Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


रक्सी खुवाई झुक्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीयसहित रुकुमेली पक्राउ

एक्सन खबर
पौष, २९, २०७९


रक्सी खुवाई झुक्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीयसहित रुकुमेली पक्राउ

हेमन्त केसी
सुर्खेत, २९ पुस । नेपाली नागरिकता बनाउन खोज्ने एक जना भारतीय नागरिकसहित एक जना रुकुमेली पक्राउ परेका छन् । भारतको हिमाञ्चल प्रदेशको सिम्ला घर भएका अन्दाजी ३० वर्षीय गणेश नेपाली भनेर चिनिने व्यक्ति र रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० का २६ वर्षीय मोतिराम मल्ल पक्राउ परेका हुन् ।

उनीले स्थानीय रत्ने दमाइलाई रक्सी खुवाई झुक्याएर नागरिकता बनाउन खोजेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए । दमाइलाई रक्सी खुवाएर पूर्णबहादुर नेपालीको छोरा हो भन्न लगाई बाँफिकोट गाउँपालिका वडा नम्बर १० को कार्यालयमा जन्मदर्ता गरी नागरिकताको प्रमाणपत्रका लागि सिफारिस बनाउन लगाएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको श्रेष्ठले बताए ।

पौष २५ गते वडामा जन्मदर्ता गरी नागरिकता सिफारिसका लागि उनीहरू पुस २६ गते जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार शंकास्पद लागेपछि सोधपुछ गर्दा गणेश नेपाली भनिने व्यक्ति भारतीय नागरिक रहेको र उनलाई नेपाली नागरिकताका लागि मोतिराम मल्लले सहयोग गरेको खुलेको थियो । त्यस्तै बाबु भनेर उल्लेख गरिएका पूर्णबहादुर नेपालीको मृत्यु भइसकेको पाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

उनीहरूविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नागरिकताका सम्बन्धमा कडाई गरिरहेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए । विभिन्न समस्याहरू देखिन थालेपछि जनप्रतिनिधिसँगसमेत छलफल बढाइएको र राम्ररी बुझेर सिफारिस गर्न आग्रह गरिरहेको उनको भनाइ छ ।

जन्मदर्तामा किर्ते हस्ताक्षर गर्ने दुई जना धरौटीमा रिहा


यसैबीच जन्मदर्तामा किर्ते हस्ताक्षर गर्ने दुई जना धरौटीमा रिहा भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ५ रगालगाउँका १९ वर्षीय चन्द्रबहादुर मल्ल २ लाख र सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी गोबिन्द विक १ लाख ५० हजार धरौटीमा रिहा भएका हुन् । यही घटनामा संलग्न आठबीसकोट ४ का मरिचमान बिष्ट भने फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मल्लले आफ्नो जन्मदर्तामा स्थानीय पञ्जिकाधिकारीको हस्ताक्षर नभएपछि बिष्टलाई किर्ते हस्ताक्षर गर्न लगाएका थिए । तत्कालिन पञ्जिकाधिकारीको हस्ताक्षरको फोटो खिचेर कार्यालय सहयोगी विकले मल्ललाई पठाइदिएका थिए ।

शंकास्पद लागेपछि सोधपुछ गर्दा किर्ते हस्ताक्षर गरेको पाइएपछि उनीहरूलाई प्रहरीले गत मंसिर २८ गते पक्राउ गरेको थियो । प्रहरी अनुसन्धान पछि पौष २३ गते मुद्दा जिल्ला अदालतमा बुझाइएको थियो । अदालतले पौष २५ गते उनीहरूलाई धरौटीमा रिहा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।













0 प्रतिकृया