Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


६८ जनाको मृत्यु पुष्टि, ४ जना अझै वेपत्ता, ११ काे पहिचान

एक्सन खबर
माघ, १, २०७९


६८ जनाको मृत्यु पुष्टि, ४ जना अझै वेपत्ता, ११ काे पहिचान

काठमाडौं, १ माघ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको जानकारी दिएको छ ।

विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ । विमानमा ५३ नेपाली, ५ भारतीय, ४ रसियन, आयरलेण्ड, अष्ट्रेलिया, अर्जेन्टिना, फ्रान्सका एक एक जना र २ जना काेरियन नागरिक रहेका थिए ।

विमान दुर्घटनामा मृत्यु भएका अधिकांशको शव पहिचान गर्न नसकिने अवस्थामा रहेकोले फरेन्सिक जाँच गर्ने तयारी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोखरा विमान घटनामा शव परीक्षणलगायत स्वास्थ्य उपचारको व्यवस्था गर्न काठमाडौँ उपत्यकाका ‘हव’ अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रद्वारा काठमाडौँ उपत्यकाका हव अस्पतालमा आगोले पोलेको, फोरेन्सिक जाँच र शव पहिचानका लागि सम्भावित आउने सक्ने ‘केस’ व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

जहाज दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अजय केसीले खोजी कार्यलाई राति पनि जारी राख्नका लागि घटनास्थल सेती खोँचमा लाइट जडान गरिसकिएको बताए । दुर्घटनामा ६८ जनाकाे शव फेला परेकाे छ । ४ जना अझै वेपत्ता छन् ।

विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको छ ।
















0 प्रतिकृया