नेपाल मेडिकल कलेजमा चालू वर्षभित्रै क्याथल्याव सञ्चालन गरिने घोषणा
एक्सन खबर
काठमाडौं, २६ पुस । जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा चालू आर्थिक वर्षभित्रै अत्याधुनिक क्याथल्याव सञ्चालनमा ल्याइने भएको छ । कलेजको २३ औं वार्षिक साधारण सभालाई संवोधन गर्दै प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले चालू आर्थिक वर्षभित्रै अत्याधुनिक क्याथल्याव सुरु हुने जानकारी गराए ।
‘नेपाल मेडिकल कलेजको शैक्षिक स्तर र स्वास्थ्य सेवालाई नयाँ उचाईमा पुर्याउन चिकित्सा विज्ञानका नविनतम प्रविधिहरु विस्तार गर्न हामी दत्तचित्त छौं, यसै आर्थिक वर्षभित्र अत्याधुनिक नयाँ क्याथल्याव सञ्चालन गर्दैछौं ।’ संस्थाका संस्थापक शेयरधनीहरुलाई संवोधन गर्दै अन्सारीले एक वर्ष यता मेडिकल कलेजका सबै क्षेत्रहरु सुधार भइरहेको जानकारी दिए ।
कलेजले नेपालको चिकित्सा शिक्षा, अनुसन्धान र सेवामा महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै अन्सारीले नयाँ व्यवस्थापन आएसँगै कलेजको आर्थिक, प्रशासनिक, शैक्षिक र चिकित्सकीय सेवाहरुमा दिनप्रतिदिन सुधार भइरहेको जनाए । ‘हामीले दिर्घकालिन र अल्पकालिन दुवै योजनाहरु बनाएर काम गरिरहेका छौं, विगतमा केही कर्मचारीहरु हामी त युनियनको मान्छे हौं काम गर्दैनौं हाजिर गरेर तवल खान्छौं भन्थे त्यसलाई पूर्णरुपमा बन्द गरियो, अनुशासनहिन विद्यार्थीहरु पनि अनुशासनमा आइसके, चिकित्सक, कर्मचारीहरुको मासिक रिपोर्ट हुने भएकाले काम नगर्नेहरु आफैं साइट लागेका छन् ।’ कलेजका संस्थापक शेयरधनीहरुको आवश्यक राय सल्लाह सुझाव अनुसार आगामी योजनाहरु बनाएर अगाडी बढ्ने जनाउँदै अन्सारीले व्यवस्थापन सुदृढ र प्रभावकारी हुँदा संस्था सवल बन्ने बताए ।
साथै, अन्सारीले आउँदा दिनहरुमा कलेजमा स्वास्थ्य क्षेत्रमा नयाँ सेवाहरु विस्तार हुँदै गएकाले त्यसबाट सबै खाले बिरामीहरुले सेवा पाउने बताए । कलेजले आइएसओ सर्टिफाइड अत्याधुनिक ल्याब, डेण्टल भवन सहित अन्य आवश्यक पूर्वाधारहरु बन्नेक्रममा रहेको जानकारी गराउँदै नेपाल मेडिकल कलेजलाई नयाँ उचाईमा पुर्याउन आफु प्रतिबद्ध रहेको जिकीर गरे ।
साधारण सभामा बोल्दै कलेजका सञ्चालक समिति सदस्य डा. आनन्द प्रसाद श्रेष्ठले धरासायी भएको संस्थालाई एकवर्षमै बसरुद्धिन अन्सारीको कुशल नेतृत्वको टीमले आशा लाग्दो बनाएको भन्दै प्रशंसा गरे । मेडिकल शिक्षा र स्वास्थ्य सेवामा कलेजले महत्वपूर्ण योगदान दिएपनि विगतमा व्यवस्थापन कमजोर बन्दा संस्था धरासायी भएको पुष्टि भएको चर्चा गरे । ‘सुधार्न चाहे सक्नेरहेछौं भन्ने कुरा पुष्टि हुँदै गइरहेको छ । कोहिनुर इन्भेष्टमेन्टलाई एसआइपीमा ल्याउने निर्णय सहि रहेछ भन्ने देखियो ।’ श्रेष्ठले भने ।
उनले नेपाल मेडिकल कलेज स्थापनामा स्वर्गीय डा. सच्चेकुमार पहारी, डा. दीपक भट्टराई, डा. अञ्जनी कुमार शर्मा लगायतको योगदानको चर्चा गरे । ‘म यो अवसरमा यो ठाउँमा मेडिकल कलेज हुनुपर्छ भनेर लाग्नुहुने स्वर्गीय डा. सच्चेकुमार पहारी, प्रा.डा. दीपक भट्टराई, डा. अञ्जनी कुमार शर्मालाई सम्झन चाहन्छु । साथै, यहाँ गार्मेन्ट फ्याक्ट्री हैन मेडिकल कलेज आउनुपर्छ भनेर जग्गा उपलब्ध गराउनु हुने कमला देवीलाई विशेष धन्यवाद दिन चाहन्छु ।’ श्रेष्ठले कलेज नाफ कमाउन मात्र नभई सेवा दिनपनि स्थापना गरिएकाले सोही अनुसार काम गर्न व्यवस्थापनलाई सुझाए ।
