सिरी ए मा युभेन्ट्स दोस्रो स्थानमा उक्लिँदा एफए कपमा लिभरपुल राेकियाे
एक्सन खबर
काठमाडौं, २४ पुस । युभेन्टसले आफ्नो उत्कृष्ट लय कायम राख्दा इटालियन सिरी ए को दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति युडिनेसलाई १–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो ।
खेलको ८६औं मिनेटमा डानिलोले विजयी गोल गरेका थिए । जितसँगै युभेन्ट्स १७ खेलबाट ३७ अंक सहित दोस्रो स्थानमा उक्लिएको हो । यसैगरी इन्टर मिलान लगातार चौथो जित निकाल्न असफल भएको छ । पछिल्लो खेलमा शीर्ष स्थानको नेपोलीलाई १–० ले निराश पारेको इन्टर शनिबार भने मोन्जासँग २–२ को बराबरीमा रोकियो ।
इन्टर १७ खेलमा ३४ अंकसहित चौथो स्थानमा छ । शीर्ष स्थानको नेपोलीको १६ खेलमा ४१ अंक छ । तेस्रो स्थानको एसी मिलानको १६ खेलमा ३६ अंक छ ।
रोकियो लिभरपुल
लिभरपुल र उल्भ्सले एफए कपको तेस्रो चरणमा शनिबार राति २–२ गोलको बराबरी खेलेका छन् । लिभरपुलको घरेलु मैदान एनफिल्डमा उल्भ्सले सुरुवाती अग्रता लिएको थियो ।
२६औं मिनेटमा गोन्जालो ग्युडेसले गोल गरे । ४५औं मिनेटमा डार्विन नुनेजको गोलमा लिभरपुल खेलमा फर्कियो । ५२औं मिनेटमा मोहम्मद सलाहले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । तर ६६औं मिनेटमा हाङ हि चानले गरेको गोलमा वुल्भ्स खेलमा फर्किएको हो ।
यस बराबरीसँगै यी दुई टोली बीच पुनः भिडन्त हुनेछ । एफ ए कपको तेस्रो चरणमा न्युक्यासल युनाइटेट पराजित भयो । सेफिल्ड वेन्स्डेसँग २–१ ले पराजित भयो । वेस्ट हम भने ब्रेन्टफोर्डलाई १–० ले निराश पार्दै चौथो चरणमा प्रवेश गर्याे ।
0 प्रतिकृया