बर्जु महोत्सवमा चर्चित भोजपुरी कलाकार खेसारीलाल आउँदै
एक्सन खबर
दुहवी, २९ पुस । सुनसरीको बर्जु गाउँपालिकामा जारी चौथो बर्जु महोत्सवमा भोजपुरी गायक तथा कलाकार खेसारीलाल यादव आउने भएका छन् । बर्जु सामुदायिक विकास केन्द्रले आयोजना गरेको महाेत्सवमा सहभागी हुन माघ ३ गते भोजपुरी सुपरस्टार खेसारीलाल आउने भएका हुन् ।
आयोजक सामुदायिक विकास केन्द्रका अनुसार माघ ३ गते कलाकार खेसारीलाल आफ्नो टीम सहित बर्जु महोत्सवमा सहभागी हुन लागेका हुन् । महोत्सवमा खेसारीलालले आफ्ना चर्चित गीतहरुमा प्रस्तुती दिने बताइएको छ ।
भोजपुरी फिल्म साजन चले ससुरालबाट भोजपुरी फिल्ममा चर्चामा आएका खेसारीलालले ४ दर्जनबढी फिल्ममा अभिनय गरेका छन् । उनका दर्जनौं भोजपुरी गीतहरु नेपाल भारतमा चर्चित छन् । अभिनय, मोडलिङ र गायनमा पोख्त खेसारीलाल भोजपुरी कलाकारितामा स्थापित नाम हो ।
पुस २२ गतेदेखि जारी महोत्सवमा स्थानीयदेखि राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिइरहेका छन् । बर्जुलाई पर्यटकीय क्षेत्रका रुपमा परिभाषित गर्नका लागि महोत्सव गरिएको आयोजकको भनाई छ ।
यसअघि गतवर्ष आयोजित महोत्सवमा पनि खेसारीलाल आउने तय भएकोमा कोरोना भाइरस संक्रमणका कारण नआउँदा ४ वटा स्कारपियो गाडी सहित स्टेज तोडफोड र आगजनी भएको थियो । यो पटक त्यस्तो परिस्थिति सिर्जना हुन नदिन आयोजकले सुरक्षा व्यवस्था कडा बनाएको छ भने स्थानीय युवाहरु पनि अप्रिय घटना हुन नदिन सजग रहेका छन् ।
0 प्रतिकृया