साधारण सभामा बोल्दै सञ्चालक समिति सदस्य डा. साविया यासमिनले नेपाल मेडिकल कलेजलाई विश्वविद्यालयकै रुपमा लैजान सपना देखिएको बताउँदै अहिले स साना कमजोरीहरु सुधार्दै लगिएको जानकारी दिइन् । पारदर्शीता अपनाउन सबै सेवाहरुलाई अनलाइनमा अपग्रेड गर्न केही समयमै शुक्र सफ्टवेयर प्रयोगमा ल्याईने जानकारी दिइन् । ‘म्यानेजमेन्ट सुधार्न सबै किसिमका कामहरु भइरहेका छन्, यहाँहरुले अब जहाँसुकैबाट कति बिरामी आए, बिरामीको अवस्था कस्तो छ, कति बिरामी दोहोरिइरहेका छन् ? आम्दानी कसरी भइरहेको छ ? सबै कुरा सफ्टवेयर मार्फत हेर्न सक्नुहुन्छ ।’ अहिले तत्कालका लागि क्याथल्याब सेवा सुचारु गर्न व्उवस्थापन सक्रिय रहेको बताउँदै उनले शेयरधनीहरुलाई पनि समयसमयमा आएर सल्लाह सुझाव दिन अनुरोध गरिन् ।
यस्तै, कलेजको लगानीकर्ता पार्टनर कोहीनुर इन्भेष्टमेन्ट प्रा.लि.का अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले कलेजलाई सवल बनाउन शिक्षा र स्वास्थ्य सेवा दुवैलाई उत्तिकै महत्व दिएर अगाडी बढ्नु पर्नेमा आफुहरु लागि परेको बताए । कलेजलाई पूर्णरुपमा सञ्चालन गर्न, नयाँ टेक्नोलोजीहरु भित्र्याउन र शेयरधनीहरुलाई अपेक्षाकृत लाभांश वितरण गर्न सक्ने बनाउन सबैको सहकार्य रहेको पनि जिकीर गरे । विगतमा व्यवस्थापन विग्रिएर सेवाहरु कमजोर भएपनि अहिले सुधारहुँदै गएको चर्चा गरे ।
साधारण सभामा सहभागी शेयरधनीहरुले नेपाल मेडिकल कलेजलाई नमुना मेडिकल कलेज बनेको हेर्न चाहेको बताउँदै नयाँ नयाँ प्रविधिहरु भित्र्याएर सेवा विस्तार गर्न सुझाए । २६ वर्षदेखि विदेशमा रहेर स्वास्थ्य क्षेत्रमा काम गरेका डा. हरिकृष्ण बाँस्कोटाले कलेजमा पेड्रियाट्रिक, जेरियाट्रिक, नेफ्रोलोजी जस्ता विषयहरुको स्पेशियालिटी सेवाहरु थालनी गर्न सुझाए । साथै, कााठमाडौं भ्यालीभित्रै पनि ठाउँठाउँहरुमा सेवा विस्तार गर्ने, बिरामीले बैंकमा डिपोजिट गरेर पैसा घट्दै जाने प्रविधि अपनाउन सुझाउँदै आफु अब नेपालमै बस्ने भएकाले कलेजको श्रीबृद्धिका लागि योगदान गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा अन्य शेयरधनीहरुले पनि कलेजलाई विकास गर्न, शिक्षा र स्वास्थ्य क्षेत्रमा नविनतम सेवाहरु थालनी गर्दा आफुहरु सदैव सहकार्य गर्न तत्पर रहेको जनाउँदै नयाँ व्यवस्थापन आएसँगै कलेजमा बिरामी र विद्यार्थी दुवैको संख्या बढ्दो रहेकोमा प्रशंसा गरे ।
कलेजका अध्यक्ष डा. भोला रिजालले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै नेपाल मेडिकल कलेजको साख उकास्न नयाँ ब्यवस्थापनले काम गरिरहेको जानकारी गराउँदै आगामी केही वर्षभित्रै नयाँ उचाई प्राप्त गर्नेमा विस्वस्त रहेको बताए । साधारण सभामा कलेजका प्रमोटर शेयरधनी, सञ्चालक समिति सदस्य लगायतको सहभागिता रहेको थियो ।
0 प्रतिकृया