भाेली सार्वजनिक विदा, उच्चस्तरीय छानविन आयोग गठन
एक्सन खबर
काठमाडाैं, १ माघ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।
मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको जनाएकाे छ ।
आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहेका छन् । भने, सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहेकाे सरकारका प्रवक्ता उपप्रधानमन्त्री तथा अर्थमन्त्ती विष्णु पौडेलले जानकारी दिए ।
सरकारले विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । त्यस्तै घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने सरकारले निर्णय गरेको छ ।
विमान दुर्घटनामा परेकाहरुको पार्थिक शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण गरिने सरकारले जनाएकाे छ । साथै
सबै हवाइजहाजहरूको प्राविधिक परीक्षण अनिवार्य गर्नसमेत बैठकले निर्देशन
दिएको छ । त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई
तोकेकोसमेत बैठकले जनाएको छ।
0 प्रतिकृया