सांसद डा. सुनिल शर्माको निःशुल्क एम्बुलेन्स क्याम्पबाट १८५ बिरामी लाभान्वित
एक्सन खबर
विराटनगर, २९ पुस । प्रतिनिधि सभाका सांसद डा. सुनिल शर्माले सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स क्याम्पबाट १८५ जना बिरामी लाभान्वित भएका छन् । नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं. ३ का सांसद डा. शर्माले आफ्नो क्षेत्रका जनतालाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले निःशुल्क एम्बुलेन्स क्याम्प चलाएकोमा आज मोरङ, बयरवन गाउँपालिका वडा नं. ५ भौसाबारीमा शिविर सञ्चालन गरिएको थियो ।
उक्त शिविरमा ३१ जनाको इसिजी, ७९ जनाको भिडियो एक्सरे तथा ४४ जनाको ल्याब परीक्षण गरिएको नोबेल शिक्षण अस्पतालका अस्पताल प्रवन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा ५ जनाको दाँत पनि खोलिएको छ । क्याम्पमा जनरल मेडिसिन, स्त्री रोग, दन्त रोग, नाक कान घाँटी, आँखा रोग लगायतका चिकित्सकहरुले बिरामी जाँच्ने गर्दछन् ।
डा. शर्माले आफ्नो क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिन प्रत्येक शुक्रबार एम्बुलेन्स क्याम्प थालनी गरेका हुन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए लगत्तै जनताका माझ गरेका बाचाहरु पुरा गर्न तल्लिन डा. शर्माको स्वास्थ्य अभियानले सो क्षेत्रमा महिला, बालबालबालिका, जेष्ठ्य नागरिक तथा विपन्न समुदायका नागरिक बढी लाभान्वित भइरहेका छन् । डा. शर्माले आफ्ना क्षेत्रका जनताकै लागि भनेर नोबेल शिक्षण अस्पतालमा ५० वेडको निःशुल्क क्याविन समेत चलाईरहेका छन् ।
नोबेल अस्पतालकी प्रबन्ध निर्देशक इन्दीरा शर्माले जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल क्रियाशिल रहेको बताउँदै सांसद डा. शर्माको समाजसेवा र जनतालाई निरोगी राख्नु पर्दछ भन्ने भावना अनुरुप अस्पतालले सहकार्य गरिरहने बताइन् ।
0 प्रतिकृया