक्षक टिकेन्द्र थापालाई संकटाले अनुबन्ध गरेको हो ।
गत संस्करण सुनिलकै प्रभावशाली प्रदर्शनमा साबिकको विजेता मच्छिन्द्र क्लबले ‘ए’ डिभिजन लिगको उपाधि रक्षा गरेको थियो । लिगमा सुनिलले गत संस्करण ६ गोल गरेका थिए ।
दोस्रो पटक घरेलु लिग खेल्न लागेका युवा खेलाडी आयुषले गत सिजन थ्री स्टारबाट खेलेका थिए । आयुषका थ्री स्टार सहकर्मी निसानलाई पनि संकटाले अनुबन्ध गरेको छ । त्यस्तै, सुरज र टेकेन्द्रले गत सिजन जावलाखेलबाट खेलेका थिए । गौतम विभागिय टोली त्रिभुवन आर्मी छाडेर संकटा पुगेका हुन् ।
टेकेन्द्रबाहेक अन्य पाँच खेलाडीसँग नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेको अनुभव छ । टेकेन्द्रले तत्कालिन प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा राष्ट्रिय टोलीमा स्थान बनाए पनि मैदान उत्रने अवसर भने पाएका थिएनन् ।
मनाङ छाडेका अन्जन चर्च ब्वाइजमा
नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन बिष्ट भने ‘ए’ डिभिजन लिग क्लब चर्च ब्वाइजमा अनुबन्ध भएका छन् । मंगलबार मात्रै कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब छोडेको घोषणा गरेका अन्जनलाई चर्च ब्वाइजले बुधबार बिहान अनुबन्ध गरेको घोषणा गरेको हो ।
अन्जनले सामाजिक सञ्चालमार्फत लामो सन्देश लेख्दै मनाङको सम्झौता समाप्त भएको बताएका थिए । मनाङबाट अन्जनले २०७५ सालको बिना रेलिगेशन लिग उपाधि जितेका थिए ।
त्यसअघि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट राष्ट्रिय लिग खेलेका थिए । एन्फा एकेडेमीका अन्जनले पहिलो पटक चर्च ब्वाइजबाट लिग खेल्न लागेका हुन् । चर्च ब्वाइजले पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको हो ।
अन्जनले राष्ट्रिय टोलीबाट ११ गोल गरिसकेका छन् । गत असोजमा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा ह्याट्रिक प्रहार गरेका थिए ।
0 प्रतिकृया