Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


निर्मलाको जस्तो केस खाेटाङमा पनि, संरक्षण कसकाे ?

एक्सन खबर
पौष, २८, २०७९


निर्मलाको जस्तो केस खाेटाङमा पनि, संरक्षण कसकाे ?

खोटाङ, २७ पुस । राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडाले खोटाङका तीन महिलाको हत्यारा पत्ता लगाउनका लागि गृह मन्त्रालयलाई परिपत्र गर्ने प्रतिवद्धता जनाएकी छन् ।

संयुक्त राष्ट्र संघीय महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सन्धिजनित समितिबाट नेपालको छैठौं आवधिक प्रतिवेदन उपर प्राप्त निष्कर्ष सुझावको कार्यान्वयनको अवस्था सम्वन्धी राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगले बुधबार खोटाङमा आयोजना गरिएकाे कार्यक्रममा उक्त प्रतिवद्धता जनाएकी हुन् ।

शुभद्रा–मदन फाउण्डेसनमा आयोजना गरेको छलफल कार्यक्रममा कार्यबाहक अध्यक्ष पौडेलले जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ सोभेकी ३७ वर्षीय देबी बिक, खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्माको हत्यामा संलग्न दोषी पत्ता लगाउनका लागि तत्काल गृह–मन्त्रालयमा पत्राचार गर्ने प्रतिवद्धता जनाएकी हुन् ।

कार्यक्रममा सहभागीले तीन महिलाको हत्या भएको पाँच वर्ष वित्दा समेत दोषी पहिचान नभएको गुनासो गरेपछि कार्यबाहक अध्यक्ष पौडेलले निर्मला पन्तको घटनासँग मिल्दोजुल्दो भएको भन्दै दोषी पत्ता लगाउनका लागि पहल गर्ने आश्वासन दिएकी हुन् । ‘यस बारेमा महिला आयोगबाट गृह मन्त्रालयलाई परिपत्र हुन्छ ।’

गृह मन्त्रालयले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गर्छ, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले तत्काल छानविन समिति बनाएर तथ्य बाहिर ल्याउनुपर्छ,’ पौडेलले भनिन्, ‘निर्मलाको जस्तो केस यहाँ पनि रहेछ । आजसम्म दोषी कहाँ बस्यो ? कसले लुकायो ? राजनीतिक दलको संरक्षण कस्तो छ ? या छैन ? सत्यतथ्य बाहिर आउनेमा विश्वस्त छु ।’

जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित माईती पुगेर २०७४ साउन ४ गते घर फर्कनेक्रममा सम्पर्क विहीन बनेकी देबी दोश्रो दिन २०७४ साउन ५ गते जन्तेढुंगा गाउँपालिका–३ काहुलेको छिमावास्थित नेप्टे जंगलमा विभत्स हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । उनको शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको, टाउकोबाट रगग बगिरहेको अवस्थामा भेटिएकाले घट्नालाई शंकास्पद मानिएको हो ।

यस्तै, रिता २०७३ माघ २६ गते र ज्ञानीमायाँ २०७४ जेठ १६ गते विभत्स अवस्थामा मृत फेला परेकी थिइन् । छ महिनाको अवधिमा भएका तीन महिलाको विभत्स र पासविक हत्याको घट्ना प्रकृति पनि उस्तै–उस्तै देखिन्छ । तर, तीन जना महिला हत्यामा संलग्न दोषीको विषयमा प्रहरीले हालसम्म मेसो पत्ता लगाउन सकेको छैन । जघन्य घट्नामा संलग्न अपराधीको पहिचान नहुँदा पीडित परिवार त्रसित छन् ।













0 प्रतिकृया