आज मन्त्रिपरिषद् विस्तार, यी हुन् एमालेबाट मन्त्री बन्नेहरू
एक्सन खबर
काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको हिजो बसेको बैठकले मन्त्रालय भागवण्डा टुग्याएसँगै आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । सोमबार नै सत्तारुढ दलहरुले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डा टुंगो लगाएका हुन् ।
सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले गठबन्धनको ठूलो दल नेकपा एमालेलाई राष्ट्रपति र सभामुख सहित ८ मन्त्रालय दिएको छ । माओवादीले ४, रास्वपा र राप्रपाले ३, ३ र जनमत पार्टीले एक मन्त्रालय पाउनेछ । जसपालाई २ मन्त्रालय छुट्याइएको छ । यद्यपि, जसपाले उपराष्ट्रपति नपाउने भएपछि सरकारमा जाने नजाने टुंगो लागेको छैन ।
उपराष्ट्रपति माओवादीले पाउँदा प्रधानमन्त्री र सभामुखमा एमालेसँग आलोपालो गर्ने पूर्व सहमति छ । सभामुखमा झापा २ बाट निर्वाचित देवराज घिमिरेको सम्भावना बढी छ । सभामुखका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र सांसद विद्या भट्टराई पनि दावेदार भएपनि अध्यक्ष ओलीले घिमिरेलाई बनाउने निश्चित छ । यद्यपि, अहिले १० बजे बालकोटमा एमालेको बैठक छ । उक्त बैठकले कसलाई कुन मन्त्रालय दिने तय गर्नेछ ।
उपसभामुख भने संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको छ । रास्वपामा उपसभामुखको दावेदार सोभिता गौतम हुन् । उपसभामुखको निर्वाचन ७ माघका लागि तय भएको छ ।
मन्त्रालयहरुमा एमालेको भागमा अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय परेका छन् । माओवादीले भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन पाएको छ ।
यस्तै, रास्वपाले गृह, शिक्षा र श्रम मन्त्रालय, राप्रपाले उप्रधान सहित उर्जा, खानेपानी र युवा तथा खेलकुद, जनमत पार्टीले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ । जसपालाई शहरी विकाससहित दुई मन्त्रालय छुट्याइएको भएपनि उपराष्ट्रपति नपाएका कारण जसपा सरकारमा आउने सम्भावना कम छ ।
यस्तै संघीय मामिला दिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सरकारमा ल्याउने प्रयास भइरहेको छ । त्यसो भएमा माओवादी केन्द्रले कानुन वा वनमध्ये एक लिने छ भने अर्को एमालेको भागमा पर्नेछ । तीन राज्यमन्त्रीमा माओवादी, रास्वपा र राप्रपाले एकएक जना पठाउने सहमति छ ।
सत्ता गठबन्धन नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीसहितका नेता कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता लगाएका माग पुरा नभएसम्म सरकारमा नजाने बताएका छन् ।
एमालेबाट मन्त्री बन्नेहरु
नेकपा एमालेले सरकारमा जानेहरुको नाम फइनल गरेको श्रोतले जनाएको छ । एमालेबाट लगातार २ पटक चुनाब जितेका अहिलेसम्म मन्त्री बन्न नपाएकाहरुलाई सरकारमा पठाउने भएको हो ।
एमालेले यसअघि उपप्रधान सहित विष्णु पौडेललाई अर्थ मन्त्री बनाइसकेको छ । भने, ज्वाला कुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारी मन्त्री नियुक्त भइसकेका छन् । विनाविभागीय मन्त्री भएकाहरुलाई पनि जिम्मेवारी दिने सरकारको तयारी छ ।
अब एमालेबाट सुनसरी ३ बाट बिजयकुमार गच्छदारलाई पराजित गरेकी भगबती चौधरी, पर्वतका पदम गिरी, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारीलाई मन्त्री बनाउने पक्का गरेको छ । दुई राज्यमन्त्रीमा रौतहटका किरण साह र पर्साका राजकुमार गुप्ता वा अरु कसैलाई पठाउने भन्ने तय भने १० बजे बस्ने पार्टीको बैठकले तय गर्ने एक नेताले बताए ।
0 प्रतिकृया